भनिन्छ, छैंटीको दिन भाग्य लेख्न छैंठी देवी आउँछिन् र भाग्य कोरेर जान्छिन्। भाग्यवादको मनोविज्ञान जन्मदेखि नै प्रारम्भ हुने हाम्रो समाज पुरातन समाज हो कि उन्नत समाज हो? यो प्रश्नको उत्तर त्यति सजिलो भने छैन। विज्ञानमा विश्वास गर्नु अन्धविश्वासलाई चिर्ने उत्तम उपाय हो। मेडिकल शिक्षाको विद्यार्थी भएको नाताले म स्वास्थ्यमा भएका क्रान्तिका गाथाहरू नजिकैबाट नियाल्न र अनुभव गर्न सक्छु। बिफरको उन्मूलनदेखि हैजाको नियन्त्रणसम्म विज्ञान निकै प्रभावशाली रहेको कुरा जगजाहेर छ। तर अस्पतालमा काम गर्दै गर्दा कति बिरामीमा हुने कति प्रक्रियालाई म व्याख्या गर्न सक्दिनँ। त्यो मेरो ज्ञानको अभाव हो भन्न सकिन्छ। वा, अनगिन्ती कुराहरू खोज्न बाँकी नै छन् भनेर बुझ्न सकिन्छ।
एकजना बूढा बाजे हुम्लामा मुटु दुखेर जिल्ला अस्पताल पुगेछन्। त्यहाँ ईसीजी गर्दा हृदयाघात भएको थाहा भएछ। त्यसको उपचारका लागि ‘एस्पिरिन’बाहेक अरू औषधि उपलब्ध नरहेको र थप उपचार गर्न नेपालगन्ज पठाएका रहेछन्। साँझ भइसकेको कारणले प्लेन उड्ने कुरा भएन। अर्को दिनको पहिलो उडानमा नेपालगन्ज पुग्छन्। त्यहाँबाट पनि कुनै कारणवश काठमाडौँ जाने निधो गर्छन् र गंगालालको इमर्जेन्सीमा बल्ल चार दिनमा आइपुग्छन्। त्यहाँ औषधि उपचार सुरु गरेर अर्को दिन कोरोनरी एन्जियोग्राम गरिन्छ। त्यो कोरोनरी एन्जियोग्रामको रिपोर्ट पूर्ण रूपमा ठीक आउँछ। बाजे स्वस्थ भएर घर फर्किन्छन्।
त्यही दिनको अर्को घटना पनि सँगसँगै उल्लेख गर्नुपर्ने हुन्छ। एक जना बूढानीलकण्ठ बस्ने ६५ वर्षीय व्यक्ति, मधुमेहको औषधि खाने, शारीरिक कसरत पनि गर्ने र स्वास्थ्य चेतना भएका एक धनाढ्य व्यक्ति, एकाएक इमर्जेन्सीमा बेहोस अवस्थामा आइपुग्छन्। छाती दुखेको १० मिनेट नबित्दै घरपरिवारले उनलाई इमर्जेन्सीमा ल्याइपुर्याएका थिए। तर, उनलाई जति प्रयास गरे पनि त्यो कार्डियाक अरेस्टबाट जोगाउन सकिएन। त्यही बेला एक जनाले भन्छन्, “दिन आएपछि कसैको केही नलाग्ने रहेछ।” हठात् मेरो मनमा प्रश्न उब्जिन्छ, “मृत्यु त सत्य कुरा नै हो। तर, के कार्डियाक अरेस्ट हुनेबित्तिकै छाती थिच्ने प्रक्रिया (सीपीआर) सुरु गरेको भए बाँच्थे त?” सटिक उत्तर मलाई पनि थाहा छैन।
दुवै जनालाई भएको त हृदयाघात नै थियो। तर, परिणाम फरक देखियो। आखिर किन त्यस्तो फरक देखियो त? भाग्यवादी चिन्तनले त लेखेको टर्दैन नै भन्नुपर्यो। तर, ती दुवै जनाका सन्दर्भमा सोधिनुपर्ने प्रश्नहरू अरू धेरै छन्। के उनीहरूको खानपान एउटै थियो होला? के उनीहरूमा तनाव एउटै किसिमको र मात्राको थियो? के उनीहरूमा मोटोपन एउटै थियो त? के उनीहरू बस्ने हावापानीको प्रदूषण उस्तै थियो? के दुवै जनाको जीवनका महत्त्वाकांक्षा उस्तै तनावपूर्ण थिए त?
