अस्ति राति अचानक देब्रे आँखामा केही परेको जस्तो महसुस भयो। हल्का दुखाइ पनि थियो। म एउटा बैठकमा थिएँ। परेलाभित्र केही पसेजस्तो लाग्यो। करिब १० मिनेटसम्म लगातार आँखा धोइरहेँ। तर पनि असहजता कम भएन। निरन्तर आँखा झिम्क्याइरहनुपर्ने अवस्था आयो।
भोलिपल्ट बिहान उठ्दा आँखा अलि रातो देखियो। दिउँसो कक्षामा पढाइरहेको थिएँ। अचानक देब्रे आँखा बन्द गर्नसमेत गाह्रो भएको महसुस भयो। आँखाको रातोपन र पोल्ने समस्या पनि बढ्दै गयो।
तत्कालै वरिष्ठ नेत्ररोग विशेषज्ञ भाइ डा. पवन महतलाई फोन गरेँ। भाइले आँखाको जाँच गर्नुभयो। आँखा सुक्खा भएको र रातोपन देखिएको बताउनुभयो। आवश्यक औषधि लिएर घर फर्किएँ।
बेलुका एकातिर क्रिकेट खेल चलिरहेको थियो, अर्कोतिर म खाना खाँदै थिएँ। अचानक मुखको देब्रेपट्टिको खाना जिब्रोले चलाउन नसक्ने भएँ। खाना मुखको एकातिर जम्मा हुन थाल्यो। औँलाले मिलाएर मात्रै निल्नुपर्ने अवस्था आयो।
पाँच सेकेन्ड पनि बितेको थिएन, मनमा एउटा शङ्का उब्जियो– ओहो ! कतै बेल्स पाल्सी (Bell’s Palsy) त होइन ?
सबैभन्दा पहिले दाइ डा. राजु पौडेलको याद आयो। तुरुन्तै फोन गरिहालेँ। दाइ अस्पतालमै हुनुहुँदो रहेछ। उहाँले तुरुन्तै अस्पताल बोलाउनुभयो । म बुवासँगै तत्काल उहाँलाई भेट्न हिँडेँ।
अस्पतालको आकस्मिक कक्षमा डा. श्रीराम श्रेष्ठले प्रारम्भिक जाँच गर्नुभयो। तत्कालै राजु दाइ पनि आइपुग्नुभयो। आवश्यक परीक्षणसँगै एमआरआई (एमआरआई) समेत गरियो। जीवनमा पहिलोपटक आफ्नै स्वास्थ्यका लागि एमआरआई गराउँदै थिएँ। धन्न, रिपोर्ट सामान्य आयो ! शङ्का गरेजस्तै बेल्स पाल्सी रहेछ। त्यसपछि तत्कालै औषधि उपचार सुरु गरियो।
फेरि क्रिकेटको कुरा !
एमआरआई सकेर मोबाइल हेर्दा सन्देशहरू ‘बधाई छ’ भन्ने शब्दले भरिएका रहेछन्। एक्कासि के राम्रो भएछ भनेर एक जना साथीलाई बधाईको कारण सोधेँ। साथीले भन्नुभयो, 'कर्णाली याक्सले जित्यो नि !' हाहा !!
म त आफ्नै स्वास्थ्य समस्यामा यति केन्द्रित भएछु कि क्रिकेट खेल भइरहेको कुरा नै बिर्सिसकेको रहेछु। साथीलाई धन्यवाद भनेँ।
आफैँ चिकित्सक भएर पनि अचानक आफ्नै स्वास्थ्यमा यस्तो समस्या आइपर्दा मानिस कति असहज, संवेदनशील र अन्योलमा पर्न सक्छ भन्ने कुरा प्रत्यक्ष अनुभव गरेँ। अरूलाई स्वास्थ्यसम्बन्धी सल्लाह दिँदै गर्दा आफ्नै स्वास्थ्यमा समस्या आउँदा भोग्नुपर्ने मानसिक अवस्था कस्तो हुँदो रहेछ भन्ने पनि महसुस गरेँ।
यो अनुभवले सामान्यजस्तो लाग्ने लक्षणलाई पनि समयमै पहिचान गर्नु, आवश्यक परीक्षण गराउनु र सही उपचार सुरु गर्नु कति महत्त्वपूर्ण रहेछ भन्ने कुरा फेरि सम्झाएको छ।
आशा छ, म पनि बेल्स पाल्सीलाई पराजित गरेर चाँडै पूर्ण रूपमा स्वस्थ हुनेछु। अनि कर्णाली याक्सले पनि छिट्टै एनपीएलको उपाधि जित्नेछ !
मप्रति यहाँहरुको शुभेच्छा, शुभकामना र प्रार्थना त छँदैछ ।