वीरगञ्ज- पर्साको वीरगञ्ज महानगरपालिका–२३ स्थित प्रसौनी बिर्तामा निःशुल्क बृहत् स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हेडक्वार्टर पर्साको आयोजना तथा नेशनल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल वीरगञ्ज, म्याग्नस फार्मा प्रालि र रुगंटा वेलफेयर सोसाइटीको सहकार्यमा शनिबार श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको प्राङ्गणमा शिविर सञ्चालन गरिएको हो।
‘रक्तदान जीवनदान, स्वास्थ्य हाम्रो समाज अभियान’ नारासहित आयोजित शिविरमा स्थानीय बासिन्दाले निःशुल्क स्वास्थ्य परीक्षण तथा विशेषज्ञ चिकित्सकबाट परामर्श सेवा लिएका थिए।
शिविरमा नेशनल मेडिकल कलेजका छ वटा विभागका विशेषज्ञ चिकित्सकले सेवा दिएका थिए। बालरोगतर्फ डा. फारुक जकी अन्सारी, नेत्ररोगतर्फ डा. आदित्य प्रसाद, स्त्री तथा प्रसूतिरोगतर्फ डा. मधु कुमारी साह, नाक, कान तथा घाँटी रोगतर्फ डा. सुमन खत्री, छालारोगतर्फ डा. निलमणि प्रियदर्शी र दन्तरोगतर्फ डा. सलोनी झाले स्वास्थ्य परीक्षण तथा परामर्श दिएका थिए।
स्वास्थ्य शिविरसँगै स्वैच्छिक रक्तदान कार्यक्रमसमेत सञ्चालन गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि सशस्त्र प्रहरी परिवार महिला संघकी केन्द्रीय अध्यक्ष सावित्रा कुमारी जैसी थिइन्। कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, सशस्त्र प्रहरीका उच्च अधिकारी, स्थानीय जनप्रतिनिधि, सञ्चारकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो।
कार्यक्रममा बोल्दै नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक शाहनवाज अन्सारीले वीरगञ्ज महानगरपालिका–२३ आफ्नो पुर्ख्यौली थलो तथा गृह वडा भएकाले स्थानीय बासिन्दालाई आफ्नै समुदायमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउन पाउनु गर्वको विषय भएको बताए। उनले यसलाई सामाजिक दायित्वका रूपमा समेत लिएको उल्लेख गरे।
अस्पतालले स्वास्थ्य सेवालाई अस्पताल परिसरमा मात्र सीमित नराखी समुदायस्तरसम्म विस्तार गर्ने उद्देश्यले यस्ता जनस्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।

-1795321492.jpeg)