गोलीगाँठो शरीरको सन्तुलन कायम राख्न, उभिन, हिँड्न र दौडिन महत्त्वपूर्ण भूमिका खेल्ने अंग हो। यसले शरीरको तौल धान्नुका साथै हिँडडुल गर्दा उत्पन्न हुने धक्का सहन मद्दत गर्छ। तर चोट नलागेसम्म धेरैले गोलीगाँठोको स्वास्थ्यबारे खासै ध्यान दिने गर्दैनन्।
गोलीगाँठो मर्किने वा चोट लाग्ने समस्या सामान्य भए पनि यसलाई धेरैले सामान्य दुखाइका रूपमा लिने गर्छन्। बेलायतको नेसनल इन्स्टिच्युट फर हेल्थ एन्ड केयर एक्सिलेन्स (नाइस)का अनुसार त्यहाँ आकस्मिक उपचार कक्षमा पुग्ने बिरामीमध्ये पाँच प्रतिशत गोलीगाँठोको चोटका कारण आउने गर्छन्।
प्रदर्शन तथा खेलकुदसम्बन्धी फिजियोथेरापिस्ट जेनेभिभ तवायाका अनुसार गोलीगाँठो र पैतालाका मांसपेशी बलियो बनाउने, तिनको चालप्रति सचेत रहने र शरीरको सन्तुलन कायम गर्ने अभ्यासले चोटपटकको जोखिम कम गर्न सकिन्छ।
गोलीगाँठो बलियो बनाउन र चोटबाट जोगिन तीन कुरामा विशेष ध्यान दिनुपर्छ।
मस्तिष्क र शरीरबीचको समन्वय बढाउने
गोलीगाँठो बलियो बनाउन सबैभन्दा पहिले मस्तिष्क र शरीरबीचको समन्वय राम्रो हुनुपर्छ। अर्थात्, नहेरीकन पनि आफ्नो पैतालाले कस्तो चाल गरिरहेको छ र गोलीगाँठो कसरी चलिरहेको छ भन्ने महसुस गर्न सक्ने क्षमता विकास गर्नुपर्छ।
मस्तिष्कबाट पैताला र गोलीगाँठोसम्म सही सूचना पुग्दा शरीरको सन्तुलन कायम राख्न र अन्य शारीरिक अभ्यासका लागि बलियो आधार तयार गर्न मद्दत पुग्छ।
यसका लागि पैतालाका औँलाको सानो चालबाट अभ्यास सुरु गर्न सकिन्छ। बुढीऔँलाले भुइँमा दबाब दिने र केही समय त्यही अवस्थामा रहने अभ्यासले पैतालाको भित्री भागको मांसपेशी सक्रिय बनाउन मद्दत गर्छ।
त्यस्तै, बुढीऔँलाको छेउमा कलम राखेर त्यसतर्फ औँला सार्ने अभ्यास गर्न सकिन्छ। यसले औँलाको चाल र नियन्त्रण क्षमता सुधार्न सहयोग गर्छ।
शक्ति, नियन्त्रण र सन्तुलन बढाउने
गोलीगाँठोको मुख्य काम शरीरको सन्तुलन कायम राख्नु, शरीरको तौल धान्नु र हिँडडुल गर्दा उत्पन्न हुने बललाई एक ठाउँबाट अर्को ठाउँमा पुर्याउनु हो। त्यसैले गोलीगाँठो बलियो बनाउन शक्ति बढाउनेसँगै त्यसलाई नियन्त्रण गर्ने र सन्तुलन कायम राख्ने अभ्यास आवश्यक हुन्छ।
यसका लागि कुनै बलियो वस्तुको सहारा लिएर कुर्कुच्चा भुइँबाट माथि उठाउने अभ्यास गर्न सकिन्छ। यस क्रममा शरीरको तौल पैतालाको अगाडिको भागमा राख्नुपर्छ। गोलीगाँठो दायाँबायाँ नढल्किने गरी सीधा राख्नु महत्त्वपूर्ण हुन्छ।
त्यस्तै, एउटा खुट्टाको अगाडि अर्को खुट्टा राख्दै सिधा रेखामा हिँड्ने अभ्यासले पैताला र गोलीगाँठोको नियन्त्रण तथा शरीरको सन्तुलन सुधार्न मद्दत गर्छ।
