लामो समयसम्म खोकी लाग्ने, खकार आउने र सामान्य हिँडडुल गर्दा पनि सास फुल्ने समस्या धेरैले सामान्य ठान्छन्। विशेषगरी उमेर बढ्दै जाँदा यस्तो हुनु स्वाभाविक हो भन्ने सोचाइ पनि पाइन्छ। तर, यस्ता लक्षण फोक्सोमा देखिने दीर्घकालीन तथा गम्भीर रोग ‘सीओपीडी’ (क्रोनिक अब्स्ट्रक्टिभ पल्मोनरी डिजिज) का संकेत हुन सक्छन्। समयमै पहिचान र उपचार नगरे यसले फोक्सोको कार्यक्षमता क्रमशः घटाउँदै बिरामीको दैनिक जीवन नै प्रभावित बनाउन सक्छ।
प्रत्येक वर्ष नोभेम्बर महिनाको तेस्रो बुधबार विश्वभर विश्व सीओपीडी दिवस मनाइन्छ। यस वर्ष ‘राम्रो जीवनका लागि शीघ्र पहिचान र व्यवस्थापन’ भन्ने नाराका साथ यो दिवस मनाइँदैछ। सीओपीडीबारे जनचेतना फैलाउने, जोखिमका कारण पहिचान गर्ने तथा समयमै रोगको निदान र उपचारमा जोड दिने उद्देश्यले यो दिवस मनाइन्छ।
के हो सीओपीडी?
सीओपीडी फोक्सो तथा श्वासनलीमा देखिने दीर्घकालीन रोग हो। यसमा श्वासनली साँघुरिने र फोक्सोका हावाका साना थैली (एल्भिओलाई) मा क्षति पुग्ने हुन्छ। त्यसका कारण फोक्सोमा हावाको आवतजावतमा अवरोध सिर्जना हुन्छ। विशेषगरी फोक्सोबाट हावा बाहिर निकाल्न कठिनाइ हुने भएकाले बिरामीलाई सास फेर्न असहज हुन्छ।
यो रोग क्रमशः बढ्दै जाने प्रकृतिको हुन्छ। सुरुवाती अवस्थामा लक्षण सामान्य देखिन सक्छन्। त्यसैले धेरै बिरामीले लामो समयसम्म आफ्नो समस्यालाई बेवास्ता गरिरहेका हुन्छन्। रोग बढ्दै जाँदा सामान्य हिँडडुल, घरायसी काम तथा दैनिक क्रियाकलाप गर्नसमेत कठिन हुन सक्छ।
सीओपीडीका प्रमुख लक्षणमा लामो समयसम्म खोकी लाग्नु, खोकीसँगै खकार आउनु, सास फुल्नु र सास फेर्दा छातीबाट घ्यारघ्यार आवाज आउनु पर्दछन्। विशेषगरी बिहान उठ्दा खोकी बढी लाग्ने र उकालो चढ्दा, भर्याङ उक्लिँदा वा केही बेर हिँड्दा नै सास फुल्ने समस्या देखिन सक्छ। कतिपयमा छाती भारी हुने वा असहज महसुस हुने पनि हुन्छ।
किन हुन्छ सीओपीडी?
सीओपीडीको प्रमुख कारण धूम्रपान हो। चुरोट तथा अन्य सुर्तीजन्य पदार्थको सेवनले फोक्सो र श्वासनलीमा दीर्घकालीन क्षति पुर्याउँछ। सीओपीडीका अधिकांश बिरामीमा धूम्रपानसँग सम्बन्धित जोखिम देखिने गरेको छ।
तर धूम्रपान नगर्ने व्यक्तिलाई यो रोग लाग्दैन भन्ने होइन। घरभित्रको वायु प्रदूषण पनि यसको महत्त्वपूर्ण कारण हो। विशेषगरी ग्रामीण क्षेत्रमा दाउरा, गुइँठा तथा अन्य जैविक इन्धन प्रयोग गरेर खाना पकाउँदा निस्कने धुवाँमा लामो समयसम्म बस्नुपर्दा फोक्सोमा असर पर्न सक्छ। भान्सामा पर्याप्त हावा आवतजावत नहुने अवस्था र धुवाँको निरन्तर सम्पर्कले जोखिम बढाउँछ।
त्यसैगरी सवारीसाधनबाट निस्कने धुवाँ, उद्योग तथा कलकारखानाबाट हुने प्रदूषण, धुलो र विभिन्न रासायनिक पदार्थको सम्पर्कले पनि सीओपीडीको जोखिम बढाउन सक्छ। वंशाणुगत कारण तथा बाल्यकालमा पटकपटक हुने श्वासप्रश्वाससम्बन्धी संक्रमणले पनि भविष्यमा फोक्सोको स्वास्थ्यमा असर पुर्याउन सक्छ।
सीओपीडीबाट कसरी बच्ने?
