काठमाडौं- गोरखाको दुर्गम चुमनुब्री गाउँपालिकाबाट एकैपटक गर्भवती र सुत्केरी गरी दुई महिलाको हवाई उद्धार गरिएको छ। जटिल स्वास्थ्य अवस्था देखिएपछि उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो।
गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयका अधिकृत एवं हवाई उद्धार कार्यक्रमका फोकल पर्सन बुद्धिसागर अधिकारीका अनुसार चुमनुब्री गाउँपालिका–३, सानो फिलिमकी ३१ वर्षीया सुन्तली गुरुङले २८ हप्तामै शिशुलाई जन्म दिएकी थिइन्।
उनी प्रसव व्यथा लागेपछि सिर्दिबास स्वास्थ्य चौकीमा भर्ना भएकी थिइन्। उपचारकै क्रममा २०८३ कात्तिक २२ गते बिहान ८ बजेर ७ मिनेटमा उनले छोरालाई जन्म दिएकी थिइन्। समय नपुग्दै जन्मिएको शिशुको तौल एक हजार ग्राम मात्रै थियो।
स्वास्थ्य चौकीमा शिशुलाई थप उपचार गर्न सम्भव नभएपछि उसको ज्यान जोखिममा पर्न सक्ने अवस्था देखिएको थियो। त्यसपछि गण्डकी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयको समन्वयमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत नेपाली सेनाको हेलिकप्टरबाट आमा र शिशुको उद्धार गरिएको थियो। शिशुलाई थप उपचारका लागि कान्ति बाल अस्पतालमा भर्ना गरिएको छ।
यसैगरी, चुमनुब्री गाउँपालिका–३, सिर्दिबास देवलकी २३ वर्षीया सुप्रिया गुरुङको पनि हवाई उद्धार गरिएको छ। उनको अनुमानित सुत्केरी हुने मिति १२ दिन नाघिसकेको थियो। स्वास्थ्य चौकीमा भर्ना गरिएकी उनको जटिल स्वास्थ्य अवस्थाका कारण ज्यान जोखिममा पर्न सक्ने देखिएपछि उद्धार गरिएको अधिकारीले जानकारी दिए।
उनलाई थप उपचारका लागि काठमाडौंस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा भर्ना गरिएको छ।
दुवै महिलाको उद्धार गण्डकी प्रदेश सरकारको समन्वयमा गरिएको हो। उद्धार तथा उपचार व्यवस्थापनमा स्वास्थ्य मन्त्रालय, गोरखाका प्रमुख जिल्ला अधिकारी, प्रदेश अस्पताल गोरखा, प्रदेश जनस्वास्थ्य कार्यालय गोरखा, चुमनुब्री गाउँपालिका र सिर्दिबास स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले समन्वय गरेका थिए।