अमेरिकाको भर्जिनियास्थित अदालतले आफ्नी पत्नी तथा छोरीकी आमा ममता काफ्लेको हत्या गरेको अभियोगमा नरेश भट्टलाई प्रथम श्रेणीको हत्यामा दोषी ठहर गरेको छ। साथै, अदालतले काफ्लेको शव क्षतविक्षत पारेको र लुकाएको अभियोगमा पनि उनलाई दोषी ठहर गरेको छ।
मंगलबार सुनाइएको यो फैसला करिब छ हप्तासम्म चलेको अदालती सुनुवाइ र विभिन्न साक्षीहरूको बयानपछि आएको हो। सुनुवाइका क्रममा स्वयं नरेश भट्टले पनि बयान दिएका थिए। गत साता अप्रत्याशित रूपमा साक्षीका रूपमा उपस्थित हुँदै उनले ममताको शव टुक्राटुक्रा पारेको र फोहोरमा फालेको स्वीकार गरेका थिए।
तर, उनले पत्नीको हत्या भने आफूले नगरेको दाबी गरेका थिए। भट्टका अनुसार, उनले ममतालाई आत्महत्या गरेको अवस्थामा मृत फेला पारेका थिए।
यद्यपि, सरकारी वकिलले उनको दाबीलाई बनावटी र झुटो कथा भन्दै खारेज गर्न न्यायाधीशसमक्ष आग्रह गरेका थिए।
'उनले ममताको हत्या गरे, शव टुक्राटुक्रा पारे र फोहोरजस्तै फालिदिए'
मंगलबार बहसका क्रममा वरिष्ठ सहायक सरकारी वकिल सारा सामीले नरेश भट्टले आफ्नी पत्नीको हत्या गरेको दाबी गर्दै भनिन्,
'अभियुक्तले ममता काफ्लेको हत्या गरे। उनले ममताको शव टुक्राटुक्रा पारे र उनलाई फोहोरजस्तै फालिदिए।'
ममता काफ्ले सन् २०२४ जुलाईमा भर्जिनियाको मनासस पार्कस्थित आफ्नै घरबाट बेपत्ता भएकी थिइन्। त्यसयता उनको शव फेला परेको छैन।
सरकारी वकिल सामीका अनुसार, भट्टले ममताको शव भर्जिनियाको लुरे क्षेत्रमा रहेको ल्यान्डफिल अर्थात् फोहोर व्यवस्थापन स्थलमा फालेका थिए।
उनले अदालतमा भनिन्,
'ममता आफ्नो परिवारका लागि सधैँ बेपत्ता नै रहनेछिन्। हामीलाई उनी मरिसकेको थाहा छ, तर परिवारले उनको अन्तिम संस्कार गर्न पाउने छैन। उनको शव टुक्राटुक्रा पारेर कुनै ल्यान्डफिलमा फालिएको छ। उनको परिवारले जीवनभर यही पीडा बोकेर बाँच्नुपर्नेछ।'
भट्टलाई आजीवन कारावाससम्मको सजाय हुन सक्ने
प्रथम श्रेणीको हत्यामा दोषी ठहर भएका भट्टलाई कम्तीमा २० वर्षदेखि आजीवन कारावाससम्मको सजाय हुन सक्नेछ।
त्यसैगरी, शव लुकाएको र क्षतविक्षत पारेको अभियोगमा थप पाँच–पाँच वर्षसम्मको सजाय हुन सक्ने व्यवस्था छ।
उनको सजाय निर्धारण आगामी मार्च महिनामा हुने तय भएको छ।
फैसलापछि नेपाली समुदायमा खुसी
अदालतको फैसलापछि ममताका साथीहरू र स्थानीय नेपाली समुदायका दर्जनौँ सदस्यले अदालतबाहिर खुसी व्यक्त गरेका थिए।
एक व्यक्तिले पत्रकारहरूसँग भने, 'आज हामीले न्याय पायौँ। न्यायको जित भएको छ।'
अर्का व्यक्तिले भने, 'ममता बेपत्ता भएको ८३२ दिनपछि अन्ततः उनलाई न्याय मिलेको छ।'
त्यस क्रममा १२ वर्षीय एक बालकले पनि भावुक मन्तव्य दिएका थिए।
उनले भने,
'आज हामीले गर्वका साथ उत्सव मनाउनुपर्ने दिन हो। आज नेपालीहरूको तिहार पर्व पनि हो, जुन दीपावलीजस्तै हो। यसले खराबीमाथि असलको विजय र अधर्ममाथि धर्मको जितको सन्देश दिन्छ। मलाई लाग्छ, हामीले हरेक वर्ष आजको दिन ममता काफ्लेको सम्झनामा मनाउनुपर्छ।'
भट्टले अदालतमा के बताएका थिए?
गत साता अदालतमा दिएको बयानमा भट्टले आफूले सन् २०२४ जुलाई ३० को बिहान ममतालाई मृत अवस्थामा फेला पारेको दाबी गरेका थिए।
उनका अनुसार, ममताको शरीर नजिक औषधिका चक्की र कीटनाशक औषधिका खुला बट्टाहरू थिए।
भट्टले ममतालाई बचाउने प्रयास गरेको तर सफल नभएपछि उनको शव टुक्राटुक्रा पारेको बताएका थिए।
उनकी वकिल ट्रेसी लेनोक्सले उनलाई सोधेकी थिइन्, 'तपाईंले प्रहरीलाई किन फोन गर्नुभएन?'
