२०८३ कात्तिक २६
तिहारको दिन हरेक दाजुभाइको चाहना एउटै हुन्छ– सँगै बसेर टीका लगाउने, रमाउने र खुसी साटासाट गर्ने। अझ भनौँ, तिहार र भाइटीका साना भाइबहिनीका लागि विशेष पर्व हुन्। भाइलाई दिदीले दिने भाइमसला, लगाइदिने टीका र दिने कोसेली सम्झेरै भाइ मख्ख पर्छ। त्यस्तै, दाजुभाइले दिदीबहिनीलाई दिने दक्षिणाको खाम टीका लगाएपछि खोल्नुको मज्जा नै बेग्लै हुन्छ।
यस्तै उल्लास र रौनक हुने पर्वकै दिन टीका लगाउन नपाउँदा कस्तो महसुस हुन्छ होला? कल्पना गर्नुभएको छ? यो त्यस्तै एउटा प्रतिनिधि घटना हो।
भाइटीकाको बिहान टीकाको शुभसाइत करिब ११ बजेर ७ मिनेटमा थियो। यही सहरको एउटा घरमा करिब २८ महिनाको भाइ र ११–१२ वर्षीया दिदीको टीकाको तयारी हुँदै थियो। आमा छोरीलाई नुहाउँदै हुनुहुन्थ्यो भने परिवारका अन्य सदस्यहरू पनि आ–आफ्नै तयारीमा व्यस्त थिए।
तर, एक्कासि नसोचेको घटना भयो।
छोरीलाई नुहाइरहेकी आमाले केही सेकेन्डअघिसम्म हजुरआमाको पछाडि बसेर नुहाउने आफ्नो पालो कुरिरहेको छोरालाई देख्नुभएन। छतबाट तल हेर्दा गेटको माथिल्लो भागमा छोरो झुन्डिरहेको देख्नुभयो। आमाको होस उड्यो। हतारहतार कुद्दै तल पुग्नुभयो र गेटमा झुन्डिएको छोरालाई बोलाउनुभयो। छोराले तोते बोलीमा ‘माम्मा’ भन्यो। आमाले सकी–नसकी उसलाई निकाल्नुभयो।
निधारमा सामान्य चोट लागेको र छोरो होसमै रहेको देख्दा आमाले केही राहत महसुस गर्नुभयो। तर, त्यसै बेला छोराको पेटमा हेर्दा गेटको किलाले घोपेर अण्डाको दानाजत्रो आन्द्राको भाग बाहिर निस्किएको देख्नुभयो। यो दृश्यले आमाको मात्र होइन, परिवारका अन्य सदस्यहरूको पनि होस उड्यो।
तुरुन्तै बच्चालाई अस्पतालको आकस्मिक कक्षमा ल्याइयो। चिकित्सकले आकस्मिक रूपमा जाँच गर्दा त्यतिबेलासम्म आन्द्राको धेरै भाग बाहिर निस्किसकेको थियो। आकस्मिक शल्यक्रिया गर्नुपर्ने भयो। शल्यक्रिया गरियो र त्यसपछि बच्चालाई उसकै उमेर समूहका बिरामीहरू रहने आईसीयूमा राखियो।
आईसीयूमा आएको करिब पाँच–छ घण्टापछि बच्चा होसमा आयो। उसलाई भेट्न आमा, दिदी र बुबा आइरहनुभएको थियो। उनीहरूले बच्चासँग गरेका संवादले मेरो ध्यान खिच्यो। ती संवादले मलाई केहीबेर रोकिएर सोच्न बाध्य बनायो।
कस्तो गज्जबको प्रेम थियो दिदी र भाइबीच! कस्तो निःस्वार्थ माया थियो आमा र छोराबीच! अनि केही नबोली भावुक बनेर उभिनुभएका बुबाका आँखाको डिलसम्म आइपुगेका आँसु...।
सबैभन्दा पहिले भेट्न आएकी आमाले ‘के छ? कस्तो छ? म को हुँ?’ भन्दै संवाद सुरु गर्नुभयो। बाबुले आफ्नो तोते बोलीमा जवाफ दियो। केहीबेरपछि ऊ रुन थाल्यो। आमाले ‘नरोऊ है बाबु’ भन्दै काँपेको स्वरमा एउटा गीत गाउनुभयो, ‘डाक्टर अङ्कल, डाक्टर अङ्कल, सुई नलगाना।’
गीत गाउँदै गर्दा बच्चाले आईसीयूभित्र आफूलाई नियालिरहेको एक्लो म अर्थात् डाक्टरतिर हेरेर आँखा झिम्कायो। (अन्य सहकर्मी तथा वरिष्ठ चिकित्सकहरू अन्य बिरामी हेर्न बाहिर जानुपर्ने भएकाले म एक्लै थिएँ।) मैले पनि मुस्कुराउँदै भनेँ, ‘ल बाबु, अब रुँदैन है! सुई पनि नलगाउने, हुन्छ?’
त्यसपछि बाबु चुप लाग्यो।
आमाले केही बेर छोरालाई एकटकले हेरिरहनुभयो र बाहिर निस्कनुभयो। त्यसपछि उहाँले नर्सलाई आग्रह गर्नुभयो, ‘सिस्टर, यसको दिदीले भाइलाई हेर्न खोजिरहेकी छिन्, एकछिन हेर्न दिनु न।’
आईसीयूमा साना बालबालिकालाई बाहिरका व्यक्तिहरूले भेट्न नदिने नियम हुन्छ। तर, त्यहाँ नियमसँगै एउटा परिवारको भावना र बालमनोविज्ञान पनि जोडिएको थियो। आवश्यक सावधानी अपनाएर गाउन, टोपी र चप्पल लगाउन लगाई सिस्टरले आफैँ दिदीलाई भित्र ल्याउनुभयो।
बिरामी भाइको देब्रपट्टि उभिएर दिदीले तीनपटक सोधिन्, ‘बाबु, म को हुँ?’
