काठमाडौं । नेपालमा नेत्ररोग उपचार, अनुसन्धान र शैक्षिक सहकार्यलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्ने उद्देश्यसहित काठमाडौंमा आयोजित तीनवटा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय सम्मेलन सम्पन्न भएका छन्।
नेपाल नेत्ररोग समाजको २८औँ वार्षिक सम्मेलन (NOSCON 2026), एसिया प्यासिफिक नेत्र चोट समाजको नवौँ सम्मेलन (APOTS 2026) र नेपाली अकुलोप्लास्टिक सर्जन समाजको छैटौँ सम्मेलन (NESOSCON 2026) होटल सोल्टीमा तीन दिनसम्म सञ्चालन भएर सम्पन्न भएका हुन्।
सम्मेलनमा नेपालसहित विभिन्न देशका करिब ३०० नेत्ररोग विशेषज्ञ तथा स्वास्थ्य क्षेत्रका विज्ञ सहभागी थिए। सहभागीमध्ये करिब ६० जना अन्तर्राष्ट्रिय र ९० जना राष्ट्रिय वक्ता थिए। सम्मेलनमा छवटा हलमा गरी करिब २२ घण्टाका वैज्ञानिक तथा शैक्षिक सत्र सञ्चालन गरिएको थियो।
सम्मेलनमा २५ वटा मुख्य वैज्ञानिक प्रस्तुति, अन्तर्राष्ट्रिय प्लेनरी सत्र, पाँचवटा प्रशिक्षणमूलक पाठ्यक्रम, छवटा सीप प्रयोगशाला, अन्तर्राष्ट्रिय मास्टरक्लास, ग्रान्ड राउन्ड, बहस, प्यानल छलफल तथा अन्तरक्रियात्मक सत्र सञ्चालन भएका थिए।
त्यसैगरी, युवा नेत्ररोग विशेषज्ञ, आवासीय चिकित्सक, फेलो तथा अनुसन्धानकर्तालाई आफ्नो अनुसन्धान प्रस्तुत गर्ने अवसर प्रदान गर्न प्रतिस्पर्धात्मक तथा गैरप्रतिस्पर्धात्मक मौखिक र पोस्टर प्रस्तुति पनि समावेश गरिएको थियो।
सम्मेलनमा ‘विमेन इन अप्थाल्मोलोजी’ (WOW) सत्र, नेतृत्व विकास कार्यक्रम तथा युवा नेत्ररोग विशेषज्ञको सहभागिता बढाउने ‘यो नेपाल’ (YO Nepal) पहलले पनि विशेष स्थान पाएका थिए। यी कार्यक्रमले नेत्ररोग क्षेत्रमा महिला सहभागिता, नेतृत्व विकास, मार्गदर्शन तथा नयाँ पुस्ताको क्षमता अभिवृद्धिमा जोड दिएका थिए।
सम्मेलनको प्रमुख उपलब्धिमध्ये नेपालमा पहिलोपटक एसिया प्यासिफिक नेत्र चोट समाज (APOTS) को सम्मेलन आयोजना हुनु पनि रहेको आयोजकले जनाएका छन्। यसै अवसरमा अमेरिकन एकेडेमी अफ अप्थाल्मोलोजी (AAO) र APOTS बीच पहिलोपटक संयुक्त शैक्षिक सत्रसमेत सञ्चालन भएको थियो।
नेपाल नेत्ररोग समाजका अध्यक्ष तथा सम्मेलन अध्यक्ष प्राडा पुरुषोत्तम जोशी र समाजका महासचिव एवं सम्मेलन आयोजक सचिव डा तेजस्वी सिंह मल्लले सम्मेलनलाई नेपाली नेत्ररोग क्षेत्रको अन्तर्राष्ट्रिय पहिचान र सहकार्य विस्तारका दृष्टिले महत्त्वपूर्ण उपलब्धि भएको बताए। उनीहरूले सम्मेलन सफल बनाउन सहयोग गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वक्ता, सहभागी, प्रस्तुतकर्ता र आयोजकप्रति आभार व्यक्त गरे।
सम्मेलनको वैज्ञानिक कार्यक्रमको नेतृत्व नेपाल नेत्ररोग समाजकी उपाध्यक्ष तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको नेत्ररोग विभाग प्रमुख सहप्राध्यापक डा रञ्जना शर्माले गरेकी थिइन्। सम्मेलनमा उत्कृष्ट वैज्ञानिक अनुसन्धानलाई प्रोत्साहन गर्न मौखिक तथा पोस्टर प्रस्तुति प्रतिस्पर्धाका विजेतालाई पुरस्कृत गरिएको थियो।
