काठमाडौँ- जबरजस्ती करणीसम्बन्धी मुद्दामा पीडितको स्वास्थ्य परीक्षण गर्दा गलत प्रतिवेदन दिने चिकित्सकलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्न सकिने न्यायिक सिद्धान्त स्थापित भएको छ। सर्वोच्च अदालतले चिकित्सकको व्यावसायिक निर्णय र सामान्य प्राविधिक त्रुटिभन्दा बाहिर गएर बदनियतपूर्वक गलत स्वास्थ्य परीक्षण प्रतिवेदन तयार पारेको अवस्थामा भ्रष्टाचारसम्बन्धी कानुनअनुसार कारबाही गर्न सकिने ठहर गरेको हो।
जनकपुरधाममा एक नाबालिका पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदनसँग सम्बन्धित मुद्दामा चिकित्सकद्वय डा. विजयकुमार सिंह र डा. रम्भा गोइतलाई गलत प्रतिवेदन दिएको अभियोगमा दोषी ठहर गरिएको हो। अदालतले यससँगै यौनजन्य अपराधका पीडितको स्वास्थ्य परीक्षण, कन्याजाली परीक्षण र मेडिको–लिगल प्रणाली सुधारका सम्बन्धमा निर्देशनात्मक आदेशसमेत दिएको छ।
के थियो घटना?
जनकपुरधाम, धनुषाका चिकित्सकद्वय डा. विजयकुमार सिंह र डा. रम्भा गोइतले २०७५ भदौ १९ गते जबरजस्ती करणीको आरोप लागेकी एक नाबालिकाको स्वास्थ्य परीक्षण गरेका थिए। उनीहरूले परीक्षणका क्रममा देखिएका वास्तविक अवस्था उल्लेख नगरी अवास्तविक तथा गलत विवरणसहित प्रतिवेदन तयार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ (२) अनुसार मुद्दा दायर गरेको थियो।
विशेष अदालत काठमाडौँले २०७६ पुस १ गते दुवै चिकित्सकलाई दोषी ठहर गर्दै जनही ६ महिना कैद र २५ हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो।
उक्त फैसलाविरुद्ध चिकित्सकद्वयले पुनरावेदन गरेका थिए। उनीहरूले आफूहरूले बदनियतपूर्वक तथ्य लुकाएर गलत प्रतिवेदन नदिएको, परीक्षणका क्रममा कन्याजाली पुरानो च्यातिएको देखिए पनि कोतारिएको, सुन्निएको, रक्तस्राव भएको वा रातो डाम देखिएको नपाइएकाले ‘नर्मल’ उल्लेख गरेको जिकिर गरेका थिए।
उनीहरूले आफूहरू मेडिको–लिगल परीक्षणसम्बन्धी विशेष तालिमप्राप्त विशेषज्ञ नभएको र सरकारी अस्पतालमा विशेषज्ञ चिकित्सकको अभावका कारण परीक्षण गर्नुपरेको भन्दै प्राविधिक वा व्यावसायिक कमजोरीलाई भ्रष्टाचारको कसुर मान्न नमिल्ने तर्क गरेका थिए।
तर अदालतले चिकित्सकीय रायमा सामान्य मतभिन्नता हुनु र बदनियतपूर्वक गलत प्रतिवेदन तयार गर्नु फरक विषय भएको व्याख्या गरेको छ।
चिकित्सकीय राय मात्रै भन्दै उन्मुक्ति नपाइने
चिकित्सकहरूले स्वास्थ्य परीक्षणपछि तयार गरेको कागजातलाई केवल चिकित्सकीय राय भन्दै भ्रष्टाचार निवारण ऐनको दफा १९ (२) आकर्षित नहुने जिकिर गरेका थिए।
तर अदालतले सरकारी निकायको कामको सिलसिलामा परीक्षण तथा जाँचबुझ गरी सम्बन्धित निकायमा पेस गरिने चिकित्सकीय निष्कर्षसहितको दस्ताबेजलाई प्रतिवेदनकै रूपमा लिनुपर्ने व्याख्या गरेको छ।
जबरजस्ती करणीसम्बन्धी मुद्दामा पीडितको शारीरिक परीक्षण गरी तयार गरिने प्रतिवेदन अनुसन्धान तथा न्यायिक प्रक्रियाका लागि महत्वपूर्ण प्रमाण हो। त्यसैले चिकित्सकले परीक्षणबाट प्राप्त तथ्य र निष्कर्षलाई वस्तुनिष्ठ रूपमा अभिलेख गर्नुपर्ने अदालतको दृष्टिकोण छ।
प्रतिवेदनमा गलत विवरण राखिएको वा वास्तविक अवस्था लुकाइएको पुष्टि भएमा त्यसलाई सामान्य व्यावसायिक मतभिन्नता मात्र भनेर उन्मुक्ति दिन नसकिने ठहर गरिएको छ।
बदनियत प्रमाणित भए चिकित्सक पनि फौजदारी दायित्वमा
यस मुद्दामा चिकित्सकको व्यावसायिक स्वतन्त्रता र फौजदारी उत्तरदायित्वको सीमाबारे पनि व्याख्या गरिएको छ।
