काठमाडौं- संयुक्त राज्य अमेरिकाले नेपालमा जीवनरक्षक सहायता तथा स्वास्थ्य सुरक्षा सुदृढीकरणका लागि ३ करोड ६० लाख अमेरिकी डलर (३६ मिलियन डलर) भन्दा बढी सहयोग उपलब्ध गराउने कार्यलाई निरन्तरता दिएको छ।
उक्त सहयोगअन्तर्गत बाढीपीडितका लागि आपत्कालीन राहतस्वरूप खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) कार्यक्रमका लागि संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) मार्फत २५ लाख अमेरिकी डलर (२.५ मिलियन डलर) विनियोजन गरिएको छ।
यसैगरी, ‘अमेरिका फर्स्ट ग्लोबल हेल्थ स्ट्राटेजी’ अन्तर्गत अमेरिकाले युनिसेफमार्फत नै मातृ तथा बाल स्वास्थ्य र पोषणका क्षेत्रमा थप १ करोड २० लाख अमेरिकी डलर (१२ मिलियन डलर) लगानी गरिरहेको छ।
सामाजिक सञ्जाल फेसबुकमा सहयोगका विषयमा जानकारी दिँदै नेपालस्थित अमेरिकी राजदूतावासले यी लगानीले दुवै देशलाई थप सुरक्षित र समृद्ध बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।