पोस्टर प्रस्तुति प्रतिस्पर्धामा बीपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रकी डा वर्षा थापा, तिलगंगाकी डा सतेनला राई र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानकी डा प्रभा मोक्तान पुरस्कृत भएका थिए।
APOTS का अध्यक्ष डा गंगाधर सुन्दर, NESOS का अध्यक्ष डा एलिया श्रेष्ठ र स्थानीय APOTS वैज्ञानिक समितिका अध्यक्ष डा एलि प्रधानले नेपालमा APOTS सम्मेलन तथा AAO–APOTS को पहिलो संयुक्त शैक्षिक सत्र आयोजना गर्न पाउँदा खुसी व्यक्त गरे। उनीहरूले यसलाई अन्तर्राष्ट्रिय शैक्षिक सहकार्यको महत्त्वपूर्ण उपलब्धिका रूपमा व्याख्या गरे।
सम्मेलन सफल बनाउन आयोजक सहसचिव डा अनादि क्षेत्री, स्थानीय APOTS सहअध्यक्ष डा पवन महत, वैज्ञानिक सहअध्यक्ष डा आशिष राज पन्त, NOS वैज्ञानिक सहअध्यक्ष डा कुमुदिनी सुवेदी र कोषाध्यक्ष डा कौशल पोखरेलसहित आयोजक समितिका सदस्यहरूले योगदान गरेका थिए।
यस अवसरमा नेपाली नेत्ररोगको विकासमा उल्लेखनीय योगदान पुर्याएका प्राडा देव नारायण शाह, प्राडा ज्योति बाबा श्रेष्ठ, प्राडा सुनु दुलाल र प्राडा दामोदर प्रधानलाई नेपाल नेत्ररोग समाजको ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको थियो।
त्यसैगरी, नेपालका पहिलो नेत्ररोग विशेषज्ञका रूपमा चिनिएका प्राडा एनडी जोशीको योगदानको स्मरण गर्दै नेत्ररोग क्षेत्रमा योगदान पुर्याएका प्राडा सन्दुक रुइत र डा रामप्रसाद पोखरेलको विरासतलाई विशेष सम्मान गरिएको थियो।
वैज्ञानिक कार्यक्रमकी अध्यक्ष डा रञ्जना शर्माले सम्मेलनको नेतृत्व गर्ने जिम्मेवारीलाई सिकाइ र गौरवको विषयका रूपमा लिएको बताइन्। उनले वैज्ञानिक तथा आयोजक समिति, तीनवटै समाजका पदाधिकारी, सत्रका अध्यक्ष तथा सहअध्यक्ष, सहजकर्ता, प्रशिक्षक, वक्ता, निर्णायक, स्वयंसेवक र प्रायोजकहरूको योगदानको प्रशंसा गरिन्।
उनले यति ठूलो अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन कुनै एक व्यक्तिको प्रयासबाट नभई सामूहिक समर्पण, सहकार्य र समूहगत कामबाट सफल भएको बताइन्।
सम्मेलनले नेपाली नेत्ररोग क्षेत्रमा अन्तर्राष्ट्रिय साझेदारी विस्तार, युवा अनुसन्धानकर्तालाई प्रोत्साहन, शैक्षिक उत्कृष्टताको प्रवर्द्धन र आगामी दिनमा थप सहकार्यका अवसर सिर्जना गर्न महत्त्वपूर्ण भूमिका खेलेको आयोजकको भनाइ छ।
सम्मेलनको समापनसँगै नेत्ररोगसम्बन्धी शिक्षा, अनुसन्धान र उपचार सेवालाई थप प्रभावकारी बनाउँदै वैज्ञानिक ज्ञानलाई गुणस्तरीय आँखा उपचार र बिरामीको स्वास्थ्य परिणाम सुधारमा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।