भनिन्छ, मनुष्यले आफ्नो जीवनको आयु लिएर आएको हुन्छ। यो भाग्यवादी चिन्तनको उपज हो भनेर भन्न मिल्ने दृश्य धेरै देखिन्छन्। जीवनलाई चलचित्रको पर्दामा जस्तै दृश्य अवलोकन गर्यो भने ईश्वरको अस्तित्वमा प्रश्न गर्न मिल्ने ठाउँ धेरै हुन्छन्। एउटा चिन्तनशील प्राणी भएको नाताले मनुष्यको दिमागमा एउटा प्रश्न पक्कै जन्मिन्छ, "के व्यक्तिको भाग्य पूर्व निर्धारित हुन्छ? के यो पृथ्वीमा हामी फगत एक पात्र मात्रै हौँ?"
दुर्गम पूर्वी तराईको कुनै जिल्लाबाट एक ५० वर्षीया महिला र उनका श्रीमान् उपचार गर्न वीर अस्पताल आइपुग्छन्। एक दिन दिउँसो १ बजेतिर वीर अस्पतालको भिडभाडमा ईको (Echocardiography) कक्ष बाहिर ती महिला एक्कासि ढल्छिन्। श्वास बन्द हुन्छ। नाडी पनि चल्दैन। मुटु पनि एकाएक बन्द हुन्छ। ती महिलालाई भुइँमा मुडोजस्तै ढलेको देख्ने व्यक्तिले तुरुन्तै "एको" कक्षमा अत्तालिँदै नर्स र डाक्टरलाई डाक्छन्। मेरा सहकर्मी साथी डाक्टरले नाडी जाँच्ने बित्तिकै 'कार्डियाक एरेस्ट' हो भनेर निर्क्योल गरेर छाती थिच्ने कार्य (सिपिआर) सुरु गरिहाल्छन्। म पनि तुरुन्तै जान्छु र उनलाई बोकेर छाती थिच्दै, अक्सिजन दिँदै इमर्जेन्सी पुर्याउँछौँ। उनको इसिजी हेर्दा 'कम्प्लिट हार्ट ब्लक' देखिन्छ, जसका लागि अविलम्ब अस्थायी पेसमेकर राखिन्छ। त्यसपछि केही दिनमा स्थायी पेसमेकर राखेर घर पठाउँछौँ।
उनलाई तराईको कुनै अस्पतालबाट वीर अस्पताल जान भनेर प्रेषण (Refer) गरिएको थियो। उनको झम्मझम्म पार्ने समस्या सुरुमा त सामान्य नै थियो। त्यही सामान्य मानिएको समस्याका लागि तराईको एउटा अस्पतालबाट वीर अस्पताल प्रेषण गरेका थिए। हाम्रा मन्त्रीज्यूले भनेजस्तो सामान्य मानेर प्रेषण नगरेको भए ज्यान जोगिने थियो होला र? त्यसैले मन्त्रीज्यू, स्वास्थ्यको हकमा कुन सामान्य मान्ने र कुन असामान्य मान्ने भन्ने निर्क्योल व्यक्ति अनुसार फरक पर्न सक्छ।
ती महिला ६ महिनापछि आउँछिन्। उनलाई कुनै समस्या देखिएको छैन। आफ्नो काम मज्जाले गर्छिन् र उनी पहिलेजस्तै स्वस्थ देखिन्छिन्। कुरा के हो भने यतिका वर्षमा उनको शरीरले एउटा पेसमेकर आर्जन गरेको छ, जसको तारले उनको मुटु चलायमान गराइरहन्छ। आवश्यक परेका बेला मुटुको चाल निकै कम हुनबाट रोक्छ।
उनी कुर्सीमा टुसुक्क बस्छिन्। उनले खानुपर्ने औषधि केही पनि छैन। औषधि नदिएकोमा उनलाई अचम्म लागेको रहेछ। उनको पेसमेकरले राम्रो काम गरिरहेकै छ।
एउटा मुस्कान फिँजारेर टुटेफुटेको भोजपुरीमा म सोध्छु, "क्या हाल बा?"
