काठमाडौं- काठमाडौं महानगरपालिकाले अटिजम भएका बालबालिकाकालागि लक्षित छुट्टै विद्यालय र अनुसन्धान केन्द्र निर्माणको काम अगाडि बढाएको छ। महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले वडा नं. २९ मा अटिजम भएका बालबालिका, अभिभावक र जनप्रतिनिधिसहित अटिजम स्कूल तथा अनुसन्धान केन्द्रको बुधबार शिलान्यास गरेकी छिन्।
मंसिर ९ गते आयोजित समारोहबीच वडाध्यक्ष कुश ढकालसहित जनप्रतिनिधि र स्थानीयका साथमा भवन निर्माणका लागि जगपूजा तथा शिलान्यास गरिएको हो।
जगपूजा तथा शिलान्यासपछि बोल्दै कार्यवाहक प्रमुख डंगोलले सरकारबाट अटिजम भएका बालबालिकाका लागि स्कूल बनाउनु महानगरपालिकाले देखेको सपना र अभिभावकहरूले गरेको अपेक्षा पूरा हुने चरणमा पुगेको बताइन्।
'हामी काठमाडौंलाई समतामूलक, समावेशी, करुणा, ममता र मानवतामा आधारित सहर बनाउने प्रयासमा छौँ। यही क्रममा अटिजम भएका बालबालिकाका लागि स्कूल र अनुसन्धानका लागि भवन निर्माण गर्न लागेका हौँ,' उनले भनिन्, 'अटिजम र बौद्धिक अपाङ्गता भएका बालबालिकालाई छुट्याउन खोजिएको हो कि भन्ने पनि लाग्न सक्छ। तर, त्यसो होइन। सन्तुलित समाजका लागि फरक आवश्यकता भएका बालबालिकालाई समान सामाजिक व्यवहारका लागि योग्य बनाउन विशेष अभियान चलाएका हौँ।'

डंगोलले सरकार, अभिभावक र पेसाकर्मीको साझेदारीमा कार्यक्रमले दिगोपना प्राप्त गर्ने र फरक आवश्यकता भएकाहरूको चाहना पूर्ति गर्न सकिने बताइन्। 'विद्यालयको भौतिक संरचना पूरा हुञ्जेलसम्ममा सञ्चालन कार्यविधि तर्जुमा गरेर प्रणालीमा आधारित कार्यक्रम सञ्चालन गर्नेछौँ,' उनको भनाइ थियो।
कार्यक्रममा वडाध्यक्ष कुश ढकालले अटिजम भएका बालबालिकाको पीडाभन्दा बढी अभिभावकलाई पीडा हुने उल्लेख गर्दै अभिभावकको साथमा अटिजम स्कूल निर्माण हुनु वडावासीका लागि पवित्र काम र गौरवको योजना भएको बताए। 'हामीले थालेको यो कर्मबाट अन्य स्थानीय तहमा पनि अटिजम विद्यालय निर्माणमा प्रोत्साहन हुन सकोस्,' उनले भने।
वडाको प्रशासनिक भवनको पूर्वतर्फ निर्माण हुने भवन ४५० दशमलव ८० वर्गमिटर क्षेत्रफलमा बन्नेछ। भवनका डिजाइनर इन्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार भवनको लम्बाइ ९२ फिट र चौडाइ पूर्वतर्फ ३५ फिट तथा पश्चिमतर्फ २२ फिट हुनेछ। १७ मिटर उचाइको पाँचतले भवनका हरेक तला तीन हजार वर्गफिटका हुनेछन्। तीन हजार पाँच सय वर्गफिटको भूमिगत तलासहित भवन १८ हजार पाँच सय वर्गफिटको हुनेछ।
भवनको भूमिगत तलामा ३० वटा दुईपाङ्ग्रे सवारीसाधन पार्किङ गर्ने व्यवस्था हुनेछ। भुइँतलामा खुला भाग, भर्याङ, लिफ्ट र मुख्य प्रवेशद्वार रहनेछ। पहिलो, दोस्रो र तेस्रो तलामा तालिम तथा प्रशिक्षण कक्ष रहनेछन् भने चौथो तलामा प्रशासन र अनुसन्धान कक्ष तथा पाँचौँ तलामा बार्दली रहनेछ।
भुइँतलामा बालबालिका खेल्ने खुला भाग रहनेछ। लिफ्ट आठ जना क्षमताको हुनेछ भने शौचालय तथा कोठाहरू पहुँचयुक्त हुनेछन्। भवनको डिजाइन सार्वजनिक निर्माण विभागबाट तयार गरिएको हो।
