काठमाडौं- टाइम फर्मास्युटिकल्स लिमिटेडले आफूद्वारा उत्पादित मधुमेहको औषधि ‘ग्लिपिड–१’ (GLIPID-1, ब्याच नं. GM-070) गुणस्तरहीन नरहेको प्रष्टीकरण दिएको छ। औषधि व्यवस्था विभागले ब्याच नं. GM-070 को उक्त औषधि फिर्ता (Recall) गर्न निर्देशन दिएपछि सामाजिक सञ्जाल तथा मिडियाहरूमा भ्रामक सामग्री प्रसार भएको भन्दै कम्पनीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
कम्पनीका प्रबन्ध सञ्चालक सुदर्शन लाल श्रेष्ठद्वारा जारी विज्ञप्ति तथा विभागमा पठाइएको पत्र अनुसार, राष्ट्रिय औषधि प्रयोगशाला र उद्योगको परीक्षण विधि (Method) फरक परेका कारण यो अवस्था सिर्जना भएको हो। United States Pharmacopeia (USP) को गाइडलाइनमा ‘Test 1’ वा ‘Test 2’ जुनसुकै विधिबाट पनि परीक्षण गर्न सकिने उल्लेख छ। राष्ट्रिय औषधि प्रयोगशालाले ‘USP Dissolution Test-I Method’ बाट परीक्षण गरेको र कम्पनीले आफ्नै क्वालिटी कन्ट्रोल शाखाको 'कन्ट्रोल सेम्पल' लाई ‘USP Dissolution Test-II Method’ बाट परीक्षण गर्दा ४५ मिनेटमा ९३ प्रतिशत ‘ड्रग रिलिज’ भई औषधि पास भएको कम्पनीको भनाइ छ।
विभागको सूचना अनुसार औषधि फिर्ता गर्ने प्रक्रिया अघि बढाइसकिएको भए पनि फर्मास्युटिकल्सले सम्पूर्ण अनुसन्धान प्रतिवेदन विभागमा पेश गरी पुनरावलोकनका लागि निवेदन दिइसकेको जनाएको छ। कम्पनीले आफ्ना सबै औषधि फार्माकोपिया मापदण्ड पास भएपछि मात्र बजारमा पठाउने गरेको स्पष्ट पार्दै फर्मास्युटिकल्सका अध्यक्ष डा. जि. नारायण बहादुर क्षेत्रीले भण्डारणको कमजोर अवस्थाले पनि औषधिमा असर पर्न सक्ने भन्दै थोक, खुद्रा र अस्पतालका भण्डारण कक्षमा अन्तर्राष्ट्रिय मापदण्ड कडाइका साथ पालना गराउन विभागसँग आग्रह गरेका छन्।
सामाजिक सञ्जालका भ्रामक सामग्रीले बिरामी र स्वास्थ्यकर्मीमा सिर्जना गरेको अन्योलप्रति क्षमा माग्दै कम्पनीले सत्यतथ्य बुझेर मात्र सूचना सम्प्रेषण गर्न अनुरोध गरेको छ।
