पोखरा- विश्व रेडियोग्राफी दिवसको अवसरमा नेपाल रेडियोलोजी सोसाइटी, गण्डकी प्रदेशले रेडियोलोजी तथा रेडियोग्राफी क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीबीच भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। आइतबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरामा आयोजित कार्यक्रममा विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत रेडियोलोजी क्षेत्रका स्वास्थ्यकर्मी सहभागी भएका थिए।
हरेक वर्ष नोभेम्बर ८ मा मनाइने विश्व रेडियोग्राफी दिवस सन् १८९५ नोभेम्बर ८ मा वैज्ञानिक विल्हेम कोनराड रोन्टगेनले एक्स–रे पत्ता लगाएको दिनको सम्झनामा मनाइन्छ। यस वर्ष एक्स–रे आविष्कार भएको १३१ वर्ष पूरा भएको छ।
कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका डीन डेविड श्रेष्ठ प्रमुख अतिथि तथा वरिष्ठ रेडियोलोजिस्ट डा. गोपालप्रसाद खनाल विशेष अतिथिका रूपमा सहभागी थिए। कार्यक्रमको अध्यक्षता नेपाल रेडियोलोजी सोसाइटी, गण्डकी प्रदेशका अध्यक्ष उदयकान्त तिवारीले गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले रेडियोलोजी क्षेत्रको महत्व, विकास र यसमा कार्यरत स्वास्थ्यकर्मीहरूको भूमिकाबारे चर्चा गर्दै विश्व रेडियोग्राफी दिवस तथा दसैँ, तिहार र छठ पर्वको शुभकामना व्यक्त गरे।
विशेष अतिथि डा. खनालले एक्स–रेको आविष्कारदेखि आधुनिक चिकित्सा प्रविधि र कृत्रिम बौद्धिकता (एआई) को युगसम्म आइपुग्दा रेडियोलोजी क्षेत्रमा भएका परिवर्तन र उपलब्धिबारे चर्चा गरे। उनले प्रविधिको विकाससँगै रेडियोलोजी क्षेत्रमा थपिएका सम्भावना, चुनौती र आगामी दिनमा यसको बढ्दो भूमिकाबारे आफ्नो धारणा राखे।
सोसाइटीका प्रदेश अध्यक्ष तिवारीले रेडियोग्राफी तथा रेडियोलोजी क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीले भोग्नुपरेका समस्या, चुनौती र अवसरबारे चर्चा गरे। यस क्षेत्रलाई थप व्यवस्थित, मर्यादित र व्यावसायिक बनाउन आपसी एकता, सहकार्य र साझा पहिचान आवश्यक रहेको उल्लेख गर्दै उनले सबै स्वास्थ्यकर्मीलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरे।
कार्यक्रममा दीप प्रज्वलन, पर्व विशेष शुभकामना आदानप्रदान, परिचयात्मक भेटघाट तथा पेशागत एकता र सहकार्यका विषयमा छलफल गरिएको थियो।
विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत रेडियोलोजी क्षेत्रका जनशक्तिलाई एउटै मञ्चमा जोड्दै आपसी सद्भाव, भाइचारा र पेशागत सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमको सञ्चालन सोसाइटीका गण्डकी प्रदेश कमिटीका सचिव विमल क्षेत्रीले गरेका थिए।