उनी संशयका साथ भन्छिन्, "डाक्साप, अब हमार शरीर ब्याट्रीके भर चली? भगवान ब्याट्रीमे सवार हे कि डाक्टरमे।" यो जिज्ञासाले भरिएको प्रश्न सुनेर मलाई मानव शरीर, चिकित्सा र रहस्यमय ईश्वरका बारेमा विचारहरू उत्पन्न हुन थाले। उनलाई आफ्नो मुटु ब्याट्रीले चलिरहेको छ भन्ने कुरामा नै अचम्म लागिरहेको थियो। के उनले आफ्नो शरीर र टिभीको रिमोटको ब्याट्री एउटै मानेकी होलिन् त?
उनको श्रीमान् र उनमा मेडिकल उपचारमा भगवान् भन्दा बढी विश्वास जागेको देखिन्छ। अहिलेका बिरामीहरूको बढ्दो अविश्वासका बीचमा कहिलेकाहीँ महसुस गर्न सकिने सुखद घटना हुन् यो, जसमा व्यक्तिले चिकित्सकलाई साँच्चै मनदेखि नै विश्वास गर्छन्।
उनको कुरा सुनेर मलाई ईश्वरीय सत्तामाथि प्रश्न जन्मियो। उनको मुटु पेसमेकरको तार र ब्याट्रीमा अडिएको छ। के उनको कार्डियाक एरेस्ट अस्पताल बाहिर कतै बाटोमा भएको भए पेसमेकर राख्ने समय हुन्थ्यो? के उनी बन्द भएको मुटुमा पुनः जीवन प्राप्त गर्न सक्थिन्? त्यो समय रातिको हुन्थ्यो भने के उपचार त्यति नै शीघ्र हुने थियो? वा बाँच्न लेखेको मान्छे जसरी पनि बाँच्छ भनेर कोरा तर्क गर्ने हो त?
उनी "एको" कक्षबाहिर करिडोरमा एक्कासि ढल्नु र सबैजना त्यहाँ उपस्थित हुनु केवल एउटा संयोग थियो त? अहिलेका शिक्षा मन्त्रीज्यूले यो कुरालाई संयोग नमान्नुभएमा आभार हुने थिएँ। १० कक्षासम्मको पाठ्यक्रममै 'कार्डियोपल्मोनरी रिससिटेसन' (सिपिआर) को ज्ञान हुनु अनिवार्य हो। त्यसलाई अविलम्ब विना सर्त समावेश गर्न सकेमा शिक्षाले नयाँ पुस्तालाई प्रत्यक्ष जीवन बचाउने सीप विकास गर्नेछ। जति एआईमा अभ्यस्त भए पनि यो सीप त एआईले गरेर ज्यान जोगाउन मुस्किल नै पर्नेछ।
मनुष्यको आयु पूर्व निर्धारित हुने हो भने स्वास्थ्यका कार्यक्रमहरू यति विघ्न किन चाहिन्थ्यो होला? नेपालीहरूको औसत आयु वि.सं. २०२० तिर ४० वर्ष थियो भने हाल त्यो बढेर सरदर ७० वर्ष पुगेको छ। यो सबै कुरा जीवनशैलीको ज्ञान, रोग नियन्त्रण र उपचार विधिको कारणले भएको हो। के यो सबै पनि ईश्वरले चाहेर नै बढेको हो? मातृ मृत्युदर, बाल मृत्युदर लगायतका स्वास्थ्यका सूचकहरू भाग्यकै बलमा सुधार भएका हुन् र? तथ्याङ्क भ्रमित छन् भनेर भन्न त विवेकशील प्राणीले पक्कै मिल्दैन।
विश्व टेक्नोलोजीको दुनियाँमा अभूतपूर्व फड्को मारेको छ। नयाँ प्रविधिको विकाससँगै मनुष्यको आयु र जीवनको गुणस्तर बढ्ने नै छ। पर्यावरण सङ्कटले मनुष्यलाई धोका नदिएमा रोगव्याधिको उपचारमा कुनै कमी हुने देखिन्न। अहिले एलोन मस्क भन्ने धनाढ्यको सम्पत्ति मूल्य ट्रिलियन डलर पुग्न लागेको छ। उनी अन्तरिक्ष र मङ्गल ग्रहमा बस्ती बसाल्ने सपना देखेर बस्छन्। उनको उदयपश्चात् युएसएआईडीले दिने सहयोग कटौतीको कारणले अफ्रिकामा लाखौँको सङ्ख्यामा मानिसहरू औलो (मलेरिया), क्षयरोग र एचआईभीको औषधि अभावले मर्ने क्रममा छन्। उनको मस्तिष्कले पृथ्वीमै बाँचिरहेका सग्ला मनुष्यहरूलाई किन हेला गरेको होला? र उनी जीवनरहित अन्तरिक्ष उडानमा लागिपरेका छन्। उनी मानवताको कुनचाहिँ सगरमाथा चढ्ने दौडमा छन्? सामान्य विश्लेषण गर्दा त उनी मानवताको कसौटीमा सानो सगरमाथा चढेजस्तो पनि लाग्दैन। उनलाई पृथ्वीको भन्दा बढी चिन्ता अन्तरिक्षको छ!!
