कल्पना गर्नुहोस् त!
भविष्यमा सामान्य सङ्क्रमणको उपचार गर्न प्रयोग गरिने औषधिले नै काम गर्न छोड्यो भने के होला?
सामान्य घाउमा हुने सङ्क्रमण, निमोनिया, क्षयरोग तथा पिसाबको सङ्क्रमणजस्ता रोगहरू जटिल र जीवनघातक बन्दै गए भने?
आज नै सचेत बनेर प्रतिजैविक प्रतिरोधको समस्यालाई न्यूनीकरण गर्न सकियो भने यो अवस्था केवल कल्पनामै सीमित रहन सक्छ। तर, हामीले गरिरहेका सामान्य गल्तीले भोलिका दिनमा यस चुनौतीको सामना गर्नुपर्ने अवस्था आउँदैन भन्न सकिँदैन।
के हो त प्रतिजैविक प्रतिरोध?
प्रतिजैविक प्रतिरोध (एएमआर) भनेको ब्याक्टेरिया, भाइरस, फङ्गस तथा परजीवीजस्ता सूक्ष्मजीवहरूले आफूलाई नष्ट गर्न वा वृद्धि रोक्न प्रयोग गरिने औषधिको प्रभावलाई सामना गर्न सक्ने क्षमता विकास गर्नु हो।
सामान्य भाषामा भन्नुपर्दा, जुन प्रतिजैविक औषधिले सूक्ष्मजीवलाई नष्ट गर्ने वा तिनको वृद्धि रोक्ने काम गर्नुपर्ने हो, त्यही औषधिप्रति सूक्ष्मजीवमा प्रतिरोधात्मक क्षमता विकास हुनु र औषधिको प्रभावकारिता घट्दै जानु नै प्रतिजैविक प्रतिरोध हो।
मानिस, पशुपन्छी तथा वनस्पतिमा हुने सङ्क्रमणको उपचार तथा नियन्त्रणमा प्रयोग गरिने प्रतिजैविक औषधिहरूको प्रभावकारिता घट्दै जानु यस समस्याको प्रमुख विशेषता हो।
प्रतिजैविक प्रतिरोधका प्रमुख कारणहरू
इन्टरनेट, गुगल, च्याटजीपीटी अथवा सामाजिक सञ्जालमा देखिएका अपूर्ण जानकारीका आधारमा स्वास्थ्यकर्मीको सल्लाहविना नै एन्टिबायोटिक प्रयोग गर्नु आजको समयमा देखिएको प्रमुख समस्यामध्ये एक हो।
त्यसैगरी, औषधिको मात्रा र अवधि पूरा नगरी बीचमै सेवन गर्न छोड्नु, कृषि तथा पशुपालनमा उत्पादन बढाउने उद्देश्यले जथाभावी एन्टिबायोटिक प्रयोग गर्नु, भाइरसबाट हुने सङ्क्रमणमा आवश्यकताविना एन्टिबायोटिक प्रयोग गर्नु, बाँकी रहेका एन्टिबायोटिक पुनः प्रयोग गर्नु तथा एन्टिबायोटिकको अनुचित र अत्यधिक प्रयोग गर्नु यसका प्रमुख कारण हुन्।
प्रतिजैविक प्रतिरोधले निम्त्याउने समस्याहरू
प्रतिजैविक प्रतिरोध बढ्दै जाँदा क्षयरोग, मेनिन्जाइटिस, निमोनिया तथा टाइफाइडजस्ता सङ्क्रामक रोगहरूको उपचार कठिन हुने र उपचार असफल हुने जोखिम बढ्छ।
यसका साथै शल्यक्रिया, क्यान्सर उपचार तथा अङ्ग प्रत्यारोपणजस्ता आधुनिक चिकित्सकीय सेवाहरू थप जोखिमपूर्ण बन्न सक्छन्। उपचारमा लामो समय लाग्ने, अस्पताल बसाइको अवधि बढ्ने तथा उपचार खर्चमा वृद्धि हुनेजस्ता समस्या पनि सिर्जना हुन्छन्।
प्रतिजैविक प्रतिरोध नियन्त्रणका उपायहरू
प्रतिजैविक प्रतिरोध नियन्त्रण गर्न सर्वप्रथम सङ्क्रमण हुन नदिने उपायहरू अवलम्बन गर्नुपर्छ। व्यक्तिगत तथा वातावरणीय सरसफाइमा ध्यान दिने, नियमित रूपमा साबुनपानीले हात धुने, खानेकुरालाई राम्ररी पखालेर तथा पकाएर खाने र स्वच्छ वातावरण कायम राख्ने बानी विकास गर्नुपर्छ।
त्यसैगरी, कृषि तथा पशुपालन क्षेत्रमा उत्पादन बढाउने उद्देश्यले अनावश्यक रूपमा प्रतिजैविक औषधिको प्रयोग गर्नु हुँदैन।
स्वास्थ्यकर्मीको सल्लाहविना एन्टिबायोटिक प्रयोग गर्नु हुँदैन। चिकित्सकको निर्देशनअनुसार औषधिको सही मात्रा, समय र अवधि पालना गर्नुपर्छ। एकपटक प्रयोग गरिएको वा बाँकी रहेको एन्टिबायोटिक आफैँले निर्णय गरेर पुनः प्रयोग गर्नु हुँदैन।
अन्त्यमा,
भोलिका दिनमा पनि सामान्य सङ्क्रमणको उपचार प्रभावकारी बनाउन र भावी पुस्ताको स्वास्थ्य सुरक्षित राख्न आजैदेखि प्रतिजैविक औषधिको जिम्मेवार प्रयोग र संरक्षण गर्न आवश्यक छ।
प्रतिजैविक औषधिको संरक्षण केवल स्वास्थ्यकर्मीको मात्र नभई हामी सबैको साझा जिम्मेवारी हो।
आजको सचेत प्रयोग नै भोलिको सुरक्षित स्वास्थ्यको आधार हो।