भाद्र १० गते बुधबार नेपाल–चीन सीमाबाट सुरु भएको भोटेकोशी र त्रिशूली नदीको बाढीले तत्काल रसुवा, नुवाकोट र धादिङ आसपासका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको आधा महिनाभन्दा बढी भइसकेको छ। के–कति क्षति भयो भन्ने पूर्ण विवरण आउन अझै बाँकी छ। तर, भौगोलिक विविधता र विकटता रहेको हाम्रो जस्तो देशमा यस्ता विपत्तिले पहिले पनि दुःख दिँदै आएका छन् र भविष्यमा पनि आउन सक्छन्।
प्राकृतिक विपत्तिले पुर्याएको क्षतिबाट मानिसहरूको उद्धारमा सुरक्षाकर्मी, विभिन्न क्षेत्रका स्वयंसेवक तथा अन्य नागरिक अथक रूपमा खटिन्छन्। उद्धार गरी घाइतेहरूलाई तत्काल वा स्वास्थ्य संस्थासम्म ल्याइसकेपछि स्वास्थ्यकर्मीहरूले आफ्नो तर्फबाट सक्दो प्रयास गर्दै घाइतेहरूको उपचार र हेरचाहमा दिनरात खटिनुपर्छ।
कुनै ठूलो दुर्घटना वा प्राकृतिक विपत्ति हुँदा राज्यका विभिन्न अंगहरू स्वतः परिचालित हुन्छन्। कुनै अंग सम्बन्धित स्थानमा प्रत्यक्ष उद्धारमा खटिन्छ भने कुनै अंगले उद्धार कार्यलाई अझ प्रभावकारी कसरी बनाउने भन्ने नीति तथा योजना निर्माण गर्छ। कुनै अंग उपचारमा खटिन्छ। यसरी सम्पूर्ण शक्ति घटनास्थलमा प्रत्यक्ष भौतिक रूपमा उपस्थित भएर मात्र होइन, विभिन्न तरिकाले उद्धार कार्यमा संलग्न हुन्छ।
सुरक्षाकर्मी र स्वयंसेवक प्रत्यक्ष उद्धारमा खटिन्छन् भने राज्यको अर्को अंग प्रशासनले आकस्मिक उद्धार कार्यलाई अझ प्रभावकारी बनाउने तथा आवश्यक परे अन्तराष्ट्रिय सहयोग आह्वान गर्ने विषयमा समन्वय र योजना बनाउँछ। स्वास्थ्यकर्मीहरू हेल्थ डेस्क वा अस्थायी उपचार केन्द्र स्थापना गरी प्राथमिक उपचार तथा स्वास्थ्य सेवा दिन्छन् भने कतिपय अस्पतालमा नै खटिएर थप उपचार गर्ने काम गर्छन्। यसरी राज्यका अन्य अंगहरू पनि प्रत्यक्ष र अप्रत्यक्ष रूपमा विपद् व्यवस्थापनको प्रक्रियामा संलग्न हुन्छन्।
तर प्राकृतिक विपत्तिले ठूलो क्षति गरेर गएपछि त्यसले केही दिन अर्को चुनौती पनि छाडेर जान्छ- त्यो हो सरुवा रोग तथा महामारीको जोखिम।
यसका लागि सबै सतर्क र उक्त जोखिमसँग लड्न तथा त्यसलाई रोक्न तयार अवस्थामा बस्नुपर्छ। प्राकृतिक विपत्ति कहिले, कहाँ र कसरी आउँछ भन्ने निश्चित हुँदैन। तर विपत्तिपछि उत्पन्न हुन सक्ने स्वास्थ्य जोखिम र रोगको सम्भावनाबारे भने पहिले नै जानकार भएर आवश्यक तयारी गर्न सकिन्छ।
त्यसका लागि स्वास्थ्यकर्मी (चिकित्सक, नर्स, हेल्थ असिस्टेन्ट, अहेब, अनमी लगाय) प्रत्यक्ष प्रभावित स्थलमा खटिएर बिरामीको उपचार तथा हेरचाह गर्छन्। तर प्रभावित क्षेत्रमा फैलिएको रोग के हो, त्यसको सम्भावित कारक के हो र त्यसको पहिचान कसरी गर्ने भन्ने काममा प्रयोगशालाको भूमिका अत्यन्त महत्त्वपूर्ण हुन्छ।
प्रयोगशाला प्राबिधिकको भुमिका
