काठमाडौं - दक्षिणी गाजाको खान युनिसस्थित नासेर मेडिकल कम्प्लेक्समा बिहीबार बिहान इजरायली सेनाले गरेको आक्रमणमा एक चिकित्सकसहित ६ जनाको ज्यान गएको छ। आक्रमणमा परी बिरामी र कुरुवासहित कम्तीमा २७ जना घाइते भएका छन्।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार अस्पतालको शल्यचिकित्सा (सर्जरी) भवनलाई लक्षित गरी आक्रमण गरिएको हो, जसमा चिकित्सक रिज्क अबु शुवाइराको समेत मृत्यु भएको छ। अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लंघन भएको भन्दै मन्त्रालयले घटनाको निन्दा गरेको छ र दोषीलाई जवाफदेही बनाउन संयुक्त राष्ट्रसंघसहित अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएको छ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले आक्रमणबाट अस्पतालको शल्यक्रिया कक्ष, सघन उपचार कक्ष (आईसीयू) र स्वास्थ्यलाभ कक्षमा व्यापक क्षति पुगेको पुष्टि गरेका छन्। सन् २०२३ अक्टोबरयता गाजाका स्वास्थ्य पूर्वाधारमा भएका १ हजार ५६ वटा आक्रमणमा १ हजार १० जनाले ज्यान गुमाइसकेको डब्लुएचओको तथ्याङ्क छ।
अर्कोतर्फ, इजरायली रक्षा बल (आईडीएफ) ले भने हमासको 'खान युनिस ब्रिगेड' का वरिष्ठ कमान्डर मोहम्मद अबु इस्माइलसहित सक्रिय लडाकुहरूलाई लक्षित गरी आक्रमण गरिएको दाबी गरेको छ। अस्पतालको दोस्रो तलालाई हमासले सैन्य मुख्यालयका रूपमा प्रयोग गरिरहेकाले पटक–पटक चेतावनी दिएर सावधानीपूर्वक कारबाही गरिएको इजरायली सेनाको भनाइ छ।
अक्टोबर २०२५ मा युद्धविराम लागू भए पनि भएको यस आक्रमणप्रति चिन्ता व्यक्त गर्दै डब्लुएचओ प्रमुख टेड्रोसले नागरिकको जीवनरक्षक आधार मानिने अस्पताललाई सैन्य प्रयोजनमा नल्याउन र त्यहाँ आक्रमण नगर्न आग्रह गरेका छन्।