ललितपुर- मानसिक स्वास्थ्यका विषयमा जिम्मेवार, संवेदनशील र तथ्यपरक पत्रकारितालाई प्रवर्द्धन गर्ने उद्देश्यले पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कोशिशको आयोजनामा शुक्रबार आयोजित कार्यक्रममा मानसिक स्वास्थ्यसम्बन्धी समाचार सङ्कलन, लेखन तथा सम्पादन गर्दा पत्रकारहरूले अपनाउनुपर्ने संवेदनशीलता, जिम्मेवारी र सावधानीका विषयमा छलफल गरिएको थियो।
कार्यक्रममा मानसिक स्वास्थ्यका विषयलाई सञ्चारमाध्यममा प्रभावकारी रूपमा प्रस्तुत गर्ने तथा विद्यमान कानुनमा रहेका विभेदकारी शब्दावली हटाउन सञ्चारकर्मीले गर्न सक्ने पैरवीका विषयमा समेत छलफल भएको थियो।
कोशिशका कार्यकारी निर्देशक मातृका देवकोटाले विभिन्न कानुनमा अझै पनि मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिलाई विभेद गर्ने खालका शब्दावली प्रयोग भइरहेको बताए। प्रत्येक नागरिकले बिना भेदभाव सम्मानपूर्वक बाँच्न पाउने वातावरण निर्माणका लागि यस्ता विभेदकारी शब्दावली हटाउन सञ्चारकर्मीले पैरवी गर्नुपर्ने उनको भनाइ थियो।
नेपाल स्वास्थ्य व्यवसायी परिषद्का अध्यक्ष सगुन पौडेलले मानसिक स्वास्थ्यका विषयमा समाचार सङ्कलन र सम्पादन गर्दा विशेष संवेदनशीलता अपनाउनुपर्ने बताए। नयाँ बन्न लागेको मानसिक स्वास्थ्य नीतिमा पनि पत्रकारहरूले आवश्यक सुझाव र योगदान दिनुपर्ने उनले उल्लेख गरे।
मनोचिकित्सक डा। बासुदेव कार्कीले कानुनमै मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिलाई अपमानित गर्ने ‘मगज बिग्रिएको’ जस्ता शब्दावली प्रयोग हुनु विभेदको उदाहरण भएको बताए। यस्ता शब्दको सट्टा सम्मानजनक र मर्यादित भाषा प्रयोग गर्नुपर्नेमा उनले जोड दिए।
अनुसन्धानकर्ता श्रीमन शर्मालीले मानसिक स्वास्थ्यका मुद्दालाई सार्वजनिक बहसमा ल्याउन पत्रकारहरूको भूमिका महत्त्वपूर्ण हुने बताए। यस विषयमा नियमित छलफल र अन्तरक्रिया आवश्यक रहेको उनको भनाइ थियो।
अन्तरक्रियामा सहभागी पत्रकारहरूले मानसिक स्वास्थ्यसम्बन्धी कानुनमा रहेका विभेदकारी प्रावधान, समाचार सङ्कलनका क्रममा भोग्नुपर्ने चुनौती, रिपोर्टिङका विषयवस्तु तथा समाचारका विश्वसनीय स्रोतका बारेमा छलफल गरेका थिए।
कार्यक्रममा मानसिक स्वास्थ्यसम्बन्धी समाचार तयार पार्दा व्यक्तिको गोपनीयता, आत्मसम्मान र मानवअधिकारको संरक्षण गर्नुपर्ने विषयमा जोड दिइएको थियो। मानसिक स्वास्थ्य समस्यालाई सनसनीपूर्ण रूपमा प्रस्तुत गर्नुभन्दा तथ्यमा आधारित, मर्यादित र भेदभावरहित भाषा प्रयोग गर्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।