काठमाडौं– बेलायतमा आँखाको नियमित परीक्षणबाटै मधुमेह र मुटुरोगजस्ता गम्भीर स्वास्थ्य समस्याका प्रारम्भिक संकेत पहिचान गर्न कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधि प्रयोग गरिने भएको छ।
बेलायतको सन्डरल्यान्ड विश्वविद्यालयस्थित नर्दन अप्थाल्मिक रिसर्च एन्ड इनोभेसन (नोरी) केन्द्रले यससम्बन्धी प्रविधि विकास गर्न सरकारबाट १ करोड २२ लाख पाउन्ड (करिब २ अर्ब ३५ करोड रुपैयाँ) आर्थिक सहयोग प्राप्त गरेको छ। बेलायतको अनुसन्धान तथा नवप्रवर्तन निकाय (यूकेआरआई) मार्फत प्राप्त यो रकम रोगको प्रारम्भिक पहिचान र समयमै उपचारमा सहयोग पुर्याउने प्रविधि विकासमा खर्च गरिनेछ।
यस प्रविधिले आँखाको नियमित परीक्षणका क्रममा खिचिएका तस्बिर र स्क्यानको एआईमार्फत विश्लेषण गरी रोगका प्रारम्भिक संकेत पहिचान गर्नेछ। विशेषगरी आँखाको पछिल्लो भागमा रहेका मसिना रक्तनली र स्नायु तन्तुमा देखिने परिवर्तनले व्यक्तिको समग्र स्वास्थ्य अवस्थाबारे जानकारी दिन सक्ने अनुसन्धानकर्ताहरूको भनाइ छ।
एआईले आँखाको स्क्यानसँगै बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) का स्वास्थ्य अभिलेख र समुदायस्तरका तथ्याङ्कसमेत विश्लेषण गर्नेछ। यसबाट रोगका लक्षण देखिनुअघि नै मधुमेह तथा मुटु र रक्तनलीसम्बन्धी रोगका सूक्ष्म संकेत पहिचान गर्न सकिने अपेक्षा गरिएको छ।
सुरुमा मधुमेह र मुटु तथा रक्तनलीसम्बन्धी रोगको पहिचानमा केन्द्रित हुने यो प्रविधिलाई भविष्यमा मस्तिष्कघात र डिमेन्सियाको प्रारम्भिक संकेत पहिचान गर्न पनि विस्तार गर्न सकिने अनुसन्धानकर्ताहरूले बताएका छन्।
नोरीका सहनिर्देशक म्याथ्यु क्याम्पबेलले सरकारी लगानीले प्रविधिको विकास, वास्तविक स्वास्थ्य सेवामा परीक्षण र अन्तर्राष्ट्रिय बजारसम्म विस्तार गर्न सहयोग पुग्ने बताए। उनका अनुसार यसले बेलायतको उत्तरपूर्वी क्षेत्रमा स्वास्थ्य प्रविधि विकासको नयाँ वातावरण तयार गर्नेछ।
बेलायतका विज्ञानमन्त्री क्रिस म्याकडोनाल्डले रोगको प्रारम्भिक पहिचानले बिरामीको उपचार नतिजा सुधार गर्नुका साथै राष्ट्रिय स्वास्थ्य सेवामाथिको दबाब कम गर्ने बताए।
नोरीसहित बेलायतमा प्रविधिको प्रयोगबाट रोग पहिचान गर्ने उद्देश्यले पाँचवटा नयाँ स्वास्थ्य अनुसन्धान केन्द्रले सरकारी सहयोग प्राप्त गरेका छन्। एक्सेटर, साउथह्याम्पटन र लन्डनमा रहेका अन्य केन्द्रहरूले पनि आधुनिक प्रविधिको विकासमा काम गरिरहेका छन्।