एक जनाले रेस्टुरेन्ट कहिल्यै नदेखेको भने अर्को व्यक्तिले संसार देखेको, खाएको। एक जनाको ज्यानमा बोसो नै थिएन सायद। इस्टकोट र पुरानो सर्ट-पाइन्टभित्र थियो उनको दुब्लो-पातलो ज्यान। बूढानीलकण्ठवासीको भने पेट ठूलो, ज्यान भारी थियो। ती हुम्लाका बाजेलाई मधुमेह आदि रोग थिएन।
स्वास्थ्यको सामान्य जाँच गर्न उनको सामान्य आयले दिँदैनथ्यो। तर, गाउँघरतिर पिरमर्का र चिसोको साथी चुरोट भने खान्थे। अर्कोले चुरोट नखाए पनि मधुमेह भने थियो। स्वास्थ्यको बडो चिन्ता थियो। डाक्टर घरमै थिए। हुम्लाका बाजे वायु प्रदूषण न्यून भएको स्थानमा हुर्केका थिए भने अर्को बाजे वायु प्रदूषण संसारकै उच्च रहेको स्थानमा जीवनभर श्वास फेरेका थिए। ती हुम्लाका बाजेको सबैभन्दा उच्च महत्त्वाकांक्षाको नाममा आफ्नो खेतमा १० मुरी कोदो उमार्न पाए हुन्थ्यो भन्ने थियो। अर्को सहरिया बाजेको महत्त्वाकांक्षाको वर्णन गर्नका लागि मापदण्ड हरेक महिना परिवर्तन भइरहन्थे होला। यसरी यावत् कुराहरूको तालमेलले गर्दा व्यक्तिको शरीरको बनावट फरक हुन्छ। र, शरीरको रोगसँग लड्ने क्षमता पनि फरक पर्छ नै।
तर, ललाटमा लेखेको कुरा भनेर कतिपय नियन्त्रणभित्रका मुद्दाहरू पनि ओझेलमा परेका हुन्छन्। अन्त्यमा, तर्क सकिएपछि घुमीफिरी गरिने एउटै प्रश्न हुन्छ: दस मिनेट नबित्दै मुटुको अस्पताल पुगेको मान्छेलाई त बचाउन सकिएन, बचाउने भए बाँच्नुपर्ने होइन र? यो प्रश्नको उत्तर खोजेर म आफ्नो पेसाको शान्ति भङ्ग गर्न चाहन्नँ।
दैनिक जीवनमा विरोधाभासका क्षणहरू नियमित देख्न पाइन्छ। ९० वर्षको बाजे चुरोट खाँदै छन्। तर, पनि स्वस्थ र फुर्तिला देखिन्छन्। सोही समयमा २२ वर्षको कुनै खराब लत नभएको व्यक्तिलाई हृदयाघात देखिन्छ। यी सबै व्यक्तिगत अनुभवका दृष्टान्त हुन्। यो समष्टिगत जनसङ्ख्याका लागि लागू हुँदैन। तथ्याङ्कको गणितीय हिसाबले पनि सो कुरा पुष्टि गर्दैन। तर, हाम्रो पूर्वाग्रह निर्माण गर्न मद्दत गर्दछ। र, भनिन्छ, लेखेको कतै-कहिल्यै जाँदैन। के थाहा! ती व्यक्तिको आनुवंशिक गुणमा कुनै दोष हुन सक्छ। सत्य के हो भने चुरोट एउटा हानिकारक तत्त्व हो। र, यसको प्रवर्द्धन गर्न कुनै एक दृष्टान्त र व्यक्तिगत अनुभवको आधार काफी हुँदैन। ९० वर्षीय बाजेको चुरोटको कथा सबै जनालाई लागू गर्न मिल्दैन। र, भाग्यलाई सबै कारक तत्त्व मान्न पनि मिल्दैन। तथापि, अन्त्यमा फेरि एउटै प्रश्न आउँछ, “मनुष्यको आयु किन फरक हुन्छ त? भाग्य नभए के हो त?” यसको पनि उत्तरमा डुब्न चाहन्नँ म।
अब हामी वास्तविक कुरामा प्रवेश गरौँ। कुनै व्यक्तिको जीवनमा जन्मिने समयको नक्षत्र र ग्रहले बेजोड असर गर्ने रहेछ भने एउटै समयमा जन्मिएका व्यक्तिहरू यो संसारमा हजारौँ होलान्। तर, सबै आइन्स्टाइन पनि बन्दैनन्। सबै नेपोलियन पनि बन्दैनन्। सबै बालेन्द्र शाह पनि बन्दैनन्। सबै हिटलर पनि बन्दैनन्। एकै समयमा त धेरै जनाको जन्म भएको हुन्छ। तर, ती सबैको जीवनको मैदान एउटै त हुँदैन। सबैले आ-आफ्नो मैदानमा विभिन्न गुणस्तरको कर्म गरिरहेका हुन्छन्। त्यसैले त कर्म र इच्छाशक्तिले सिञ्चित नगरेको जीवनको मैदानबाट ग्रह-नक्षत्रका भरमा मात्रै अब्बल व्यक्ति निस्किँदैन। त्यस्तो हो भने के ज्योतिष विज्ञान केवल छद्म विज्ञान मात्रै हो त? गणितले भविष्यको लेखाजोखा गर्ने विज्ञान कसरी छद्म हुन सक्छ त?
