विश्वमै मस्तिष्कघात दीर्घकालीन अपाङ्गताको प्रमुख कारणमध्ये एक हो। यसले मृत्युको जोखिम बढाउनुका साथै व्यक्तिको हिँडडुल गर्ने क्षमता, बोली, निल्ने प्रक्रिया, शरीरको सन्तुलन र दैनिक गतिविधिमा समेत असर पार्छ। आधुनिक औषधोपचारले मस्तिष्कघातको आपत्कालीन व्यवस्थापनमा उल्लेखनीय प्रगति गरेको छ। तर, मस्तिष्कघातपछि बाँचेकाहरूको गुमेको क्षमता पुनः फर्काउनु र उनीहरूलाई पुरानै जीवनशैलीमा फर्काउनु अझै पनि चुनौतीपूर्ण छ।
अब एउटा महत्त्वपूर्ण प्रश्न उठ्छ– के मस्तिष्कघातबाट क्षति पुगेको मस्तिष्कलाई पुनः सक्रिय बनाउन र यसका गुमेका कार्यहरू पुनः प्राप्त गर्न सकिन्छ त? यसको उत्तर आधुनिक स्नायु विज्ञानको एउटा महत्त्वपूर्ण खोज न्युरोप्लास्टिसिटीले आंशिक रूपमा दिन सक्छ।
के हो न्युरोप्लास्टिसिटी?
न्युरोप्लास्टिसिटी भन्नाले मस्तिष्कको पुनःसंरचना गर्ने र आफ्नो कार्यक्षमतामा परिवर्तन ल्याउन सक्ने क्षमतालाई बुझिन्छ। विभिन्न प्रकारका सिकाइ, अनुभव, चोटपटक वा मस्तिष्कमा हुने परिवर्तनका कारण मस्तिष्कले आफ्ना स्नायुकोषहरूबीचको सम्बन्धलाई पुनःस्थापित गर्न सक्छ। अर्कोतर्फ, विद्यमान स्नायु मार्गहरूमा परिवर्तन गरी नयाँ कार्य गर्ने क्षमता पनि विकास गर्न सक्छ।
मस्तिष्कघातपछि क्षति नभएका बाँकी स्वस्थ भागहरूले क्षतिग्रस्त भागले पहिले गर्ने कार्यहरूमा सहयोग पुर्याउन सक्छन्। पटक–पटक गरिने शारीरिक अभ्यास, संवेदनात्मक उत्तेजना, दैनिक क्रियाकलापमा आधारित अभ्यास तथा व्यवस्थित पुनर्स्थापनाले मस्तिष्कको अनुकूलन क्षमतालाई विकास गर्न मद्दत गर्छन्।
अमेरिकन स्ट्रोक एसोसिएसनको सन् २०२६ को मार्गदर्शन तथा क्यानडियन स्ट्रोक प्रोटोकल, २०२५ अनुसार मस्तिष्कघातपछि पुनर्स्थापना जति छिटो सम्भव हुन्छ, त्यति नै चाँडो सुरु गर्नुपर्छ। पहिलो २४ घण्टामा मस्तिष्कको आपत्कालीन उपचार गरी स्नायुकोषहरू बचाउनु र थप क्षति हुनबाट रोक्नु आवश्यक हुन्छ। बिरामीको अवस्था स्थिर भएपछि सामान्यतया २४–४८ घण्टाभित्र सावधानीपूर्वक पुनर्स्थापना सुरु गर्न सकिन्छ।
अध्ययनअनुसार मस्तिष्कघातपछिको पहिलो एकदेखि तीन महिना पुनर्स्थापनाका लागि सबैभन्दा महत्त्वपूर्ण समय हो। यस अवधिमा मस्तिष्कको अनुकूलन क्षमता सक्रिय हुन्छ। न्युरोप्लास्टिसिटी, सिन्याप्टिक प्लास्टिसिटी, कार्यात्मक पुनःक्षमताको विकास तथा मोटर लर्निङ जस्ता प्रक्रिया यही समयमा तीव्र हुन सक्छन्।
तर, यसको अर्थ तीन महिनापछि पुनर्स्थापनाको आवश्यकता हुँदैन भन्ने होइन। पुनर्स्थापना उपचार निरन्तर जारी राखेमा महिनौँदेखि वर्षौंसम्म पनि कार्यक्षमतामा उल्लेखनीय सुधार आउन सक्छ।
स्ट्रोक पुनर्स्थापनामा अकुपञ्चर किन गर्ने त?
