काठमाडौं- स्वास्थ्य बीमा बोर्डले बीमा व्यवस्थापन सूचना प्रणाली (आईएमआईएस) लाई नवीनतम प्रविधिसहित स्तरोन्नति गरी सञ्चालनमा ल्याएको छ। स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी, सुरक्षित, व्यवस्थित तथा प्रविधिमैत्री बनाउने उद्देश्यले आधुनिक प्रविधि र नयाँ आर्किटेक्चरमा आधारित अद्यावधिक प्रणाली सञ्चालनमा ल्याइएको बोर्डले जनाएको छ।
अद्यावधिक प्रणालीले सेवा प्रदायक संस्थाबाट प्राप्त स्वास्थ्य उपचारसम्बन्धी दाबीहरूको छिटो तथा प्रभावकारी रुजु र मूल्यांकन गर्न सघाउनेछ। यस प्रणालीलाई राष्ट्रिय परिचयपत्रसँग अन्तरआबद्धता गरिने तथा तथ्यांकको वैधता र गुणस्तर अभिवृद्धि गर्न सहयोग पुग्ने बोर्डले उल्लेख गरेको छ।
नयाँ प्रणालीमा दाबीमा देखिएका त्रुटि तथा असामान्य विवरण पहिचान गर्न प्रणालीगत फ्ल्यागिङ, बीमितको अभिलेख खोजी तथा पहिचान र सेवा प्रदायकको अवस्थासम्बन्धी विवरण अनुगमन गर्ने व्यवस्था मिलाइएको छ।
यसबाट सूचना सुरक्षा, प्रणालीको गति, कार्यसम्पादन र विश्वसनीयता बढ्नुका साथै आगामी दिनमा कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित प्रविधिको प्रयोग तथा विकासका लागि समेत आधार तयार हुने अपेक्षा गरिएको छ। यसले स्वास्थ्य बीमा कार्यक्रमको डिजिटल रूपान्तरण, सेवा प्रवाहमा सुधार र नागरिकमैत्री प्रणाली विकासमा थप योगदान पुग्ने बोर्डको विश्वास छ।