सीओपीडीबाट बच्न सबैभन्दा महत्त्वपूर्ण कुरा यसका जोखिमका कारणबाट टाढा रहनु हो। धूम्रपान गर्ने व्यक्तिले पूर्ण रूपमा चुरोट तथा सुर्तीजन्य पदार्थ त्याग्नुपर्छ। धूम्रपान छाड्दा फोक्सोमा भइरहेको क्षति र रोगको प्रगतिलाई कम गर्न मद्दत पुग्छ।
घरभित्रको धुवाँबाट बच्न खाना पकाउँदा सम्भव भएसम्म बायोग्यास, एलपीजी ग्यास वा विद्युतीय चुलो प्रयोग गर्नुपर्छ। परम्परागत इन्धन प्रयोग गर्नुपर्ने अवस्थामा भान्सामा पर्याप्त हावा आवतजावत हुने व्यवस्था मिलाउनु आवश्यक हुन्छ।
धुलो, धुवाँ तथा रासायनिक पदार्थको सम्पर्कमा रहनुपर्ने कार्यस्थलमा उपयुक्त मास्क र सुरक्षात्मक उपकरण प्रयोग गर्नुपर्छ। त्यस्तै, वायु प्रदूषण बढी भएको समयमा अनावश्यक रूपमा बाहिर ननिस्कने र प्रदूषणबाट बच्ने उपाय अपनाउनुपर्छ।
सीओपीडी भएका व्यक्तिमा श्वासप्रश्वाससम्बन्धी संक्रमणले समस्या थप जटिल बनाउन सक्छ। त्यसैले चिकित्सकको सल्लाहअनुसार इन्फ्लुएन्जा (फ्लु) तथा निमोनियाविरुद्धका खोप लगाउनु उपयोगी हुन्छ। संक्रमणबाट बच्नु र समग्र स्वास्थ्यमा ध्यान दिनु पनि रोगको व्यवस्थापनका महत्त्वपूर्ण पक्ष हुन्।
निदान र उपचार कसरी गरिन्छ?
सीओपीडीको सुरुवाती लक्षणलाई अन्य श्वासप्रश्वाससम्बन्धी समस्यासँग झुक्किन सकिन्छ। त्यसैले लामो समयसम्म खोकी लाग्ने, खकार आउने वा सास फुल्ने समस्या भएका व्यक्तिले चिकित्सकसँग परामर्श लिनुपर्छ।
सीओपीडी पहिचानका लागि बिरामीको लक्षण, स्वास्थ्य इतिहास र धूम्रपान वा धुवाँको सम्पर्कसम्बन्धी विवरण लिइन्छ। यसका साथै स्पाइरोमेट्री नामक परीक्षण गरिन्छ। यो परीक्षणबाट फोक्सोले कति हावा भित्र लिन र बाहिर फाल्न सक्छ भन्ने मूल्याङ्कन गरिन्छ। यसले श्वासनलीमा अवरोध छ कि छैन भन्ने पहिचान गर्न मद्दत गर्छ।
सीओपीडी पूर्ण रूपमा निको पार्न सकिने रोग होइन। तर समयमै पहिचान गरेर उचित उपचार गरेमा रोगको प्रगति नियन्त्रण गर्न, लक्षण कम गर्न र बिरामीको जीवनस्तर सुधार गर्न सकिन्छ।
यसको उपचारमा इन्हेलर अर्थात् पम्पको विशेष महत्त्व हुन्छ। इन्हेलरबाट दिइने औषधि सीधै फोक्सोमा पुग्ने भएकाले श्वासनली खुलाउन र सास फेर्न सहज बनाउन मद्दत गर्छ। बिरामीको अवस्था र रोगको गम्भीरताअनुसार चिकित्सकले उपयुक्त इन्हेलर र औषधि छनोट गर्छन्। कतिपय अवस्थामा खाने औषधि पनि आवश्यक पर्न सक्छ। चिकित्सकको सल्लाहबिना औषधि वा इन्हेलर बन्द गर्नु हुँदैन।