आधुनिक स्नायु विज्ञानको दृष्टिकोणबाट पनि अकुपञ्चरको वैज्ञानिक अध्ययन र अनुसन्धान तीव्र रूपमा भइरहेको छ। सन् २०२६ मा प्रकाशित अध्ययन तथा अनुसन्धानअनुसार मस्तिष्कघात भएका बिरामीमा अकुपञ्चर उपचारपछि मस्तिष्कको ग्रे म्याटरको मात्रा तथा स्नायु प्रणालीको कार्यात्मक गतिविधिमा परिवर्तन भएको देखिएको छ। यी परिवर्तनहरू मोटर कार्यक्षमतामा आएको सुधारसँग सम्बन्धित रहेको उल्लेख गरिएको छ।
यसैगरी, सन् २०२४ मा चार हजार ४८५ जना स्ट्रोकका बिरामी समावेश गरिएको व्यवस्थित समीक्षात्मक अध्ययन तथा मेटा–विश्लेषणले पनि अकुपञ्चर उपचारले स्नायुजन्य कमजोरी, अपाङ्गताको अवस्था तथा दैनिक क्रियाकलाप गर्ने क्षमतामा सुधार ल्याउन सक्ने देखाएको छ।
न्युरोइमेजिङ प्रविधिमार्फत अकुपञ्चर उपचारपछि मस्तिष्कको गतिविधि तथा संरचनामा हुने परिवर्तनबारे गरिएका थप अध्ययनले पनि मस्तिष्कघातपछिको पुनर्स्थापनामा अकुपञ्चरको सम्भावित भूमिकालाई उजागर गरेका छन्।
मस्तिष्कघातपछिको पुनर्स्थापनामा अकुपञ्चरले कसरी काम गर्छ?
अकुपञ्चरले मस्तिष्कघातपछि स्नायु प्रणालीको पुनर्स्थापनामा विभिन्न स्नायु–जैविक प्रक्रियामार्फत सहयोग पुर्याउन सक्छ भन्ने कुरा विभिन्न वैज्ञानिक अध्ययनले देखाएका छन्। यसको सम्भावित प्रभाव मस्तिष्कको न्युरोप्लास्टिसिटी, रक्तसञ्चार, सूजन नियन्त्रण तथा स्नायु सञ्जालको पुनर्गठनसँग सम्बन्धित रहेको पाइएको छ।
१. न्युरोप्लास्टिसिटी – मस्तिष्कको पुनर्गठन
अकुपञ्चरले स्नायुकोषहरूको सक्रियता तथा सिन्याप्टिक प्लास्टिसिटीलाई प्रोत्साहन गर्न सक्छ। यसले बाँकी रहेका स्वस्थ स्नायुकोषहरूबीचको सम्पर्क र सम्बन्धलाई बलियो बनाउन सहयोग पुर्याउन सक्छ। फलस्वरूप, मस्तिष्कले क्षतिग्रस्त स्नायु मार्गको विकल्पमा नयाँ स्नायु मार्ग विकास गरी कार्यक्षमतामा सुधार ल्याउन सक्छ।
२. मस्तिष्कमा रक्तसञ्चार वृद्धि
अकुपञ्चरले मस्तिष्कको रक्तसञ्चार तथा रक्तनलीको प्रतिक्रियालाई नियमन गर्न सहयोग गर्न सक्छ। यसले अक्सिजनको आपूर्ति प्रभावित भएको क्षेत्र वरिपरिका केही भागमा रक्तप्रवाह सुधार गर्न तथा नयाँ रक्तनली निर्माणको प्रक्रियालाई प्रोत्साहन गर्न सक्ने कुरा केही अध्ययनले देखाएका छन्।
३. स्नायुकोषहरूको संरक्षण
अकुपञ्चरले स्नायुकोषहरूको अनावश्यक मृत्यु कम गर्न सहयोग पुर्याउन सक्छ। यसले मस्तिष्कघातपछि थप क्षति हुनबाट बाँकी रहेका स्नायुकोषहरूको संरक्षणमा सम्भावित भूमिका खेल्छ। वैज्ञानिक अध्ययनहरूले रक्त–मस्तिष्क अवरोधको संरक्षणमा समेत यसको सम्भावित प्रभाव देखाएका छन्।
४. सूजन नियन्त्रण
मस्तिष्कघातपछि मस्तिष्कको तन्तुमा सूजनसम्बन्धी प्रतिक्रिया उत्पन्न हुन्छ। अकुपञ्चरले सूजन गराउने जैविक तत्त्वहरू तथा माइक्रोग्लियाको सक्रियतालाई नियमन गर्न सक्ने अध्ययनहरूले देखाएका छन्।
५. स्नायु विकासमा सहयोग गर्ने तत्त्वहरू
अकुपञ्चरले ब्रेन डिराइभ्ड न्युरोट्रोफिक फ्याक्टरको उत्पादन बढाउन सहयोग गर्न सक्छ। यसले स्नायुकोषहरूको जीवन रक्षा, नयाँ सिन्याप्स निर्माण तथा न्युरोप्लास्टिसिटीमा सहयोग गर्छ।
त्यस्तै, भास्कुलर इन्डोथेलियल ग्रोथ फ्याक्टरले नयाँ रक्तनली निर्माण तथा रक्तनलीको पुनःस्थापनामा भूमिका खेल्न सक्छ।
६. स्नायु सञ्जालको नियमन
अकुपञ्चरले मस्तिष्कको मोटर कोर्टेक्स तथा अन्य स्नायु केन्द्रहरूको गतिविधिलाई नियमन गर्न सक्छ। यसले मोटर कोर्टेक्स, सेरिबेलम तथा बेसल ग्याङ्ग्लियाबीचको कार्यात्मक सम्पर्क सुधार गर्न सहयोग पुर्याउन सक्छ। फलस्वरूप, शरीरको सन्तुलन, चालढाल, समन्वय तथा दैनिक क्रियाकलापको पुनर्स्थापनामा योगदान पुग्न सक्छ।
सिङ नाओ खाई छियाओ अकुपञ्चर विधि के हो?