गणितीय अभ्यासले मस्तिष्कका स्नायुकोषिकाहरूको विकास गर्न त राम्रै भूमिका खेल्छ भन्ने सिद्ध होला। तर, यो भविष्य निर्धारण गर्नकै लागि बनेको थियो भन्ने कुरामा भने संशय छ। खगोलशास्त्रसँग मिल्दोजुल्दो ज्योतिषशास्त्र ठूला-ठूला पिण्ड र ग्रहहरूको एकअर्काप्रतिको आकर्षण र विकर्षणको मापन गर्न विकास भएको हुन सक्छ। जस्तै, चन्द्रमाले पूर्ण आकार लिएको दिन अर्थात् पूर्णिमाको दिन समुद्रमा छाल बढेर आउँछ। समुद्रको छालमा उतारचढाव हुन्छ भन्ने स्थापित वैज्ञानिक आधार छ। त्यसैले ती सबै ग्रह, तारा आदिले पृथ्वीमा बसेका जीवहरूलाई कत्ति पनि असर नगर्लान् भन्न सकिन्न। प्रभाव परे पनि निकै न्यून मात्रामा असर हुन्छ।
ग्रहहरू पनि पञ्चतत्त्व अर्थात् जल, पृथ्वी, तेज, वायु र आकाशले बनेका हुन्छन्। अति सूक्ष्म अध्ययन गरेर हेर्दा प्रोटोन, न्युट्रोन र इलेक्ट्रोनले बनेका हुन्छन्। हाम्रो शरीर पनि त्यही पञ्चतत्त्वले बनेको हुन्छ। त्यसैले कुनै एक व्यक्तिको सबैभन्दा नजिकको ग्रह भनेको उसका वरिपरिका मान्छेहरू हुन्। घरपरिवार, साथीभाइ र इष्टमित्र हुन्। अझै भन्नुपर्दा आफैँभित्र रहेको सुषुप्त ऊर्जा हो। व्यक्ति आफैँ एउटा पिण्ड भएकोले एउटा ग्रह हो भनेर मान्न सकिन्छ, जसमा असीम ऊर्जा हुन्छ। ती मान्छेहरूले बनेको समाजमा हुर्किँदा त्यो व्यक्तिको भविष्य निर्माण हुने हो। आफूभित्रको चिन्तन, मनन र विचारहरूले सो व्यक्तिको भविष्य निर्माणमा प्रत्यक्ष भूमिका हुन्छ।
मनुष्य जन्मिएपछि एक दिन मृत्यु वरण गर्नै पर्छ। अस्पतालमा उपचारको क्रममा सबैभन्दा बढी प्रभाव पार्ने पिण्ड (अर्थात् ग्रह) भनेको त उपचारमा खटिएका डाक्टर, नर्सलगायत स्वास्थ्यकर्मी होलान् नि! लाखौँ कोस पर देखिने नवग्रह एवं नक्षत्रले गर्ने नगण्य प्रभावलाई लिएर सम्पूर्ण विज्ञान, प्रशासन आदिको भूमिकालाई ओझेलमा पार्नु त जायज नहोला नि? प्रशासनले विविध कारणवश गुणस्तरीय सरसामान खरिद गरेन। समयमा बेड व्यवस्थापन गर्न सकिएन। उपचारमा सीधा असर पर्छ। राज्यले जथाभावी मेडिकल शिक्षालाई प्रवर्द्धन गरेर गुणस्तर नपुगेका मेडिकल कलेजलाई सम्बन्धन दियो। काँचो र अर्धज्ञान लिएर डाक्टर र नर्स उपचार गर्ने ठाउँमा पुग्छन्। उपचार त गुणस्तरीय हुन सक्दैन। मेडिकल शिक्षाको फलको गुणस्तर जाँचभन्दा फलको सङ्ख्या र व्यापारमा मख्ख पर्ने राज्यको नीतिले के प्रत्यक्ष उपचारमा असर नपर्ला त?