त्यसैगरी पल्मोनरी रिह्याबिलिटेसन अर्थात् फोक्सो पुनर्स्थापना कार्यक्रम पनि उपचारको महत्त्वपूर्ण हिस्सा हो। यसमा चिकित्सक तथा फिजियोथेरापिस्टको निगरानीमा गरिने शारीरिक व्यायाम, श्वासप्रश्वाससम्बन्धी अभ्यास र स्वास्थ्य शिक्षालाई समेटिन्छ। यस्ता अभ्यासले शारीरिक क्षमता बढाउन, सास फेर्न सहज बनाउन र दैनिक काम गर्न सक्ने क्षमता सुधार गर्न मद्दत गर्छन्।
रगतमा अक्सिजनको मात्रा निकै कम भएका बिरामीलाई चिकित्सकको सल्लाहअनुसार अक्सिजन थेरापी आवश्यक पर्न सक्छ। त्यस्तै, सन्तुलित आहार र पोषणमा ध्यान दिनुपर्छ। प्रोटिनयुक्त खानेकुरा, सागपात, फलफूल तथा पोषणयुक्त प्राकृतिक खानेकुरा खानुपर्छ। धेरै पेट भरेर एकैपटक खानुभन्दा थोरै-थोरै गरी दिनमा पटकपटक खाना खानु उपयुक्त हुन्छ। सीओपीडी भएका सबै बिरामीले विशेष प्रकारका खानेकुरा बार्नुपर्छ भन्ने हुँदैन। बिरामीको अवस्था र अन्य स्वास्थ्य समस्याअनुसार खानपान व्यवस्थापन गर्न सकिन्छ।
कस्तो अवस्थामा तुरुन्त अस्पताल जाने?
लामो समयदेखि खोकी लागिरहेको छ, खकार आइरहेको छ वा सामान्य हिँडडुल गर्दा पनि सास फुल्ने गरेको छ भने यसलाई सामान्य समस्या ठानेर बेवास्ता गर्नु हुँदैन। समयमै छाती रोग विशेषज्ञसँग परामर्श गरी आवश्यक परीक्षण गराउनुपर्छ।
विशेषगरी अचानक सास फेर्न अत्यधिक गाह्रो हुने, ओठ वा नङ नीलो देखिने, छातीमा तीव्र पीडा हुने, अत्यधिक कमजोरी महसुस हुने वा बेहोस हुने अवस्था देखिएमा तुरुन्त अस्पतालको आकस्मिक कक्षमा लैजानुपर्छ। सीओपीडी भएका बिरामीमा संक्रमणका कारण पनि रोग अचानक गम्भीर हुन सक्छ। यस्तो अवस्थालाई सीओपीडीको एक्युट एक्जासर्बेसन भनिन्छ र यसमा तत्काल उपचार आवश्यक हुन्छ।
समयमै पहिचान, नियमित उपचार र स्वस्थ जीवनशैली
सीओपीडीलाई पूर्ण रूपमा निको पार्न नसकिए पनि यसको उचित व्यवस्थापन सम्भव छ। धूम्रपान त्याग्ने, धुवाँ र धुलोबाट बच्ने, नियमित औषधि प्रयोग गर्ने, आवश्यक खोप लगाउने, शारीरिक सक्रियता कायम राख्ने र चिकित्सकको नियमित निगरानीमा रहने हो भने बिरामीले आफ्नो दैनिक जीवन सहज बनाउन सक्छन्।
फोक्सो स्वस्थ राख्नु भनेको श्वासप्रश्वासको समस्या हुन नदिनु मात्र होइन, जीवनलाई सक्रिय र सहज बनाउनु पनि हो। त्यसैले लामो समयसम्म खोकी लाग्ने वा सास फुल्ने समस्यालाई बेवास्ता नगरौँ। समयमै रोग पहिचान गरौँ, उपचार गरौँ र फोक्सोलाई स्वस्थ राख्दै गुणस्तरीय जीवन बिताऔँ।