भाइले जवाफमा ‘दिदा’ भन्यो।
भाइले आफूलाई चिनेको सुनेर उनी अलिकति खुसी भइन्। तर, उनको अनुहारमा खुसीभन्दा बढी चिन्ता र ग्लानि देखिन्थ्यो। मानौँ, भाइ अस्पतालको शय्यामा पुग्नुमा आफ्नै कुनै गल्ती छ कि भन्ने महसुस गरिरहेकी थिइन्।
फेरि उनले सोधिन्, ‘सानालाई दुख्यो?’
त्यसपछि मेरो र सिस्टरको अनुहार हेर्दै फेरि प्रश्न गरिन्, ‘उसलाई नदुख्ने औषधि छ नि?’
हामी दुवैले एकैपटक भन्यौँ, ‘छ नानी, छ।’
उनले फेरि भाइको देब्रे गालामा भएको घाउ देखाउँदै सोधिन्, ‘यो के भएको?’
त्यतिबेला उनको आँखाको डिलमा आँसु टल्किरहेको थियो। छेउमै भएकी सिस्टरले भन्नुभयो, ‘अघि लड्दा लागेको चोट हो।’
त्यति सुन्नेबित्तिकै नानीले बिस्तारै भाइको घाउ सुमसुमाइन्। उनको आँखाको डिलमा झर्न तयार भएर बसेको आँसु यसपटक रोकिएन। त्यो आँसु गालामा झर्यो। त्यससँगै सिस्टरले नानीलाई बिस्तारै बाहिर लैजानुभयो।
त्यसपछि बाबुलाई भेट्ने पालो हजुरआमाको थियो। हजुरआमा भित्र आएर बाबुलाई हेर्दै बोलाउनुभयो। तर, बाबुले केही बोलेन। एकटकले हजुरआमालाई हेरिरह्यो।
हजुरआमाले नातिको खुट्टा छुनुभयो। आँखाभरि आँसु पार्दै, गला अवरुद्ध भएको स्वरमा मलाई प्रश्न गर्नुभयो, ‘धेरै गाह्रो त छैन नि है?’
मैले भनेँ, ‘अहिलेसम्म ठीकै छ। अब पछि कस्तो हुन्छ, हेर्दै जाऊँ।’
त्यसपछि क्रमशः नानीका अन्य केही आफन्तहरू पनि भेट्न आउनुभयो। सबैले एकैछिन बच्चालाई हेर्नुभयो र बाहिरिनुभयो। केही समयपछि सिस्टरले अब भेट्न पाइँदैन भनेर जानकारी दिनुभयो। त्यसपछि आईसीयूमा बाँकी बिरामी बाबु, म र सिस्टर मात्र थियौँ। म पनि सिस्टर र बाबुलाई त्यहीँ छोडेर बाहिर निस्किएँ।
बाहिर बच्चाका आफन्तहरू लहरै उभिनुभएको थियो। सबैको मुहार मलिन थियो। कसैको अनुहारमा खुसी थिएन, कसैको बोलीमा उत्साह थिएन। केही घण्टाअघिसम्म तिहारको रमझममा रमाइरहेको त्यो परिवार अहिले अस्पतालको एउटा कोठाबाहिर आफ्नो सानो सदस्यको स्वास्थ्यलाभको प्रतीक्षामा थियो।
त्यो सानो बालकले सायद भाइटीकाको अर्थ बुझिसकेको थिएन। उसलाई टीका, माला, दक्षिणा र भाइमसलाको महत्त्व पनि थाहा थिएन होला। तर, उसकी दिदीलाई भाइको महत्त्व राम्ररी थाहा थियो। त्यसैले त उसले पटकपटक भाइलाई दुखेको छ कि छैन भनेर सोधिरहेकी थिइन्। भाइलाई दुखाइ नहोस् भनेर औषधि छ कि छैन भन्दै चिन्ता गरिरहेकी थिइन्। त्यो उमेरमा पनि भाइप्रतिको उनको माया र जिम्मेवारीको भावना देख्दा मन भावुक भयो।
चिकित्सकका रूपमा हामी दिनहुँ यस्ता धेरै घटना देख्छौँ। कसैका लागि ती एउटा दुर्घटना, एउटा शल्यक्रिया वा एउटा अस्पताल भर्ना मात्र हुन सक्छन्। तर, बिरामी र उसको परिवारका लागि त्यो एउटा यस्तो क्षण हुन्छ, जसले उनीहरूको जीवनभरको सम्झनामा ठाउँ बनाउँछ।
त्यस दिन मैले एउटा कुरा अझ नजिकबाट महसुस गरेँ– चाडपर्वको वास्तविक खुसी महँगा उपहार, नयाँ लुगा, टीका र दक्षिणामा मात्र हुँदैन। आफ्ना प्रियजन सकुशल साथमा हुनु नै सबैभन्दा ठूलो खुसी रहेछ।
कहिलेकाहीँ जीवनले हामीलाई एकैछिनमा यति ठूलो पाठ सिकाउँछ कि त्यसका अगाडि हाम्रा सबै उत्सव र तयारीहरू साना लाग्न थाल्छन्।
डा. अखण्ड उपाध्याय
आवासीय चिकित्सक
एमडीजीपी तथा इमर्जेन्सी मेडिसिन
किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल