काठमाडौं- काठमाडौं उपत्यका भित्र निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने एम्बुलेन्स सेवा (१०२) माथि सेवाग्राहीसँग शुल्क मागेको र कर्मचारीले असहयोगी व्यवहार गरेको आरोप लागेको छ।
सिभिल अस्पतालका चिकित्सक डा. नवीन यादवले बुधबार राति अस्पतालमा देखेको एउटा घटनाबारे सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै १०२ को सेवाप्रति प्रश्न उठाएका हुन्।
डा. यादवका अनुसार करिब ६५ वर्षीया एक महिला बिरामी प्युठानबाट उपचारका लागि सिभिल अस्पतालको आकस्मिक कक्षमा पुगेकी थिइन्। अस्पतालमा शय्या उपलब्ध नभएपछि उनलाई अर्को अस्पतालमा भर्नाका लागि रेफर गर्नुपर्ने अवस्था आयो। रेफरल कागजात तयार भए पनि बिरामीसँगै आएका छोरा सम्पर्कविहीन भएपछि उनका श्रीमान् अन्योलमा परेका थिए।
त्यसपछि अस्पतालका स्वास्थ्यकर्मीले निःशुल्क एम्बुलेन्स सेवाका लागि १०२ मा सम्पर्क गर्न सुझाव दिएका थिए। सुरुमा करिब ४५ मिनेटमा एम्बुलेन्स आइपुग्ने जानकारी दिइए पनि केही समयपछि फोन गरेर केएमसी अस्पतालसम्म पुर्याउन १ हजार २०० रुपैयाँ लाग्ने बताइएको डा. यादवले उल्लेख गरेका छन्।
यो कुरा थाहा पाएपछि बिरामीका श्रीमान् थप अन्योलमा परेका थिए। उनको मोबाइलको ब्याट्रीसमेत सकिएपछि डा. यादवले आफ्नै मोबाइलबाट १०२ मा सम्पर्क गरी घटनाबारे जानकारी गराएका थिए।
'निःशुल्क एम्बुलेन्स सेवा भनिएको होइन र? तपाईंहरूकै कर्मचारीले १ हजार २०० रुपैयाँ लाग्छ भन्नुभएको रहेछ नि?' भनेर प्रश्न गर्दा उताबाट सेवा निःशुल्क भएको जानकारी दिइएको र केही समयमै एम्बुलेन्स पठाउने आश्वासनसहित सम्पर्क नम्बरसमेत उपलब्ध गराइएको उनले बताएका छन्।
त्यसपछि पाँच मिनेटमै एम्बुलेन्स आइपुगेको जानकारी पाएपछि डा. यादव पुनः आकस्मिक कक्षमा पुगेका थिए। तर, एम्बुलेन्समा आएका कर्मचारीको व्यवहारले आफूलाई थप निराश बनाएको उनको भनाइ छ।
डा. यादवका अनुसार एम्बुलेन्सका कर्मचारीले अक्सिजन आवश्यक नपर्ने बिरामीका लागि किन एम्बुलेन्स बोलाएको भन्दै असन्तुष्टि जनाएका थिए। त्यसपछि उनले एम्बुलेन्स सेवा अक्सिजन आवश्यक पर्ने बिरामीका लागि मात्रै हो कि अन्य अस्पतालमा भर्ना हुनुपर्ने बिरामीलाई सुरक्षित रूपमा पुर्याउने काम पनि सेवाभित्र पर्छ भन्दै प्रतिप्रश्न गरेका थिए।

'उहाँहरू आर्थिक रूपमा कमजोर हुनुहुन्छ, समस्यामा हुनुहुन्छ। बिरामीलाई अस्पतालमा भर्ना गर्नुपर्नेछ। यहाँ बेड नभएकै कारण रेफर गरिएको हो,' आफूले कर्मचारीलाई सम्झाएको उनले उल्लेख गरेका छन्।
तर, एम्बुलेन्समा आएका कर्मचारी र चालकको व्यवहार सहयोगी तथा संवेदनशील नभएको डा. यादवको गुनासो छ। अन्ततः बिरामीलाई एम्बुलेन्समा राख्न सहयोग गर्दै उनले बिरामीका श्रीमान्लाई 'यो निःशुल्क सेवा हो, एक रुपैयाँ पनि पैसा नदिनुहोला' भनेका थिए।
घटनापछि उनले राष्ट्रिय एम्बुलेन्स सेवाको सम्पर्क नम्बरमा पुनः फोन गरेर आफ्नो गुनासोसमेत राखेका छन्।
डा. यादवले निःशुल्क भनिएको सेवामा सेवाग्राहीसँग किन पैसा मागियो, एम्बुलेन्स सेवा अक्सिजन चाहिने बिरामीका लागि मात्रै हो कि अन्य अस्पतालमा भर्ना हुनुपर्ने बिरामीका लागि पनि हो र सार्वजनिक सेवामा कार्यरत कर्मचारीले सेवाग्राहीप्रति कस्तो व्यवहार गर्नुपर्छ भन्ने प्रश्न उठाएका छन्।
'सार्वजनिक सेवा भनेको केवल गाडी पठाउनु हो कि सेवाग्राहीलाई सम्मान, सहानुभूति र सहजता प्रदान गर्नु पनि हो?' उनले प्रश्न गरेका छन्।
स्वास्थ्यकर्मीका रूपमा बिरामीको उपचार र सेवामा मानवीय संवेदनशीलता कति महत्त्वपूर्ण हुन्छ भन्ने आफूले बुझेको उल्लेख गर्दै डा. यादवले सार्वजनिक सेवामा कार्यरत प्रत्येक व्यक्तिले पनि आफ्नो जिम्मेवारीको मानवीय पक्ष बुझ्नुपर्ने बताएका छन्।
उनले निःशुल्क सेवा सरकारी कागजमा लेखिएको शब्दमा मात्र सीमित नभई सेवाग्राहीले व्यवहारमै अनुभूति गर्न पाउनुपर्ने भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। साथै, घटनाबारे आवश्यक अनुसन्धान गरी दोषी पाइएकामाथि अविलम्ब कारबाही गर्न माग गरेका छन्।