पोखरा — जिल्ला प्रहरी कार्यालय कास्कीले फार्मेसी सञ्चालिका अमिसा ढुङ्गानाको पक्राउ सम्बन्धमा सामाजिक सञ्जालमा सम्प्रेषित विषयप्रति ध्यानाकर्षण भएको जनाउँदै घटनाबारे थप स्पष्टीकरण दिएको छ।
कार्यालयले २०८३ कात्तिक ८ गते जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानलाई प्रभावित पार्ने गरी सामाजिक सञ्जालमा विभिन्न विषय सम्प्रेषण भइरहेको उल्लेख गर्दै सरोकारवालाबाट प्राप्त सल्लाह, सुझाव र गुनासोलाई सकारात्मक रूपमा लिएको जनाएको छ।
प्रहरीका अनुसार चिकित्सकको प्रेस्क्रिप्सनबिना लोराजेपाम र क्लोर्डायजेपोक्साइड लगायतका मनोद्विपक औषधि बिक्रीवितरण गरेको गुनासो तथा सूचनाका आधारमा ढुङ्गानाले सञ्चालन गरेको औषधि पसलमा खानतलासी गरिएको थियो।
सो क्रममा कोडेप–पी ६ हजार ४०० चक्की, प्रेगाबालिन ४५० चक्की, लोराजेपाम १५० चक्की र क्लोर्डायजेपोक्साइड १६० चक्की बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद औषधिसहित ढुङ्गानालाई नियन्त्रणमा लिई कानुनबमोजिम थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
प्रहरीले बरामद औषधिमध्ये लोराजेपाम र क्लोर्डायजेपोक्साइड लगायतका मनोद्विपक औषधि नेपाल राजपत्रमा प्रतिबन्धित लागूऔषधका रूपमा सूचीकृत रहेको जनाएको छ। त्यस्तै, प्रेगाबालिनसमेत सम्बन्धित विशेषज्ञ चिकित्सकको सिफारिस तथा निगरानीमा अस्पतालस्थित औषधि पसलबाट मात्र बिक्रीवितरण र प्रयोग गर्नुपर्ने व्यवस्था रहेको प्रहरीको भनाइ छ।
यसअघि जिल्ला प्रहरी कार्यालय कास्कीले २०८३ कात्तिक ६ गते प्रेस विज्ञप्ति नम्बर १११ जारी गर्दै ‘लागूऔषधसहित फार्मेसी सञ्चालिका पक्राउ’ शीर्षकमा सूचना सार्वजनिक गरेको थियो। उक्त विज्ञप्तिपछि सामाजिक सञ्जालमा विभिन्न विषय उठेपछि प्रहरीले थप स्पष्ट पार्न प्रेस विज्ञप्ति जारी गरेको हो।
प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जनाउँदै यस विषयमा सार्वजनिक भएका विवरणलाई विज्ञप्तिमा उल्लेखित तथ्यका आधारमा बुझ्न आग्रह गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले सूचना अधिकारीका रूपमा विज्ञप्ति जारी गरेका हुन्।