अमेरिका, भर्जिनिया। अमेरिकाको भर्जिनिया राज्यस्थित मनासस पार्कका नरेश भट्टले आफ्नी श्रीमती ममता काफ्ले भट्टको शव टुक्राटुक्रा पारेर फोहोरमा फालेको स्वीकार गरेका छन्। तर उनले श्रीमतीको हत्या भने आफूले नगरेको दाबी गरेका छन्।
बिहीबार प्रिन्स विलियम काउन्टी सर्किट अदालतमा चलिरहेको हत्या मुद्दाको सुनुवाइका क्रममा बयान दिँदै भट्टले सन् २०२४ जुलाईमा आफ्नी श्रीमतीलाई शयनकक्षको भुइँमा अचेत अवस्थामा फेला पारेको बताएका हुन्। उनको भनाइअनुसार ममताले आत्महत्या गरेको आफूलाई लागेको थियो।
भट्टले अदालतमा आफूले श्रीमतीको शव लुकाएको स्वीकार गरेका छन्। मृत शरीर लुकाएको र शवलाई विकृत बनाएको आरोपबारे सोध्दा उनले दुवै अपराध गरेको भन्दै ‘हो’ भनेर जवाफ दिएका थिए। तर श्रीमतीको हत्या गरेको आरोप भने अस्वीकार गरे।
श्रीमतीलाई बचाउन ४५ मिनेटदेखि एक घण्टासम्म प्रयास गरेको दाबी
अदालतमा बयान दिँदै भट्टले ममताले विषादी सेवन गरेको हुन सक्ने आफूलाई लागेको बताए। उनले श्रीमतीको सास चलिरहेको छ कि छैन भनेर जाँच गरेको र मुखबाट सास दिने तथा छाती थिचेर कृत्रिम श्वासप्रश्वास गराउने प्रयास गरेको दाबी गरे।
उनका अनुसार श्रीमतीलाई बचाउन करिब ४५ मिनेटदेखि एक घण्टासम्म प्रयास गरेका थिए।
तर उनले प्रहरीको आपत्कालीन नम्बर ९११ मा फोन नगरेको स्वीकार गरे।
‘किन फोन गरिनँ, मलाई थाहा छैन। त्यो बेला ममाथि केही हाबी भयो। म निकै डराएको र आत्तिएको थिएँ,’ भट्टले अदालतमा भने।
उनले श्रीमतीको मृत्युका लागि आफूलाई दोषी ठहर गरिने डर लागेको पनि बताए। आफूले श्रीमतीलाई आत्महत्या गर्न बाध्य पारेको आरोप लाग्न सक्ने भयले शव लुकाउने निर्णय गरेको उनको भनाइ थियो।
शव टुक्राटुक्रा पारेर फोहोरको डस्टबिनमा राखेको स्वीकार
भट्टका अनुसार उनले शव कसरी लुकाउने भन्ने विषयमा इन्टरनेटमा खोजी गरेका थिए। त्यसपछि शव व्यवस्थापन गर्न आवश्यक सामग्री खोज्दै होम डिपोसमेत पुगेका थिए।
उनले अदालतमा आफूले आत्महत्या गर्नेबारे समेत सोचेको तर अन्ततः श्रीमतीको शव टुक्राटुक्रा पार्ने निर्णय गरेको बताए।
अदालतमा प्रमाणका रूपमा प्रस्तुत गरिएको र्योबी (Ryobi) ब्रान्डको आराले श्रीमतीको शव काटेको हो कि होइन भन्ने प्रश्नमा उनले ‘हो’ भनेर जवाफ दिए। उनले शव काट्ने क्रममा चक्कु पनि प्रयोग गरेको स्वीकार गरे।
शव किन टुक्राटुक्रा पारेको भन्ने प्रश्नमा उनले फोहोर फाल्ने डस्टबिनमा अटाउन सानो आकार बनाउनका लागि त्यसो गरेको बताए।
त्यसपछि शवका टुक्राहरू प्लास्टिकका फोहोरका झोलामा राखेर घरबाहिर रहेको डस्टबिनमा राखेको उनले बयान दिए। शव कसैले फेला नपारोस् भन्ने आफ्नो उद्देश्य रहेको पनि उनले स्वीकार गरेका छन्।
उनले उक्त डस्टबिन सडकछेउ फोहोर उठाउने ठाउँमा राखेको र त्यसबाट शवका अवशेष पनि फोहोरसँगै लगिने आफूलाई थाहा भएको बताए।
टेस्ला कार प्रयोग गरेर विभिन्न ठाउँमा फोहोर फालेको अभियोजन पक्षको दाबी
अभियोजन पक्षले भने भट्टले आफ्नी श्रीमतीको शव भएका झोलाहरू टेस्ला कारमा राखेर क्षेत्रका विभिन्न फोहोर फाल्ने स्थानमा पुर्याएको दाबी गरेको छ।
तर भट्टले अदालतमा शवलाई एउटा मात्र डस्टबिनमा राखेर घरबाहिर राखेको बयान दिएका छन्।
ममता काफ्ले भट्टको सन् २०२४ जुलाईमा भएको मृत्यु प्रकरणमा नरेश भट्टमाथि हत्या गरेको आरोप लागेको छ। अदालतमा उनले दिएको पछिल्लो बयानले मुद्दामा नयाँ मोड ल्याएको छ।