स्याङ्जा- विश्व एक स्वास्थ्य दिवस २०२६ को अवसरमा स्याङ्जाको वालिङ नगरपालिकाले 'एक स्वास्थ्य संवादः समुदायदेखि नीतिसम्म' विषयक कार्यक्रम सम्पन्न गरेको छ। समुदायमा एक स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने, मानव, पशुपन्छी र वातावरणीय स्वास्थ्यबीचको अन्तरसम्बन्ध उजागर गर्ने तथा स्थानीय तहमा एक स्वास्थ्य नीतिको प्रभावकारी कार्यान्वयनका लागि साझा प्रतिबद्धता निर्माण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
'समृद्ध समुदाय निर्माणको आधारः एक स्वास्थ्यमा साझा प्रतिबद्धता, सहकार्य र व्यवहार' भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा निकालिएको र्यालीले वालिङ बजार परिक्रमा गरेको थियो। 'एक स्वास्थ्य' विषयक संवाद कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँण, उपप्रमुख कविता तिवारी गैह्रे, वालिङ नगरपालिकाका जनस्वास्थ्य अधिकृत कमलप्रसाद पाण्डे, गण्डकी प्रदेश कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका डा. राजेश चौधरी, नेपाल वन हेल्थ इन्स्टिच्युटका सचिव संकल्प भट्टराई, कृषि विकास कार्यालय स्याङ्जाका निमित्त प्रमुख नारायण पाठक र कृषि विकास स्रोत केन्द्र गण्डकी प्रदेश प्रादेशिक कार्यालयका प्रमुख सुदीप रेग्मीले एक स्वास्थ्यको विषयमा बहस गरी यसको प्रभावकारी कार्यान्वयनका लागि साझा प्रतिबद्धता र ऐक्यबद्धता जनाए।
कार्यक्रममा वालिङ बहुमुखी क्याम्पस, स्याङ्जाका विद्यार्थीहरूको नेतृत्वमा जनचेतनामूलक 'एक स्वास्थ्य' विषयक सडक नाटक प्रस्तुत गरिएको थियो। कार्यक्रममा सहभागी सरोकारवालाहरूले मानिस, पशुपन्छी, बोटबिरुवा र वातावरणको स्वास्थ्य एकअर्कासँग अन्तरसम्बन्धित रहेको तथ्यलाई आत्मसात् गर्दै उल्लेखित सबै पक्षलाई सन्तुलित राख्दै यसको व्यावहारिक कार्यान्वयनका लागि ऐक्यबद्धता, सहकार्य र प्रतिबद्धता व्यक्त गर्दै ७ बुँदे 'वालिङ एक स्वास्थ्य घोषणापत्र, २०८३' जारी गरेका छन्।
वालिङ नगरपालिकाको आयोजना तथा हेफर इन्टरनेसनल नेपाल, दियालो संस्था, नेपाल वन हेल्थ इन्स्टिच्युट र वालिङ बहुमुखी क्याम्पसको प्राविधिक सहयोग एवं समन्वयमा कार्यक्रम सम्पन्न भएको हो।
सडकबाट उठे समुदायका एक स्वास्थ्यसम्बन्धी सवाल