सन् १९७२ मा चीनको थियान्जिन युनिभर्सिटीका प्राध्यापक शी स्वेमिनले विकास गरेको सिङ नाओ खाई छियाओ विधिको शाब्दिक अर्थ मस्तिष्कलाई जागृत गर्ने र चेतनाका द्वार खोल्ने भन्ने हुन्छ।
यो विधि मस्तिष्कघातपछिको पुनर्स्थापनामा प्रयोग गरिने अकुपञ्चरको एक विशेष पद्धति हो। न्युरोप्लास्टिसिटी तथा स्नायु प्रणालीको पुनःस्थापनामा यसको सम्भावित प्रभावबारे अध्ययन भइरहेका छन्।
सन् २०२२ मा प्रकाशित क्लिनिकल ट्रायलअनुसार यो विधिबाट उपचार गरिएका बिरामीहरूमा स्नायुजन्य क्षतिको अवस्था मापन गर्ने एनआईएचएसएस स्कोर तथा दैनिक जीवनका क्रियाकलाप गर्ने क्षमता मापन गर्ने मोडिफाइड बार्थेल इन्डेक्समा उल्लेखनीय सुधार देखिएको थियो।
मोटर कार्यक्षमताको पुनःप्राप्ति, मांसपेशीमा असामान्य रूपमा बढेको तनाव र कडापनको व्यवस्थापन, थप संवेदनात्मक उत्तेजना प्रदान गर्न, दुखाइ व्यवस्थापन, मस्तिष्कघातपछिको बोली तथा भाषा सम्बन्धी पुनर्स्थापना र दैनिक क्रियाकलापमा आत्मनिर्भरता बढाउन यो विधिको महत्त्वपूर्ण भूमिका हुन सक्छ।
अन्नपूर्ण न्युरो अस्पताल र एकीकृत चिकित्साको अवधारणा
अन्नपूर्ण न्युरो अस्पतालमा सन् २०१३ देखि नै मस्तिष्कघातका बिरामीको पुनर्स्थापनाका लागि यो विधि प्रयोग हुँदै आएको छ।
मस्तिष्कघातका बिरामीको आपत्कालीन व्यवस्थापनपछि अवस्था स्थिर भएसँगै छिटोभन्दा छिटो पुनर्स्थापना सुरु गरिन्छ। यस क्रममा फिजियोथेरापी, अकुपञ्चर, शिरोधारा, योग तथा ध्यानजस्ता विभिन्न उपचार पद्धतिलाई समेत समावेश गरी एकीकृत उपचार विधिबाट उपचार सुरु गर्ने गरिएको छ।
यसरी उपचार गर्दा बिरामीको अस्पताल बसाइ छोटो हुने, मोटर क्षमताको विकास छिटो हुने र बिरामी तथा बिरामीका आफन्त उपचारप्रति पूर्ण सन्तुष्ट हुने अनुभव गरिएको छ।
प्रमाणमा आधारित उपचार पद्धतिलाई प्राथमिकता दिँदै मस्तिष्कघातको पुनर्स्थापनामा अकुपञ्चरलाई समेत समावेश गर्न सके पुनर्स्थापना प्रक्रिया थप प्रभावकारी बनाउन र बिरामीको जीवनको गुणस्तर सुधार गर्न सहयोग पुग्न सक्छ।
(डा सत्याल नरदेवि आयुर्वेद अस्पताल र अन्नपूर्ण न्युरो अस्पतालमा कार्यरत छिन्)