ती सबै अबोध मनुष्यलाई भगवान् भरोसा नै छोड्ने हो त? उपचार पद्धतिले काम नगरेको भए औसत आयु के बढ्थ्यो होला? र औषधिको आपूर्ति रोकिने बित्तिकै मृत्यु सङ्ख्या बढ्नुमा कुनचाहिँ आध्यात्मिक दृष्टिले व्याख्या गर्ने होला त? मेरो अध्यात्ममा त्यति पहुँच छैन। पहुँच पुगेको व्यक्तिले सम्झाउनुभएमा सहर्ष सुन्नेछु।
यी सोझा प्रश्नहरू अध्यात्मवादीहरूलाई गर्दा ईश्वरीय सत्तालाई सबैथोकको कारक मान्ने गर्छन्। यो सन्दर्भमा अध्यात्मवादीहरूलाई प्रश्न गर्दा रिसाउन सक्छन्। अध्यात्मको गहिराइ मैलेचाहिँ बुझेको छैन। त्यसैले अध्यात्म मिसिएको दृष्टिकोणमा म आफ्नो विचार दिन चाहन्न। यस सन्दर्भमा भाग्यवादीहरूलाई प्रश्न गर्नु उचित होला। अकर्मण्यतालाई नै भाग्य मान्ने हो भने त बहस गर्नु नै निरर्थक हुन्छ।
यी सबै प्रश्नोत्तर गर्दागर्दै म अचेल नास्तिक भएको छु। कर्ममा बढी विश्वास गर्न पुगेको छु। तर, एउटा कुरा भने मलाई पनि अचम्म लाग्छ। हुम्लामा हृदयघात भएको एउटा व्यक्ति काठमाडौँ वीर अस्पतालसम्म तीन दिन लगाएर आइपुग्दा पनि जीवित नै हुन्छ, मुटु सग्लो र बलियो नै हुन्छ र सफल उपचार गरेर जान्छ। तर वीर अस्पताल नजिकै असनमा घर भएको व्यक्ति लक्षण देखिएको १० मिनेटमा अस्पताल आउँदा पनि मुटु एकाएक बन्द भएर जति छाती थिचे पनि, जति औषधि दिए पनि सफल हुन सकिन्न। निराश हुन्छ चिकित्सकीय उपचार। हाम्रो निरीहतामा खित्का छोडेर हाँस्ने होला त्यो शरीरबाट निस्किएको प्राणपखेरु। कहिलेकासो कविशिरोमणि लेखनाथ पौड्यालको कविता पनि सान्दर्भिक लाग्छ: "आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टारेर टर्दैन त्यो..."
तर कर्ममा विश्वास गर्नु नै मुक्तिको बाटो हो। नदेखिएको वा देख्न नसकेको ईश्वरीय सत्तालाई नायक मानेर अल्मलिनुभन्दा आफैँले अनुभव गर्न सकिने कर्म र मानवताको सिद्धान्तलाई पछ्याउनु नै उत्तम मार्ग हो।
सर्वे भवन्तु सुखिनः।
उही
नास्तिक चिकित्सक।