क्याम्पस पढ्ने विद्यार्थी, स्वास्थ्यकर्मी, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधि, प्राध्यापक, शिक्षक, कृषक, सहकारी, टोल विकास संस्था लगायतको उपस्थितिमा 'एक स्वास्थ्य' सम्बन्धी सन्देशमूलक नारासहितको प्लेकार्ड बोकी वालिङ बजार परिक्रमा गरिएको थियो। एक स्वास्थ्यसम्बन्धी सन्देशसहितको र्याली वालिङ नगरपालिका कार्यालय परिसरमा पुगेर सडक नाटकमा परिणत भएको थियो। विद्यार्थीहरूले प्रस्तुत गरेको सडक नाटकले समुदायमा देखिने एक स्वास्थ्यसम्बन्धी विभिन्न जोखिम र व्यवहारलाई जीवन्त रूपमा चित्रण गरेको थियो।
नाटकमा मानिस तथा पशुपन्छीमा एन्टिबायोटिकको अनुचित प्रयोग र त्यसबाट बढ्ने एन्टिमाइक्रोबियल प्रतिरोध, रेबिज लगायत पशुबाट मानिसमा सर्ने रोग, तरकारी उत्पादनमा विषादीको जथाभावी प्रयोगबाट मानव स्वास्थ्य तथा वातावरणमा पर्न सक्ने असर र दूध, मासु लगायत पशुजन्य खाद्य पदार्थको स्वच्छता तथा सुरक्षासम्बन्धी सवाल उठाइएको थियो।
विशेषगरी पशु उपचारमा एन्टिबायोटिक प्रयोग गरेपछि निर्धारित प्रतीक्षा अवधि पूरा नगरी दूध उपभोग वा बिक्री गर्दा उत्पन्न हुन सक्ने जोखिम तथा खेतदेखि थालीसम्म खाद्य स्वच्छता कायम गर्नुपर्ने आवश्यकतालाई नाटकले उजागर गरेको थियो।
मानिस, पशुपन्छी र वातावरणको स्वास्थ्य एकअर्कासँग जोडिएको हुँदा यस्ता समस्याको समाधान कुनै एक व्यक्ति वा निकायबाट मात्र सम्भव नहुने र सबै क्षेत्रको संयुक्त प्रयास आवश्यक पर्ने सन्देश नाटकको मुख्य आकर्षण थियो।
सडक नाटकका सवालमा बहुक्षेत्रीय संवाद
सडक नाटकपछि आयोजित 'एक स्वास्थ्य संवादः समुदायदेखि नीतिसम्म' कार्यक्रममा स्थानीय सरकारका प्रतिनिधि, मानव तथा पशु स्वास्थ्य विज्ञ, कृषि क्षेत्रका प्राविधिक, नेपाल एक स्वास्थ्य संस्थाका प्रतिनिधि, किसान, सहकारी, विभिन्न सरकारी निकाय तथा समुदायका सरोकारवालाहरूबीच छलफल गरिएको थियो।
संवादमा रेबिज तथा अन्य जुनोटिक रोगको रोकथाम, मानिस र पशुमा एन्टिबायोटिकको जिम्मेवार प्रयोग, सुरक्षित कृषि उत्पादन, विषादी व्यवस्थापन, खाद्य स्वच्छता तथा वातावरण संरक्षणका विषयमा सम्बन्धित क्षेत्रको भूमिका र सहकार्यको आवश्यकतामाथि छलफल भएको थियो।
छलफलले समुदायमा देखिएका स्वास्थ्य जोखिमलाई छुट्टाछुट्टै क्षेत्रका समस्याका रूपमा मात्र नहेरी मानव स्वास्थ्य, पशु स्वास्थ्य, कृषि, वातावरण र खाद्य प्रणालीसँग जोडेर सम्बोधन गर्नुपर्ने आवश्यकतालाई उजागर गरेको थियो।
एक स्वास्थ्य नीतिदेखि कार्यान्वयनतर्फ
वालिङ नगरपालिकाले यसअघि नै एक स्वास्थ्यसम्बन्धी नीति तथा कार्यविधि स्वीकृत गरी यस अवधारणालाई आफ्नो नीति तथा कार्यक्रममा प्राथमिकता दिँदै आएको छ।
यसै पृष्ठभूमिमा आयोजित विश्व एक स्वास्थ्य दिवसले समुदायमा देखिएका समस्या र सरोकारवालाका सुझावलाई स्थानीय सरकारको नीतिगत प्राथमिकता तथा कार्यान्वयनसँग the अवसर प्रदान गरेको छ।
