काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा राना मगरले रसुवालगायत बाढी प्रभावित क्षेत्रका पीडितको स्वास्थ्य उपचार तथा मानसिक स्वास्थ्यमा सरकारले विशेष ध्यान दिनुपर्ने बताएकी छन्।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राना मगरले बाढी तथा विपद्का कारण धेरै मानिस शारीरिक समस्यासँगै मानसिक समस्यामा परेको बताइन् ।
आफू पनि नुवाकोटको विदुर नगरपालिकामा बालबालिका तथा महिलालाई उद्धार गर्ने क्रममा प्रत्यक्ष रुपमा सहभागी भएको बताउँदै उनले उद्धार गरिएका कतिपयमा स्वास्थ्य समस्या देखिएको र धेरैजना मानसिक समस्यामा रहेको समेत बताइन् ।
उनले विपद्पछि मानसिक स्वास्थ्य उपचार र पुनस्र्थापनाका लागि पर्याप्त अस्पताल तथा पुनस्र्थापना केन्द्रको अभाव रहेको बताइन् । आर्थिक रूपमा सक्षम व्यक्तिले निजी क्षेत्रबाट उपचार पाउने अवस्था भए पनि गरिब तथा विपन्न परिवारका पीडितले उपचार पाउन कठिनाइ हुने उनले बताइन् ।
सांसद राना मगरले विपद्का कारण सबै सम्पत्ति गुमाएका नागरिकलाई उपचार खर्चको भारसमेत आफैंले बोक्नुपर्ने अवस्था सिर्जना हुन नहुने बताइन् । बाढीपीडितलाई उपचारका लागि विभिन्न अस्पतालमा पठाउँदा सम्बन्धित स्थानीय तह वा वडामार्फत आवश्यक कागजात तथा परिचयपत्रको व्यवस्था गर्नुपर्ने उनको सुझाव छ ।
विपद् प्रभावित नागरिकको थप उपचार खर्च सरकारले नै व्यहोर्नुपर्नेमा उनले बताइन् ।
उनले बाढीपीडितको आधारभूत आवश्यकता पूरा गर्नु राज्यको दायित्व भएको बताउँदै विपद्का बेला सरकारले थप संवेदनशील भएर काम गर्नुपर्ने उल्लेख गरिन् ।