धनगढी — शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय (गेटा) का पदाधिकारी हटाउने गरी अध्यादेशमार्फत ऐन संशोधन गर्ने चर्चा चलिरहेका बेला सुदूरपश्चिमका एमाले र माओवादी निकट विद्यार्थी संगठनले सरकारको ध्यानाकर्षण गराएका छन्।
अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेश समिति र अनेरास्ववियु सुदूरपश्चिम प्रदेश समितिले संयुक्त रूपमा जिल्ला प्रशासन कार्यालय कैलालीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउँदै विश्वविद्यालयका पदाधिकारीलाई विस्थापित गर्ने उद्देश्यले ऐन संशोधन प्रक्रिया अघि नबढाउन माग गरेका हुन्।
२०८३ मंसिर ९ गते बुझाइएको ज्ञापनपत्रमा विश्वविद्यालयको स्वायत्तता, संस्थागत स्थायित्व र शैक्षिक उपलब्धिमाथि हस्तक्षेप नगर्न सरकारसँग आग्रह गरिएको छ।
प्रधानमन्त्रीको अध्यक्षतामा गत असोज ३० गते बसेको चिकित्सा शिक्षा आयोगको बैठकले गेटामा एमबीबीएसलगायत स्वास्थ्य विज्ञानका विभिन्न शैक्षिक कार्यक्रमका लागि ९० सिट निर्धारण गरेको विषयलाई विद्यार्थी संगठनले ऐतिहासिक उपलब्धिका रूपमा उल्लेख गरेका छन्।
तर, नेपाल सरकार र डा. गोविन्द केसीबीच भएको सम्झौतामा विश्वविद्यालयका लागि निर्धारण गरिएका ९० सिटको निर्णय पुनः छानबिन गर्ने विषय समावेश हुनु र पदाधिकारीको योग्यता तथा नियुक्तिसम्बन्धी व्यवस्था संशोधन गरी नयाँ नियुक्ति प्रक्रिया अघि बढाउने सहमति हुनुले विद्यार्थीमा चिन्ता बढाएको ज्ञापनपत्रमा उल्लेख छ।
खुला प्रतिस्पर्धा र स्थापित विधिअनुसार नियुक्त भएका पदाधिकारीलाई हटाउनुपर्ने आवश्यकता र औचित्य सरकारले स्पष्ट पार्नुपर्ने विद्यार्थी संगठनको माग छ। वर्तमान ऐनमा के कमजोरी छ र त्यसले विश्वविद्यालयको शैक्षिक गुणस्तर तथा कार्यसम्पादनमा कस्तो असर पारेको छ भन्ने विषयमा सरकारले ठोस कारण र तथ्य सार्वजनिक नगरेको उनीहरूको भनाइ छ।
ऐन संशोधन आवश्यक भए सरोकारवालासँग पर्याप्त छलफल र कानुनी प्रक्रियाबाट अघि बढ्नुपर्ने उनीहरूको माग छ। स्पष्ट आधारबिना अध्यादेशमार्फत ऐन संशोधन गर्दा विश्वविद्यालयको स्वायत्तता र संस्थागत स्थायित्व कमजोर हुने उनीहरूले बताएका छन्।
त्यस्तै, विश्वविद्यालयको वर्तमान संरचना र पहिचान कमजोर पार्दै भविष्यमा पुनः प्रतिष्ठानको संरचनामा लैजाने रणनीति त होइन भन्ने आशंकासमेत विद्यार्थी संगठनले व्यक्त गरेका छन्।
ज्ञापनपत्रमा चारबुँदे माग अघि सारिएको छ। जसमा विश्वविद्यालयका लागि निर्धारण गरिएका ९० सिट कटौती वा खारेज नगरी शैक्षिक कार्यक्रम तत्काल सञ्चालन गर्नुपर्ने, खुला प्रतिस्पर्धाबाट नियुक्त पदाधिकारीलाई हटाउने उद्देश्यले ऐन संशोधन गरी नयाँ नियुक्ति प्रक्रिया अघि बढाउने कार्य रोक्नुपर्ने माग छन्।
त्यसैगरी विश्वविद्यालयको स्वायत्तता र संस्थागत स्थायित्वमा असर पर्ने निर्णय नगर्न तथा विश्वविद्यालयको वर्तमान संस्थागत संरचना, पहिचान र विश्वविद्यालयकै रूपमा विकास गर्ने मूल उद्देश्यमा हस्तक्षेप नगर्न सरकारसँग आग्रह गरिएको छ।
विद्यार्थी संगठनले माग सम्बोधन नभए विद्यार्थी, अभिभावक, नागरिक समाज र सुदूरपश्चिमवासीको सहभागितामा शान्तिपूर्ण तथा सशक्त आन्दोलनका कार्यक्रम अघि बढाउने चेतावनीसमेत दिएका छन्।
ज्ञापनपत्रमा अखिल (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेश समितिका तर्फबाट वीरबहादुर थापा र अनेरास्ववियु सुदूरपश्चिम प्रदेश समितिका तर्फबाट रोहित बोगटीले हस्ताक्षर गरेका छन्।

-1795694308.jpeg)