चिकित्सकले परीक्षणका क्रममा गरेको हरेक त्रुटि वा चिकित्सकीय रायमा देखिएको भिन्नतालाई भ्रष्टाचारको कसुर मान्न नमिल्ने भए पनि जानाजानी गलत प्रतिवेदन तयार गरेको अवस्थामा व्यावसायिक उन्मुक्तिको दाबी गर्न नसकिने अदालतको दृष्टिकोण छ।
अभियोजन पक्षले नेपाल मेडिकल काउन्सिलको छानबिन प्रतिवेदनलाई आधार बनाउँदै चिकित्सकहरूले नाबालिकाको परीक्षण गर्दा अपनाउनुपर्ने संवेदनशीलता र न्यूनतम प्रक्रिया पालना नगरेको तथा प्रतिवेदन ११ दिनसम्म अनुसन्धान अधिकारीलाई नपठाएको विषयलाई बदनियतको आधारका रूपमा प्रस्तुत गरेको थियो।
त्यसैगरी, सर्वोच्च अदालतको ने.का.प. २०७५, अङ्क ११, निर्णय नं. १०१४२ मा प्रतिपादित सिद्धान्तसमेत उल्लेख गर्दै भ्रष्टाचारजन्य कसुर आर्थिक लाभमा मात्र सीमित नहुने तर्क गरिएको थियो।
नेपाल मेडिकल काउन्सिलको आचारसंहिता, २०१७ ले चिकित्सकलाई व्यावसायिक निर्णय गर्ने स्वतन्त्रता दिए पनि तथ्यगत शुद्धता, व्यावसायिक इमानदारिता र गलत प्रमाणपत्र जारी नगर्ने दायित्व तोकेको छ। गलत प्रमाणपत्र जारी गर्ने र भ्रामक सूचना दिने कार्यलाई आचारसंहिताविपरीत मानिएको छ।
विवाहित तथा नियमित यौनसम्पर्क गर्ने महिलाको कन्याजाली परीक्षण नगर्न निर्देशन
फैसलाको महत्वपूर्ण पक्ष यौनजन्य अपराधका पीडितको स्वास्थ्य परीक्षणका क्रममा कन्याजाली (हाइमन) परीक्षणको औचित्य र आवश्यकतासम्बन्धी निर्देशन हो।
कन्याजालीको अवस्था मात्रका आधारमा जबरजस्ती करणी भएको वा नभएको निष्कर्ष निकाल्न नसकिने चिकित्सकीय मान्यतालाई ध्यानमा राख्दै अदालतले विवाहित वा नियमित यौनसम्पर्क गर्ने महिलाको हकमा कन्याजाली परीक्षण नगर्नुपर्ने विषय स्पष्ट पारेको छ।
कन्याजालीको अवस्था यौनसम्पर्क भएको वा नभएको प्रमाणित गर्ने निर्णायक आधार होइन। त्यसैले यौनजन्य हिंसाका पीडितको परीक्षण गर्दा अनावश्यक परीक्षणबाट उनीहरूको शारीरिक तथा मानसिक गरिमामा असर पुग्न नदिनुपर्ने विषयमा जोड दिइएको छ।
त्यस्तै, पीडितको स्वास्थ्य परीक्षण गर्दा सूचित सहमति (इन्फर्म्ड कन्सेन्ट), चिकित्सकीय मर्यादा र वैज्ञानिक परीक्षण विधि अवलम्बन गर्नुपर्ने निर्देशन दिइएको छ।
मेडिको–लिगल प्रणाली सुधार्न निर्देशनात्मक आदेश
अदालतले मेडिको–लिगल परीक्षणलाई थप व्यवस्थित, वैज्ञानिक र विश्वसनीय बनाउन सम्बन्धित निकायलाई निर्देशनात्मक आदेश दिएको छ।
यौनजन्य अपराधका पीडितको स्वास्थ्य परीक्षण, प्रमाण सङ्कलन, अभिलेखीकरण, प्रतिवेदन तयारी, प्रमाणको संरक्षण तथा अदालतमा विशेषज्ञ साक्षी प्रस्तुत गर्ने प्रक्रियालाई व्यवस्थित गर्न स्पष्ट कार्यविधि (एसओपी), निर्देशिका तथा प्रोटोकल तयार गरी कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।
यसका साथै चिकित्सकलाई मेडिको–लिगल परीक्षणसम्बन्धी आवश्यक तालिम तथा दक्षता उपलब्ध गराउने, परीक्षणका क्रममा पीडितको गरिमा र अधिकार संरक्षण गर्ने तथा प्रतिवेदनको वैज्ञानिक विश्वसनीयता कायम गर्ने विषयमा समेत सुधार आवश्यक रहेको देखाइएको छ।
विशेष अदालतको फैसलामा सर्वोच्च अदालतबाट केही उल्टी गर्दै चिकित्सकद्वयलाई जनही तीन महिना कैद र २० हजार रुपैयाँ जरिवाना हुने ठहर गरिएको छ।
फैसलाले मेडिको–लिगल परीक्षणमा चिकित्सकको व्यावसायिक स्वतन्त्रता सुरक्षित रहनुपर्ने भए पनि त्यसको नाममा जानाजानी गलत प्रतिवेदन तयार गर्ने कार्यले कानुनी उन्मुक्ति नपाउने सन्देश दिएको छ। यसले एकातिर यौनजन्य हिंसाका पीडितको न्याय प्राप्तिमा चिकित्सकीय प्रमाणको विश्वसनीयता बढाउने र अर्कोतिर इमानदार चिकित्सकलाई सामान्य प्राविधिक त्रुटिका आधारमा अनावश्यक फौजदारी कारबाहीमा पर्ने जोखिमबाट जोगाउने अपेक्षा गरिएको छ।