काठमाडौं- अमेरिकामा नेपाली मूलकी ममता काफ्ले भट्टको हत्या प्रकरणमा आरोपित उनका श्रीमान् नरेश भट्टले अदालतमा बयान दिने क्रममा आफूले घटनालाई कानुनी अपराधभन्दा पनि नैतिक अपराधका रूपमा लिएको बताएका छन्।
आफूले घटनाका बेला कानुनी अपराधबारे जानकारी नभएको दाबी गर्दै उनले मृत शरीर टुक्रा पार्नु ठूलो नैतिक अपराध भएको स्वीकार गरेका हुन्। आफ्नै श्रीमतीको शव टुक्रा पार्नु नैतिक रूपमा सबैभन्दा खराब काम भएको पनि उनले अदालतसमक्ष बताएका छन्।
बयानका क्रममा भट्टले ममताको मृत्युपछि उनको शव बेडरुमबाट घिसारेर बाथरुममा लगेको स्वीकार गरेका छन्। बाथटबभित्र शव राखेर आरी र चक्कुको प्रयोग गरी टुक्रा पारेपछि प्लास्टिकका फोहोर फाल्ने झोलामा राखेको उनले बताएका छन्।
शव लुकाउनु र मृत शरीरको अपमान गर्नु अपराध भएको स्वीकार गर्दै उनले घटनापछि विभिन्न सामान तथा प्रमाण नष्ट गरेको पनि बयान दिएका छन्। ममताका कपडा र जुत्ता लिबर्टी ग्यास स्टेसन नजिकैको दानपेटिकामा फालेको तथा उनको मोबाइल फोन बाटोको ढलमा फालेको उनले बताएका छन्।
घटनापछि घर सफा गर्न आफूले विभिन्न सामग्री खरिद गरेको पनि भट्टले स्वीकार गरेका छन्। होम डिपोबाट बाक्ला रबरका पन्जा तथा वालमार्टबाट एयर फ्रेसनर, कीटाणुनाशक वाइप्स र साबुन किनेको उनले बताएका हुन्।
बेडरुमको कार्पेटमा लागेको रगत सफा गर्न कार्पेट क्लिनर प्रयोग गरेको र नाङ्गो आँखाले रगत नदेखिने गरी सफा गरेको उनको भनाइ छ। बाथरुममा पनि धेरै रगत भएकाले बाथटबमा पटक–पटक पानी भरेर सफा गरेको उनले बताएका छन्। सफाइका क्रममा एक घण्टामा १११ ग्यालन पानी प्रयोग भएको तथ्यमा पनि उनी सहमत भएका छन्।
कार्पेटबाट रगत सफा गर्न शारीरिक रूपमा सहज भए पनि मानसिक रूपमा निकै कठिन भएको उनले अदालतमा बताएका छन्।
भट्टले शव टुक्रा पार्न प्रयोग गरिएका तीनमध्ये दुईवटा चक्कु बेबीसिटरको घरबाहिर फालेको र एउटा सानो चक्कु भने आफ्नै घरमा राखेको बयान दिएका छन्।
यसैबीच, अदालतमा उनको नागरिकता तथा अध्यागमनसम्बन्धी विवरणबारे पनि प्रश्न उठाइएको थियो। अमेरिकी नागरिकता आवेदनलगायतका कागजातमा आफ्नो जन्मस्थान नेपाल उल्लेख गरेका भट्टले सरकारी वकिलको केरकारमा भने आफू भारतको नयाँ दिल्लीमा जन्मिएको कुरा आफ्ना आमाबुबालाई थाहा भएको स्वीकार गरेका छन्।
नेपालमा जन्मिएको विवरण गलत भएको विषयमा उनले त्यसलाई झुट नभई आफू हुर्किएको संस्कृति र चलनका रूपमा व्याख्या गरेका थिए। कुनै गलत मनसायले त्यसो नगरेको उनको दाबी थियो। उनले नागरिकता आवेदनमा आफ्नो जन्ममिति सन् १९८७ फेब्रुअरी उल्लेख गरेको पनि पुष्टि गरेका छन्।