आज नेपाल सरकार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको अभिभावकत्वमा 'प्रकृति अनुकूल आहार, औषधि र विहार: रोगमुक्त समाजको आधार' भन्ने आदर्श वाक्य-धुन-ट्युनका साथ नागरिक स्वास्थ्य सचेतनासँगै स्वास्थ्य प्रवर्द्धनको मुख्य लक्ष्य राखेर २७औँ राष्ट्रिय आरोग्य दिवस एवं धन्वन्तरि जयन्ती मनाइँदै छ।
सन्तुलित आहार, योग ध्यान, व्यायाम र आयूर्वेदीय जीवनशैली अपनाऔँ, स्वस्थ रहौँ, नसर्ने रोग र मानसिक तनावजन्य रोगबाट बचौँ भन्ने ऋषि धन्वन्तरिको धेरै वर्ष पहिलेको वैज्ञानिक अन्वेषणको महत्व अहिले झनै बढेर गइरहेको छ।
मानव सभ्यताको अध्ययन गर्दा पृथ्वी सृष्टिको केही समयपछि पृथ्वी लोकमा विभिन्न किसिमका जीवजन्तु, सजीव प्राणीका साथै मानव जातिको विकास भएको पाइन्छ। त्यो समयमा पृथ्वीमा धेरै भाग पानी र समुद्र सतहले ओगटेको थियो। इतिहासको अध्ययन गर्दा मानव जातिको क्रमागत विकाससँग दुई किसिमका संस्कृति जोडिएका थिए। जसमध्ये एउटा देवता र ऋषि संस्कृति थियो भने अर्को दैत्य र राक्षसहरूको। देवता र ऋषि संस्कृति तथा दैत्य र राक्षस प्रवृत्तिबीच बेलाबेलामा द्वन्द्व र लडाइँहरू चलिरहन्थे। पटकपटकका द्वन्द्वबाट कुनै पनि उपलब्धि नभेटिने देखेपछि दुवै पक्षबीच समुद्र मन्थन गर्ने निष्कर्ष निस्क्यो। समुद्र मन्थनको साझा प्रयास पछि ऋषिहरू र दैत्यहरू समुद्र मन्थनमा सहभागी भए। समुद्र मन्थनको क्रममा धन्वन्तरि नाम गरेका ऋषि दुवै हातमा अमृत कलश लिएर प्रकट भए। जुन कलशमा चार वटा भुजाहरु थिए। चार भुजा मध्ये माथिल्लो दुई भुजामा शंख र चक्र थिए भने अन्य दुई भुजामा एउटामा जलौका (जुका) र अर्कोमा अमृत जल सहित विभिन्न किसिमका औषधिय वनस्पति, जडिबुटी, रस, रसायनहरू थिए। यसरी समुद्र मन्थन गरेर विभिन्न अनुसन्धानहरू पत्ता लागेको दिन कार्तिक कृष्ण पक्ष त्रयोदसी अर्थात् काग तिहारको दिन थियो। जुन विशेष दिनलाई धन्तेरस वा धन्वन्तरि जयन्ती भनेर मनाइन्छ त्यसैले ऋषि धन्वन्तरिलाई आयुर्वेदका प्रवर्तक वा जन्मदाता पनि भनिन्छ।
त्यसपछिको समय ऋषि धन्वन्तरिले पृथ्वीमा भएका विभिन्न किसिमका वनस्पति, जडिबुटी, रस, रसायनको अध्ययन गर्दै तिनमा भएका राम्रा नराम्रा गुण एवं औषधिय विशेषता पत्ता लगाई त्यो ज्ञान अन्य ऋषिहरू हुँदै आम नागरिक सम्म ल्याउने काम गरे। जसले रोगी व्यक्तिहरूको रोग न्यूनीकरण गर्न र निरोगी व्यक्तिहरूको स्वास्थ्यलाई चुस्त दुरुस्त राख्ने चिकित्सकीय सचेतता अभियानको सन्देश प्रवाह गर्यो। त्यसैले उक्त दिनलाई आरोग्य दिवस पनि भनिन्छ। आयुर्वेदको इतिहासलाई अध्ययन गर्दा विभिन्न ग्रन्थमा आयुर्वेद सम्बन्धी आलेखहरू उपलब्ध भएको उल्लेख गरिएतापनि आयुर्वेद विज्ञानको भरपर्दो र वैज्ञानिक ग्रन्थ धन्वन्तरि संहिता नै भएको प्रष्ट हुन्छ। आयुर्वेद विज्ञानका अन्य अनुसन्धान कर्ता चरक, सुश्रुत आदि ऋषिहरूले पनि आयुर्वेद ज्ञान धन्वन्तरि द्वारा नै प्राप्त गरेको विभिन्न अध्ययनहरूले पुष्टि गरेको पाइन्छ। धन्वन्तरिको समय इसा पूर्व ७ हजार वर्ष पहिला भएको थियो। उनी काशिका राजा धन्वका पुत्र थे।
उनले शल्य (चिरफार) मा समेत महत्वपूर्ण अध्ययन गरेका थिए। धन्वन्तरिका नाति दिबोदास धन्वन्तरिले त्यसलाई परिमार्जन गरि अहिलेको शल्य (सर्जरी) चिकित्साको विकास गरेका थिए। त्यसैले सर्जरी उपचारको पहिलो ज्ञाताको अभिभारा समेत धन्वन्तरि ऋषिलाई जाने गर्छ। बर्तमान समयमा आम नागरिक हामी सबै कुनै न कुनै रोग व्याधि र मनोत्रास जन्य मानसिक कारणले अस्वस्थ हुने क्रम दिन प्रतिदिन बढ्दै छ। कुनै पनि एउटा चिकित्सा पद्धति आम नागरिकमा देखिने फरक फरक किसिमका स्वास्थ्य समस्याहरू व्यवस्थापन गर्न अपुरो भएको हामी सबैले महसुस गरेको विषय हो। त्यसैले विभिन्न काल खण्डमा विभिन्न अनुसन्धान कर्ताहरूले अनुसन्धान गरेका चिकित्सा विधाहरू र योग ध्यानलाई समय सापेक्ष बनाउँदै अग्न बढ्न सकेमा रोग न्यूनीकरण र नागरिक स्वास्थ्य प्रवर्द्धनमा टेवा थपिने छ। जय धन्वन्तरि जय आरोग्य दिवस।
लेखक लुम्बिनी आयुर्वेद चिकित्सालय रुपन्देहीमा कार्यरत योग आयुर्वेद अभियान्ता हुन्।