प्रभावित क्षेत्रमा फैलिएको रोग के हो, त्यसको सम्भावित कारक के हो र त्यसको पहिचान कसरी गर्ने भन्ने काममा पर्दापछाडिको नायकका रूपमा प्रयोगशाला प्राविधिक तथा प्रयोगशालाकर्मीको भूमिका आउँछ।
विपद्पछिको जनस्वास्थ्य अवस्था चुनौतीपूर्ण र भयावह हुन सक्छ। विपद्को केही दिनपछि नै थप स्वास्थ्य समस्याहरू खडा हुन सक्छन्। खानेपानीको मुहान दूषित हुनु र स्वच्छ खानेपानीको अभाव हुनु, पर्याप्त सरसफाइ नहुनु, भीडभाड र अव्यवस्थित बसोबास हुनु, पर्याप्त तथा पोषणयुक्त खानाको अभाव हुनु, फोहोरमैला व्यवस्थापनमा कठिनाइ हुनु तथा मृत जनावरका कारण वातावरणीय जोखिम बढ्नुजस्ता समस्याले प्रभावित क्षेत्रमा विभिन्न रोग फैलिने सम्भावना बढाउँछन्।
बाढीले घर, सडक र धनजनको क्षति त पुर्याउँछ नै, त्यसपछि प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा निम्त्याउने जनस्वास्थ्य समस्या पनि उत्तिकै गम्भीर हुन्छन्। खानेपानीको मुहान प्रदूषित हुँदा स्वच्छ तथा सुरक्षित खानेपानीको अभाव सिर्जना हुन्छ। यदि प्रदूषित पानी सेवन गरियो भने त्यसबाट विभिन्न पानीजन्य रोग फैलिन सक्छन्।
घर बगेका वा विस्थापित भएका मानिसहरूलाई राखिने शिविर तथा होल्डिङ सेन्टरमा पर्याप्त सुविधा र सरसफाइ कायम गर्न कठिन हुन सक्छ। घरसँगै खाद्यान्नसमेत बगेको अवस्थामा पर्याप्त तथा पोषणयुक्त खानाको अभाव हुन सक्छ। फोहोरको उचित व्यवस्थापन गर्न कठिनाइ हुने भएकाले विपद्पछि विभिन्न सरुवा रोग फैलिने सम्भावना उच्च रहन्छ।
यस्ता अवस्थामा पानीबाट सर्ने रोग, हावाबाट सर्ने रोग तथा कीटजन्य रोगको जोखिम बढ्न सक्छ। झाडापखाला, हैजा, टाइफाइड, भाइरल ज्वरो, रुघाखोकी, इन्फ्लुएन्जा, कोभिड–१९, क्षयरोग, डेंगु, स्क्रब टाइफस, जापानिज इन्सेफलाइटिस, हेपाटाइटिस, दादुरा, मलेरिया, आउँ तथा विभिन्न चर्मरोगजस्ता रोगहरू देखिन सक्छन्। त्यसैले विपद्पछि यस्ता रोगको निगरानी तथा समयमै पहिचान अत्यन्त आवश्यक हुन्छ।
यी रोगबाट प्रभावित बिरामीको उपचार तथा हेरचाह चिकित्सक, नर्स, हेल्थ असिस्टेन्ट, अहेब, अनमी लगायतका स्वास्थ्यकर्मीले गर्छन्। तर रोगको प्रयोगशाला परीक्षण, सम्भावित कारकको पहिचान तथा रोगको अवस्था बुझ्न आवश्यक नमूना संकलन र परीक्षणमा प्रयोगशाला प्राविधिकको भूमिका हुन्छ।
सम्बन्धित घटनास्थलमा गएर मानिसको उद्धार गर्नु एउटा पक्ष हो भने, त्यसपछि उत्पन्न हुने विभिन्न स्वास्थ्य समस्याको पहिचान र नियन्त्रण अर्को महत्त्वपूर्ण पक्ष हो। विपद्पछि विभिन्न सरुवा रोगको जोखिम बढ्ने भएकाले प्रभावित क्षेत्रबाट आवश्यकताअनुसार पानीको नमूना, बिरामीको रगत, दिसा, पिसाब, खकार, स्वाब लगायतका नमूना संकलन गरिन्छ।
संकलित नमूनालाई सही र सुरक्षित तरिकाले पहिचान खुल्ने गरी प्याकिङ, भण्डारण तथा ढुवानी गरी प्रयोगशालासम्म पुर्याउने काम गरिन्छ। त्यसपछि नमूनाको आवश्यक परीक्षण गरी रोगको पहिचानमा सहयोग गर्ने र सही परीक्षण परिणाम सम्बन्धित निकायमा पठाउने काम प्रयोगशाला प्राविधिक गर्छन्।