भट्टले जवाफ दिएका थिए,
'त्यतिबेला म निकै डराएको थिएँ। किन फोन गरिनँ भन्ने मलाई थाहा छैन। मैले फोन गर्ने प्रयास गरेको थिएँ। म निकै आत्तिएको थिएँ। के भयो भन्ने कुरा म आफैँलाई पनि थाहा छैन। दुई वर्षभन्दा बढी समय बितिसक्यो। मैले ३ हजार ५०० घण्टाभन्दा बढी ध्यानसमेत गरिसकेको छु। तर पनि मसँग त्यसको जवाफ छैन।'
उनकी वकिलले ममताको आत्महत्याका लागि आफूलाई दोषी ठहर गरिने डर लागेको हो भनेर सोध्दा भट्टले 'हो' भनेका थिए।
भट्टले अदालतमा ममताको शव फोहोर फाल्ने डस्टबिनमा अटाउनका लागि आराले टुक्राटुक्रा पारेको पनि बताएका थिए।
सीसीटीभी फुटेजले उठाएका प्रश्न
अभियोजन पक्षले अदालतमा प्रस्तुत गरेका विभिन्न सीसीटीभी फुटेजमा भट्टले पञ्जा लगाएर विभिन्न फोहोर फाल्ने स्थानमा धेरैवटा झोला फालेको देखिएको थियो।
तर, भट्टले ती झोलामा ममताको शवका अवशेष नभई उनका व्यक्तिगत सामानहरू मात्र रहेको दाबी गरेका थिए।
यसअघि ममता बेपत्ता भएपछि भट्टले उनी घर छाडेर गएको र सम्भवतः न्युयोर्क वा टेक्सास पुगेको हुन सक्ने बताएका थिए।
तर, अदालतमा उनले दिएको पछिल्लो बयान यसअघिका अभिव्यक्तिभन्दा बिल्कुल फरक थियो।
अभियोजन पक्षका वकिल म्याथ्यु स्वीटले जिरहका क्रममा उनलाई झुट बोलेको आरोप लगाए।
'तपाईं झुट बोल्ने व्यक्ति हुनुहुन्छ,' वकिलले भने।
भट्टले जवाफ दिए, 'हो।'
वकिलले फेरि भने, 'तपाईंले झुट बोल्नुभयो।'
त्यसपछि अदालतभित्र उपस्थित केही व्यक्तिले ताली बजाएका थिए। न्यायाधीशले तत्काल शान्त रहन निर्देशन दिएका थिए।
बचाउ पक्षले के दाबी गर्यो?
भट्टका बचाउ पक्षका वकिल ट्रेसी लेनोक्सले अभियोजन पक्षले प्रस्तुत गरेका प्रमाणमा उचित शंका रहेको दाबी गरेकी थिइन्।
उनले ममतामाथि भट्टले दुर्व्यवहार गरेको अभियोजन पक्षको दाबीमाथि पनि प्रश्न उठाएकी थिइन्।
उनले न्यायाधीशसमक्ष भनिन्,
'यदि तपाईंको मनमा घटनाबारे तर्कसंगत शंका छ भने तपाईंले उनलाई निर्दोष ठहर गर्नुपर्छ।'
भट्टले सोमबार अदालतमा ममताको मृत्यु देखेपछि आफूलाई पोस्ट-ट्रमाटिक स्ट्रेस डिसअर्डर (PTSD) को समस्या बल्झिएको र आफू पूर्ण नियन्त्रणमा नरहेको अवस्थामा शव टुक्राटुक्रा पारेको दाबी गरेका थिए।
'आमाजस्तै छिन् सानी ममता'
ममता बेपत्ता हुँदा उनकी छोरी करिब एक वर्षकी थिइन्। आफ्नो पहिलो जन्मदिन मनाउन नपाउँदै छोरीले आमालाई गुमाउनुपरेको थियो।
ममताकी साथी तथा पूर्वसहकर्मी होली विर्थले उनकी छोरीलाई आफूहरूले 'मिनी ममता' भनेर बोलाउने गरेको बताइन्।
उनले भनिन्,
'हामीले ममता बेपत्ता भएको थाहा पाएको करिब तीन दिनपछि नै उनलाई 'मिनी ममता' भन्न थालेका थियौँ। हामीलाई बच्चीलाई यो परिस्थितिबाट जोगाउनुपर्छ भन्ने लागेको थियो।'
उनका अनुसार, बच्चीको मुस्कान आमाको जस्तै छ। उनलाई नाच्न मन पर्छ र उनी निकै चलाख पनि छिन्।
विर्थले भनिन्,
'उनी अहिले पनि निर्दोष बालिका हुन्। हामी चाहन्छौँ, उनी तीन वर्षकी खुसी र स्वस्थ बच्चीका रूपमा हुर्किऊन्। उनको जीवनमा मायाबाहेक अरू केही नहोस्।'
ममताका आफन्त र साथीहरूले उनकी छोरीलाई यो घटनाको पीडाबाट जोगाउँदै सुरक्षित वातावरणमा हुर्काउने प्रयास गरिरहेका छन्।