चौतर्फी अकर्मण्यता, अव्यवस्था र नालायकीपनको परिणामलाई ग्रहगोचर र भाग्य आदिसँग जोडेर व्यक्तिको भाग्यवादको विश्वासलाई मलजल गरिरहन मिल्दैन। कर्मले मनुष्यको जीवनको फल तय हुन्छ। ग्रह-नक्षत्रको ज्योतिषीय गणितले केही मार्गदर्शन त गर्ला। तर, भविष्यको फल दिन्छ भन्ने कुरामा विश्वास गर्नु सर्वथा गलत हुन्छ।
लाखौँ योजन पर रहेका ग्रह र नक्षत्रले के व्यक्तिलाई जन्मेको समयका आधारमा त्यति विघ्न असर गर्लान् त? नजिकै रहेको उपग्रह चन्द्रमाले पारेको असर त हामी समुद्रको छालमा देख्छौँ। चन्द्रमाभन्दा कयौँ दूरीमा रहेका ग्रह एवं ताराहरूका पिण्डले मनुष्यको भविष्यको रूपरेखा निर्माण गर्ने तागत राख्छन् होला त? त्यस्तो हुने भए त एउटै समयमा जन्मिएका सबै व्यक्तिहरूको भविष्य एउटै हुनुपर्ने होइन र? हुन सक्छ, सत्ययुग, त्रेता र द्वापर युग वास्तवमै थिए भने पनि सो समयका मनुष्यको शरीरको आकार भीमकाय हुन्थ्यो भनेर भनिन्छ। त्यसैले ग्रह-उपग्रहहरूले ठूलो पिण्डमा बढी प्रभाव पार्थे होला। ती सबै काल्पनिक कुरा भए।
ज्योतिषशास्त्रको मलाई किञ्चित् ज्ञान छैन। त्यसैले त्यसमा धेरै टिप्पणी गर्ने मेरो मनसाय केही पनि छैन। मेरो हैसियत पनि छैन। मलाई यति मात्रै थाहा छ कि त्यसमा गणितीय सूत्रले केही क्रमहरू बन्छन्। यत्रतत्र छरिएका अङ्क र स्थानको केही ढाँचाक्रम अवश्य बन्छ। प्याटर्न रिकग्निसनको सोही आधारमा गरिने भविष्यफल सबै जनाका लागि सबै कुरा सही हुँदैन। यसमा भविष्यवाणीभन्दा पनि भविष्यफल भनिन्छ। त्यो फल वास्तवमा कर्मको फल हो, भविष्यको फल भने होइन। के तथ्याङ्क र गणितले ज्योतिषशास्त्रबाट भनिएको भविष्यफललाई प्रमाणीकरणको लालमोहर लगाएको छ त? यसका जानकारहरूले प्रमाणसहित मलाई भनिदिनुहुन विनम्र आग्रह छ।
ज्योतिष, भविष्यफल र कर्मको बहस त सधैँ यस्तै चलिरहन्छ। मैले यो लेख्नु मेरो कर्म हो। यसको प्रतिक्रिया आउनु यसको फल हो। कर्मको फलमा आफ्नो विश्वास मजबुत गरौँ। दुर्गा भवानीले ती योजन परका पिण्डहरूभन्दा आफूभित्र नियाल्ने र साधना गर्ने मार्ग देखाऊन्।
(डा खनाल चिकित्सा शास्त्र अध्ययन संस्थान (न्याम्स)मा डीएम कार्डियोलोजी गरिरहेका छन्)