काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा मन्त्रिपरिषद्का सदस्यहरूको मर्यादाक्रम हेरफेर गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार मौजुदा मन्त्रिपरिषद्का सदस्यहरूको वरीयताक्रम परिवर्तन गरेका हुन्।
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार नयाँ मर्यादाक्रममा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमको वरीयता बढेको छ। यसअघि सातौँ स्थानमा रहेकी गौतम तेस्रो वरीयतामा उक्लिएकी छन्।
नयाँ मर्यादाक्रममा प्रधानमन्त्री बालेन्द्र शाह पहिलो र अर्थमन्त्री डा. स्वर्णिम वाग्ले दोस्रो स्थानमा यथावत् छन्।
गौतम तेस्रो स्थानमा उक्लिएपछि यसअघि तेस्रो वरीयतामा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल चौथो स्थानमा पुगेका छन्। त्यसैगरी ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ पाँचौँ, गृहमन्त्री सुधन गुरुङ छैटौँ र पूर्वाधार विकासमन्त्री सुनिल लम्साल सातौँ स्थानमा छन्।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको मर्यादाक्रममा भने कुनै परिवर्तन भएको छैन। उनी यसअघिकै एघारौँ वरीयतामा कायम छन्।
यसैगरी विज्ञानमन्त्री महावीर पुन आठौँ, महिलामन्त्री सीता बादी नवौँ र भूमिव्यवस्थामन्त्री प्रतिभा रावल दसौँ वरीयतामा यथावत् छन्।
बाह्रौँदेखि सत्रौँ वरीयतासम्म रहेका अन्य मन्त्रीहरूको मर्यादाक्रममा समेत कुनै परिवर्तन गरिएको छैन।