कुर्सीमा बसेर एक वा दुवै खुट्टाको सहायताले उठ्ने र फेरि बस्ने तथा सिँढी उक्लने र ओर्लने अभ्यास पनि उपयोगी हुन्छन्।
गोलीगाँठो मर्किएर निको हुने क्रममा रहेका व्यक्तिले एउटा खुट्टामा उभिएर बल फ्याँक्ने र समात्ने अभ्यास गर्न सक्छन्। त्यस्तै, दायाँ वा बायाँतिर पाइला सारेर अवतरण गर्ने खुट्टामा सन्तुलन कायम राख्ने अभ्यासले गोलीगाँठोको नियन्त्रण क्षमता सुधार्न सहयोग गर्छ।
कण्डरामा दीर्घकालीन दुखाइ वा समस्या भएका व्यक्तिका लागि भने बिस्तारै तर पर्याप्त भार दिएर गरिने अभ्यास उपयोगी हुन्छ। उदाहरणका लागि, भारसहित कुर्कुच्चा उठाउने अभ्यास गर्न सकिन्छ।
उपयुक्त जुत्ता छनोट गर्ने
गोलीगाँठोको स्वास्थ्यका लागि उपयुक्त जुत्ता छनोट गर्नु पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ।
धेरै मानिसले पैतालाका औँलालाई साँघुरो बनाउने, अगाडिको भाग चुच्चो भएको वा अत्यन्तै पातलो सोल भएका जुत्ता लगाउने गर्छन्। यस्ता जुत्ताले औँलाको प्राकृतिक चालमा अवरोध पुर्याउन सक्छन्।
जुत्ता छनोट गर्दा पैतालाका औँलालाई पर्याप्त ठाउँ छ कि छैन भन्ने कुरामा ध्यान दिनुपर्छ। विशेषगरी बुढीऔँला जुत्ताभित्र खुम्चिएर वा अर्कोतिर धकेलिएर बस्नुपर्ने अवस्था हुनु हुँदैन।
नाङ्गो खुट्टाजस्तै महसुस हुने पातलो सोलका जुत्ता पनि अहिले लोकप्रिय भइरहेका छन्। यस्ता जुत्ता प्रयोग गर्नुअघि पैताला र गोलीगाँठोका मांसपेशी पर्याप्त बलियो हुनुपर्छ। सुरुमा थोरै समय प्रयोग गर्दै बिस्तारै बानी पार्नु उपयुक्त हुन्छ।
जुत्तामा पैतालाको प्राकृतिक बनावटलाई सहारा दिने आर्च सपोर्ट हुनु पनि महत्त्वपूर्ण छ। यसले हिँड्दा वा शारीरिक गतिविधि गर्दा पैतालामा शरीरको तौल कसरी वितरण हुन्छ भन्ने कुरालाई प्रभाव पार्छ।
कुन गतिविधि गर्ने हो, त्यसअनुसार जुत्ता छनोट गर्नुपर्छ। उठबस (स्क्वाट) गर्ने अभ्यासमा समतल सोल भएको जुत्ता उपयुक्त हुन्छ। दौडिने क्रममा खुट्टामा पर्ने धक्का कम गर्न पर्याप्त कुशन भएको जुत्ता लगाउनु राम्रो हुन्छ।
त्यस्तै, लामो दूरी र उबडखाबड बाटोमा हिँड्दा हाइकिङ बुट उपयोगी हुन सक्छ। यसले गोलीगाँठो मर्किने जोखिम कम गर्न मद्दत गर्छ। तर दैनिक रूपमा लामो समय हाइकिङ बुट लगाउँदा गोलीगाँठोको चाल सीमित हुन सक्छ र कठोरता बढ्न सक्छ।
गोलीगाँठोको चोटलाई सामान्य समस्या ठानेर बेवास्ता गर्नु हुँदैन। नियमित अभ्यास, उचित जुत्ताको छनोट र शरीरको चालप्रति सचेतनाले चोटपटकको जोखिम कम गर्न सकिन्छ। गोलीगाँठोमा बारम्बार चोट लाग्ने, सुन्निने वा दुखाइ लामो समयसम्म रहने समस्या भए स्वास्थ्यकर्मीसँग परामर्श लिनुपर्छ।