बिहान करिब ८ बजेतिर आँखा खुल्दा म अस्पतालको बेडमा थिएँ। हातमा क्यानुला थियो। टाउको भारी थियो। भित्र कतै मस्तिष्क उम्लिएजस्तो दुखिरहेको थियो। छेउको सोफामा मेरो दाइ र अरुण जी (प्रिय मित्र) हुनुहुन्थ्यो।
एकछिन मलाई अनौठो लाग्यो। केही क्षण म चुपचाप वरिपरि हेर्दै रहें। म कहाँ छु? मलाई के भएको हो? उत्तर कतै थिएन।
मैले दाइलाई सोधेँ। उहाँले अलि झर्किएजस्तो गर्दै भन्नुभयो, “अहिले मज्जाले सुत, आराम गर। धेरै नसोच।”
मलाई दाइ किन झर्किनुभयो भन्ने पनि अनौठो लाग्यो। त्यसपछि अरुण जीलाई सोधेँ। उहाँले भन्नुभयो, “राजा, तपाईंले यो कुरा सयौँ पटक सोधिसक्नुभयो।”
म स्तब्ध भएँ। अक्क न बक्क भएँ। मनमनै सोचेँ-सयौँ पटक? मलाई त पहिलो पटक सोधेजस्तो लागिरहेको थियो। त्यो क्षण मेरो मस्तिष्कले आफूलाई नै विश्वास गर्न सकेन।
केही धमिला दृश्यहरू मानसपटलमा घुमिरहेका थिए। म अस्पतालको शय्यामा हुँदा डा. चेतराज जोशी, डा. निरज अर्याल, डा. सन्तोष र अरू एक जना चिकित्सकले मलाई हेरेर गएको जस्तो लागेको थियो। तर, त्यो वास्तविकता थियो कि सपना, छुट्याउन सकिरहेको थिइनँ।
मसँग अघिल्लो रातको करिब १२ घण्टाको कुनै सम्झना थिएन।
२०८३ साल भदौ ४ गते, बिहीबार साँझ।
धनगढीमा हाम्रो फुटसल खेल्ने एउटा समूह छ। स्वास्थ्य क्षेत्रमा काम गर्ने बूढादेखि तन्नेरी साथीहरू ग्रुपमा छन्। साँझ ७ देखि ८ बजेसम्मको समय बुक थियो।
म कहिलेकाहीँ मात्र खेल्छु। म खेलाडी त होइन, तर त्यहाँ गएर भागदौड गर्न रुचाउँछु। म फुटबलको एकदमै सुरुवाती चरणमा छु। करिब ४० वर्षको उमेरमा फुटबलजस्तो खेल खेल्न खोज्नु पनि जोखिमताले भरिपूर्ण निर्णय थियो। बिना कुनै प्रशिक्षक र पर्याप्त वार्मअपबिना खेल्न खोज्नु मूर्खताका साथै केटाकेटीपन नै थियो।
सायद यही कारणले गर्दा होला, धेरै पटक सामान्य चोट लागिसकेको थियो। एकदिन त बल चस्मामा लाग्यो। चस्मा भाँचियो र फ्रेमले निधारमा चोट लाग्यो। धन्न, त्यो दिन आँखा बच्यो।
केही दिन फुटसल गइनँ। अबदेखि खेल्दिनँ भन्ने लाग्यो। तर, केही दिनपछि साथीभाइहरूसँग रमाइलोका लागि फेरि खेल्न थालेँ।
सधैँझैँ त्यो दिन पनि हतारहतारमा फुटसलतिर पुगेँ। जुत्ता, मोजा लगाएपछि सामान्य वार्मअप गरेँ। खेल सुरु हुँदासम्म मलाई याद छ।
त्यसपछि?
