काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जलवायु परिवर्तनविरुद्धको विश्वव्यापी प्रयासमा स्वास्थ्य क्षेत्रलाई केन्द्रमा राख्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेकी छन्।
टर्कीको अन्टाल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) अन्तर्गत नेपाल पेभिलियनमा आयोजित ‘जलवायु कार्यमा स्वास्थ्यलाई केन्द्रमा राख्ने : विश्वव्यापी दृष्टिकोण’ विषयक विशेष सत्रको अध्यक्षता गर्दै मन्त्री मेहताले जलवायु परिवर्तनलाई बढ्दो जनस्वास्थ्य संकटका रूपमा लिनुपर्ने बताइन्।
उनले बाढी, पहिरो, अत्यधिक गर्मी तथा खाद्य र पानीको असुरक्षाले मानव स्वास्थ्यमा गम्भीर असर पारिरहेको उल्लेख गरिन्। जलवायु परिवर्तनका कारण सिर्जना हुने यस्ता चुनौतीले विशेषगरी जोखिममा रहेका समुदायको स्वास्थ्य र जीवनयापनमा प्रत्यक्ष प्रभाव पारिरहेको उनको भनाइ थियो।
मन्त्री मेहताले नेपालजस्ता जलवायु परिवर्तनको उच्च जोखिममा रहेका मुलुकलाई सहज पहुँचयोग्य, पूर्वानुमान गर्न सकिने र अनुदानमा आधारित जलवायु वित्त उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरिन्।
त्यस्तै, जलवायु परिवर्तनसम्बन्धी नीति तथा अनुकूलन योजनामा स्वास्थ्य क्षेत्रका प्राथमिकतालाई समेट्नुपर्नेमा उनले जोड दिइन्। जलवायु परिवर्तनका असर सामना गर्न सक्ने स्वास्थ्य प्रणालीको विकास अहिलेको आवश्यकता रहेको उनको भनाइ थियो।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र आईपीएएस नेपालसँगको सहकार्यमा आयोजित उक्त सत्रमा विभिन्न अन्तर्राष्ट्रिय साझेदार संस्थाका प्रतिनिधिहरू सहभागी थिए। सत्रमा जलवायु परिवर्तनका चुनौती सामना गर्न सक्षम तथा उत्थानशील स्वास्थ्य प्रणाली निर्माणका विषयमा छलफल भएको थियो।
‘स्वस्थ मानिसबिना उत्थानशील भविष्य सम्भव छैन र स्वस्थ मानिसका लागि उत्थानशील पृथ्वी आवश्यक छ,’ मन्त्री मेहताले भनिन्।