भवन निर्माणका लागि १० करोड ९१ लाख ७९ हजार ६०२ रुपियाँ लागत अनुमान गरिएकामा सार्वजनिक खरिद प्रक्रियाबाट ९ करोड ७७ लाख ४५ हजार ६२६ रुपियाँमा सम्झौता भएको छ। निर्माण पक्षलाई २०८३ मंसिर ३ गते कार्यादेश दिइएको र २०८४ चैत मसान्तभित्र निर्माण सम्पन्न गरिसक्नुपर्नेछ।

काठमाडौंमा अटिजम भएका बालबालिका तथा उनीहरूका अभिभावकको सहयोग र सेवाको आवश्यकता बढ्दै गएको छ। समारोहमा सहभागी अभिभावकहरू भावुक र हर्षित देखिएका थिए। अभिभावक सुनिता प्याकुरेलले भने, 'हामीलाई बल्ल सास फेर्न सजिलो हुनेभयो।'
अर्का अभिभावक मीना ढुङ्गानाले भन्छिन् 'मेरो छोरो छिटो जन्मिएछ। अहिले भएको भए मलाई कति सजिलो हुन्थ्यो होला। मेरो छोरो ३२ वर्षको भयो। उसको मैले नै पूरै समय सेवा गर्नुपर्छ, मैले अरू केही गर्न पाइन। अहिले भएको भए त केही गर्ने अवसर पनि पाइने रहेछ। महानगरपालिकाले हाम्रो लागि काम गरेको छ, खुसीको सीमा रहेन।'
यस्तै अभिभावक मिसान वान्तावाले भन्छन् 'सरकारले दिएको ठाउँ नहुँदा आर्थिक बोझ बोक्न सक्ने नै थिएन। निजी क्षेत्रमा गयो भने ४० हजार र ४५ हजार रुपियाँ मासिक खर्च देखाउँछन्। यो त बेहोर्नै सकिँदैन। यसैले महानगरपालिका त हाम्रा लागि अभिभावक मात्र होइन, जीवनदाता नै भएको छ।'
महानगरपालिकाले निर्माण गर्ने यो भवन अटिजम भएका विद्यार्थीको सिप तथा ज्ञान अभिवृद्धि गर्न, तालिम तथा अध्ययन–अनुसन्धान गर्न र अभिभावकको सहायताका लागि बहुउपयोगी स्थान बन्नेछ। अटिजम केयर नेपालका अध्यक्ष डा. सुनिता मलेखु अमात्यले 'हामीले महानगरपालिकाको अभिभावकत्व पाएका छौँ, हर्षविभोर भयौँ' भनिन्। विशेष स्कूल तथा पुनःस्थापना केन्द्रका अध्यक्ष सविता उप्रेतीले सरकार, अभिभावक र बालबालिकालाई एउटै ठाउँमा जोड्ने महानगरपालिकाको पहल प्रशंसनीय रहेको बताइन्।
अभानी फाउन्डेसन, फ्रेन्ड्स अफ प्यारेन्ट्स अफ चिल्ड्रेन विथ अटिजम, नेपाल अटिजम विद्यालय, असंवादी कल्याण सङ्घ, निर्मल बाल विकास विद्यालय र किवानिज इन्टरनेसनललगायत अटिजम तथा बौद्धिक अपाङ्गताको क्षेत्रमा कार्यरत सङ्घसंस्थाका प्रतिनिधिहरूले पनि खुसी व्यक्त गरे।
अभिभावक लीलानाथ कँडेल भन्छन् 'परिवारमा एक जनालाई अटिजम छ भने पूरै परिवार नै समस्याग्रस्त हुन्छ। जागिर तथा अन्य पेसा चलाउन कठिन हुन्छ। महानगरपालिकाले अटिजम स्कूल बनाउने भएपछि हामीलाई ठूलो सास आयो, अब चाहिँ गरिखान पाइन्छ भन्ने आशा जागेको छ।' अर्का अभिभावक अजय घिमिरेले सामाजिक समस्यालाई महानगरपालिकाले महसुस गरेकामा शब्दमा व्यक्त गर्न नसकिने आभार प्रकट गरे।
कार्यक्रममा वडा सदस्य रेनु श्रेष्ठले वडावासीका लागि गौरवको योजना कार्यान्वयन हुन लागेको बताइन् भने वडा सचिव शम्भु बरालले भवन निर्माण कार्यले लोककल्याणकारी राज्यको गहन सन्देश प्रवाह गरेको धारणा राखे।