तर यो सामान्य वा सजिलो काम पक्कै होइन। नमूना संकलनको प्रक्रिया आफैंमा एउटा संवेदनशील र चुनौतीपूर्ण प्रक्रिया हो। नमूना संकलन गर्दा प्राविधिकले सर्वप्रथम आफ्नो सुरक्षा सुनिश्चित गर्नुपर्छ। त्यसका लागि जोखिमअनुसार आवश्यक व्यक्तिगत सुरक्षा सामग्री (PPE) प्रयोग गर्नुपर्छ।
स्वास्थ्य जोखिम रहेको वा स्वास्थ्य समस्या देखिएको स्थानमा चिकित्सक वा सम्बन्धित स्वास्थ्यकर्मीले बिरामीको अवस्था तथा लक्षणका आधारमा आवश्यक परीक्षण सिफारिस गर्न सक्छन्। सोही आधारमा आवश्यक नमूना संकलनको कार्य सुरु हुन्छ।
खानेपानीको मुहानमा प्रदूषणको शंका लागेमा पानीको नमूना संकलन गरी आवश्यक परीक्षणका लागि प्रयोगशालामा पठाइन्छ।
भाइरल रुघाखोकी, इन्फ्लुएन्जा, कोभिड–१९ लगायतका श्वासप्रश्वाससम्बन्धी संक्रमणको अनुसन्धानमा आवश्यकताअनुसार स्वाब तथा अन्य उपयुक्त नमूना संकलन गरिन्छ।
डेंगु, मलेरिया, टाइफाइड, स्क्रब टाइफस, जापानिज इन्सेफलाइटिस, हेपाटाइटिस, दादुरा लगायत विभिन्न रोगको परीक्षणका लागि रोग र परीक्षणको प्रकृतिअनुसार रगत वा अन्य उपयुक्त नमूना संकलन गरिन्छ। झाडापखाला, आउँ तथा हैजाजस्ता संक्रमणको अनुसन्धानका लागि दिसाको नमूना संकलन गरिन्छ। क्षयरोगको परीक्षणका लागि खकारको नमूना संकलन गरिन्छ। यसरी संकलित नमूनालाई सुरक्षित र वैज्ञानिक तरिकाले प्याकिङ, भण्डारण तथा ढुवानी गरी प्रयोगशालासम्म पुर्याउने र प्रयोगशालामा आवश्यक विधिबाट परीक्षण गरी परिणाम सम्बन्धित ठाउँमा पठाउने काम प्रयोगशाला प्राविधिकको महत्त्वपूर्ण जिम्मेवारी हो। प्रयोगशालाबाट प्राप्त परीक्षण परिणाम तथा अन्य क्लिनिकल र महामारीसम्बन्धी सूचनाका आधारमा चिकित्सक तथा सम्बन्धित स्वास्थ्य निकायले बिरामीको उपचार, थप परीक्षण, निगरानी तथा सार्वजनिक स्वास्थ्यका आवश्यक कदम अगाडि बढाउन सक्छन्। यसले रोगको समयमै पहिचान, निगरानी तथा नियन्त्रणमा सहयोग पुर्याउँछ र समुदायमा सम्भावित महामारी फैलिनबाट रोक्न महत्त्वपूर्ण योगदान दिन्छ।
प्राकृतिक विपत्तिको समयमा सुरक्षाकर्मी उद्धारमा,चिकित्सक-नर्स उपचारमा र प्रशासन व्यवस्थापन तथा समन्वयमा अग्रपंक्तिमा देखिन्छन्। बिपद पछिको महामारी रोगको पहिचान र महामारीको निगरानीमा प्रयोगशाला प्राविधिकको योगदान पर्दापछाडि रहेर पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। प्रभावित क्षेत्रमा पुगेर जोखिमपूर्ण अवस्थामा नमूना संकलन गर्नु, नमूनालाई सुरक्षित रूपमा प्रयोगशालासम्म पुर्याउनु, वैज्ञानिक विधिबाट परीक्षण गर्नु र समयमै सही परीक्षण परिणाम उपलब्ध गराउनु आफैंमा चुनौतीपूर्ण काम हो।त्यसैले प्राकृतिक विपत्तिका बेला प्रयोगशाला प्राविधिक केवल प्रयोगशालाभित्र सीमित रहने जनशक्ति होइनन्। उनीहरू रोगको पहिचान, संक्रमणको निगरानी, प्रकोप अनुसन्धान र महामारी नियन्त्रणको महत्वपूर्ण आधार हुन्।