जाजरकोट - जाजरकोट जिल्ला अस्पतालमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा एकै दिन २ हजार १५ जनाले स्वास्थ्य परीक्षण गराएका छन्। गिरिजाप्रसाद कोइराला फाउन्डेसनको आयोजना तथा काठमाडौं मेडिकल कलेज (केएमसी) को समन्वयमा बुधबार शिविर सञ्चालन गरिएको हो।
शिविरमा महिला, बालबालिका, ज्येष्ठ नागरिकसहित विभिन्न उमेर समूहका सर्वसाधारणले स्वास्थ्य सेवा लिएका थिए। शिविरमा १६५ जनाको ईसीजी, ३९८ जनाको भिडियो एक्सरे, १८३ जनाको प्रयोगशाला परीक्षण र १२९ जनाको इको परीक्षण गरिएको आयोजकले जनाएको छ। त्यस्तै, २९ जनाको दाँत निकालिएको छ भने थप उपचार आवश्यक देखिएका १६२ जनालाई काठमाडौं मेडिकल कलेजमा रिफर गरिएको छ।
कर्णालीका दुर्गम बस्तीमा विशेषज्ञ स्वास्थ्य सेवा पुर्याउने अभियानसहित जाजरकोट पुगेका नेपाली कांग्रेसका नेता तथा गिरिजाप्रसाद कोइराला फाउन्डेसनका सभापति डा. सुनील कुमार शर्मालाई स्थानीयले स्वागत गरेका थिए। शिविरमा डा. शर्मा आफैँ पनि बिरामीको अवस्था बुझ्न र सेवाग्राहीसँग कुराकानी गर्न खटिएका थिए।

शिविरमा स्वास्थ्य परीक्षण गराउन १८ कोस टाढाबाट दुई दिन लगाएर आएकी एक वृद्ध आमाले डा. शर्माप्रति व्यक्त गरेको आत्मीयताले उपस्थित सबैको ध्यान खिचेको थियो। डा. शर्माको हात समाउँदै ती आमाले आफूले नेपालमै यस्तो मनकारी चिकित्सक नदेखेको बताउँदै उनलाई आफ्नो सातौँ छोरा बनाएको बताएकी थिइन्।
‘मेरा ६ छोरा छन्, अब एक थपेर सात छोरा बनाएँ। तपाईंलाई केही अप्ठ्यारो पर्यो भने मेरा ६ छोरा पठाउँछु,’ उनले भनेकी थिइन्। आमाको यो अभिव्यक्तिले शिविरको वातावरण भावुक बनेको थियो।
शिविरमा सहभागी महिलाहरूले डा. शर्मालाई कटुस उपहार दिएका थिए। कटुस उपहार दिने महिलामध्ये एक जना २०७७ जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोतीमा भएको घटनामा मारिएका व्यक्तिका परिवारकी सदस्यसमेत रहेको आयोजकले जनाएको छ।
जाजरकोट पुगेका डा. शर्माले स्थानीय कांग्रेसका नेता–कार्यकर्ता तथा समाजका अगुवाहरूसँग पनि भेटघाट र छलफल गरेका थिए। कर्णालीका दुर्गम क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले फाउन्डेसन र केएमसीले विभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेका छन्।
अभियानअन्तर्गत मंसिर ११ गते डोल्पाको दुनै, मंसिर १३ गते रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–राडी बजार र मंसिर १५ गते सल्यानको बागचौर नगरपालिकामा शिविर सञ्चालन हुने जनाइएको छ।
शिविरमा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण, रोग पहिचान तथा चिकित्सकीय परामर्श दिइनेछ। थप उपचार आवश्यक पर्ने बिरामीलाई केएमसीमा रिफर गरिनेछ। रिफर भएका बिरामीको प्रत्यारोपण र ओपन हार्ट सर्जरीबाहेकका शल्यक्रिया निःशुल्क गरिने व्यवस्था रहेको छ। तर औषधिको खर्च भने बिरामी स्वयंले व्यहोर्नुपर्नेछ।
केएमसीले यसअघि पनि विभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ। आर्थिक अवस्था कमजोर भएका बिरामीलाई थप उपचार तथा शल्यक्रियामा सहयोग गर्ने कार्यक्रमसमेत सञ्चालन गर्दै आएको कलेजले जनाएको छ।