कार्यक्रमले एक स्वास्थ्यलाई मानव स्वास्थ्य क्षेत्रको मात्र विषय नभई कृषि, पशुपालन, खाद्य सुरक्षा, वातावरण संरक्षण, शिक्षा तथा स्थानीय सुशासनसँग सम्बन्धित साझा विकासको अवधारणाका रूपमा अघि बढाउनुपर्ने सन्देश दिएको छ।

‘वालिङ एक स्वास्थ्य घोषणा–पत्र, २०८३’ जारी
कार्यक्रममा उठेका सवालहरूलाई समेट्दै ‘वालिङ एक स्वास्थ्य घोषणा–पत्र, २०८३’ पारित गरिएको छ।
घोषणा–पत्रमार्फत एक स्वास्थ्य नीति तथा कार्यविधिको कार्यान्वयन, मानव स्वास्थ्य, पशु स्वास्थ्य, कृषि तथा वातावरण क्षेत्रबीच समन्वय, रेबिज लगायत जुनोटिक रोगको रोकथाम, एन्टिबायोटिकको जिम्मेवार प्रयोग, सुरक्षित कृषि उत्पादन तथा खाद्य स्वच्छता प्रवर्द्धनमा साझा प्रतिबद्धता व्यक्त गरिएको छ।
तथापि किसान, सहकारी, विद्यालय, स्वास्थ्य स्वयंसेविका, युवा तथा समुदायको सहभागिता बढाउने र साझा प्राथमिकताका आधारमा संयुक्त कार्ययोजना, जिम्मेवारी निर्धारण तथा नियमित समीक्षा गर्ने विषयलाई पनि घोषणा–पत्रमा समेटिएको छ।
'समृद्ध समुदाय निर्माणको आधारः एक स्वास्थ्यमा साझा प्रतिबद्धता, सहकार्य र व्यवहार!' भन्ने नारासहित जारी घोषणा–पत्रले एक स्वास्थ्यसम्बन्धी जनचेतनालाई व्यवहार परिवर्तन र संस्थागत सहकार्यसँग जोड्ने आधार तयार गरेको छ।
अन्य स्थानीय तहका लागि सिकाइको अवसर
विश्वव्यापी रूपमा एक स्वास्थ्य अवधारणालाई मानव, पशु तथा वातावरणीय स्वास्थ्यसँगै कृषि–खाद्य प्रणालीमा एकीकृत गर्ने विषयले महत्त्व पाइरहेको सन्दर्भमा वालिङ नगरपालिकाको पहल स्थानीय तहको नेतृत्वमा यस अवधारणालाई संस्थागत गर्ने प्रयासका रूपमा महत्त्वपूर्ण मान्न सकिन्छ।
एक स्वास्थ्य नीति तथा कार्यविधि निर्माण, समुदायस्तरीय जनचेतना, बहुक्षेत्रीय संवाद र साझा घोषणा–पत्रलाई एउटै प्रक्रियामा जोडिएको यस पहलले अन्य स्थानीय तहलाई पनि एक स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन र नीति कार्यान्वयनका लागि सिकाइ प्रदान गर्न सक्ने अपेक्षा गरिएको छ।
आगामी दिनमा घोषणा–पत्रका प्रतिबद्धतालाई स्पष्ट कार्ययोजना, जिम्मेवारी, स्रोत परिचालन र नियमित अनुगमनसँग जोड्न सके वालिङको अनुभव अन्य नगरपालिकामा समेत विस्तार गर्न सकिने सम्भावना छ।
समुदायबाट उठेका स्वास्थ्यसम्बन्धी सवाललाई स्थानीय सरकारको नेतृत्वमा नीति, सहकार्य र व्यावहारिक कार्यान्वयनसम्म पुर्याउने वालिङको यो पहलले एक स्वास्थ्यको स्थानीयकरणमा नयाँ सिकाइको आधार तयार गरेको छ।