त्यसपछिको करिब १२ घण्टा मेरो जीवनबाट हरायो।
साथीहरूले पछि सुनाएअनुसार खेल सुरु भएको १५–२० मिनेटमै म लडेछु। म प्रायः दायाँतर्फ स्ट्राइकर भएर खेल्छु। मेरै टिमका खेलाडी ओम जीले मलाई बल पास दिनुभयो। बल रोक्ने क्रममा मेरो खुट्टा बलमाथि परेछ। बल अगाडि गयो र म पछाडि उत्तानो बजारिएछु। टाउकोको पछाडिको भाग भुइँमा ठोक्किएछ।
“झ्वाम्म” भएको जस्तो एउटा धमिलो अनुभूति भने अहिले पनि कताकता याद छ।
त्यसपछि उठेर “म अब गोलकिपर बस्छु” भनेर मनिषजीलाई भनेको दृश्य पनि दिमागमा आउँछ। तर, त्यो दृश्य पनि कति वास्तविक हो, कति स्मृतिको टुक्रा हो, म निश्चित छैन।
साथीहरूका अनुसार त्यसपछि पनि केही समय मैले खेलिरहेँ। बाहिरबाट हेर्दा म सामान्य देखिन्थेँ।
करिब ३० मिनेटमा पानी ब्रेक भयो। मैले पानी खाएँ। केहीबेर बसेँ। खेल पुनः सुरु भएपछि भने म खेलिनँ। मेरो ठाउँमा अर्को भाइ खेल्यो। म बाहिर पानी खान जाने–आउने गरिरहेको थिएँ।
साथीहरूले 'अप्ठ्यारो त भएको छैन?' भनेर सोध्दा मैले सामान्य व्यवहार गरिरहेको थिएँ रे। तर, मेरो मस्तिष्कभित्र भने केही ठीक थिएन।
खेल सकिएपछि साथीहरू घर फर्किन थाले। मैले रमेश दाइलाई भनेँ रे, 'म अलि डिसओरियन्ट भइरहेको छु।'
त्यसपछि हामी फुटसलसँगै जोडिएको क्याफेमा गयौँ। पानी र लेमोनेड खाएर केहीबेर आराम गर्यौँ। साथीहरू कुर्सीमा बसे। म भने टेबलमै पल्टिएँ।
त्यतिबेला करिब ८:४० बजिसकेको थियो।
मेरो दिनचर्या लगभग निश्चित हुन्छ। बिहानदेखि बेलुकीसम्म प्रत्येक घण्टाको योजना तय हुन्छ। यो मामिलामा म निकै क्याल्कुलेटेड व्यक्ति छु।
फुटसल ८ बजे सकिन्छ, सवा ८ बजेतिर घर पुग्छु, खाना खान्छु, नुहाउँछु अनि ल्यापटप खोलेर लोकसेवाको जनस्वास्थ्य अधिकृत पदका उम्मेदवारहरूलाई सहजीकरण गर्छु भनेर समय दिएको थिएँ।
त्यसैले घरबाट फोन आइरहेको रहेछ। सफल एजुकेसनका मनोज भाइले पनि तीनपटक फोन गर्नुभएको रहेछ। श्रीमतीको फोन आएको रहेछ। घरबाट पटक–पटक फोन आएको रहेछ। मलाई भने केही पनि थाहा भएन।
कल विवरण हेर्दा करिब ९ बजेदेखि साढे ९ बजेसम्म मैले घरमा फोन गरेर “मलाई घर आउन ढिला हुन्छ, हल्का चोट लागेको छ, अस्पताल जाँदैछु” भनेको रहेछु। मैले त्यो कुरा भनेको पनि मलाई सम्झना छैन।
त्यस रात म एउटै कुरा बारम्बार सोधिरहेको रहेछु।
'मलाई बान्ता भयो कि भएन?'
'मलाई के भएको हो?'
'म किन यहाँ छु?'
'मैले घरमा फोन गरेँ कि गरिनँ'
साथीहरूका अनुसार मैले केही समयको अन्तरालमा एउटै प्रश्न दोहोर्याइरहेको थिएँ।
रमेश दाइलाई म अभिभावकजस्तै मान्छु। सायद अवचेतन मनमा बसेको त्यो विश्वासका कारण पनि होला, मैले उहाँलाई पटक–पटक “म डिसओरियन्ट भइरहेको छु” भन्दै रहेछु।
साथीहरू बिस्तारै चिन्तित हुन थाले। केहीले चिकित्सक साथीहरूलाई फोन गरेर सल्लाह लिए। कसैले अस्पताल लैजानुपर्छ भने। कसैले घरमा लगेर आराम गराएपछि ठीक होला भने।
अन्ततः मलाई घर पुर्याउने निर्णय भयो।
रमेश दाइले मेरो गाडी चलाउनुभयो। म अगाडिको सिटमा बसेँ। अरुण जी स्कुटरमा पछाडिपट्टि हुनुहुन्थ्यो।
अरुण जी मेरो अत्यन्तै घनिष्ठ मित्र पनि हुनुहुन्छ। भाग्यले साथ दियो भने हामी भविष्यमा सम्धी पनि हुन सक्छौँ भनेर ठट्टा गर्ने गर्छौँ।
फुटसलबाट मेरो घरतर्फ करिब १–२ किलोमिटर पुगेपछि मैले गाडीमा पनि “मलाई बान्ता भयो कि नाइँ?” जस्ता प्रश्न दोहोर्याउन थालेँ रे।
ओम जी, सूर्य जीलगायतका साथीहरूलाई अवस्था सामान्य नलागेको भन्दै अस्पताल लैजाने निर्णय भयो।
सूर्य जीले सकेसम्म सरकारी अस्पताल जानुपर्छ भनेर सेती प्रादेशिक अस्पताल गयौँ। आकस्मिक कक्षबाहिरको अत्यधिक भीड देखेपछि नवजीवन अस्पतालतर्फ गाडी मोड्यौँ। त्यहाँ मैले चिनेका साथीहरू थिए।
त्यो अस्पतालमा पुगेपछि गाडीबाट ओर्लेर म आफैँ हिँडेर आकस्मिक कक्षसम्म गएको रहेछु।
मेरा साथीहरूले डा. निरज अर्याल (रेडियोलोजिस्ट, अस्पताल सञ्चालक एवं मेरा सिनियर शुभचिन्तक) र डा. चेतराज जोशी (घनिष्ठ मित्र) लाई फोन गरे। उहाँहरू तुरुन्तै आउनुभयो।
सिटी स्क्यान गरियो। सिटी स्क्यान गरेर फर्किसकेपछि रमेश दाइले मलाई सोध्नुभयो रे, 'भाइ, सिटी स्क्यान गरेको याद छ?'
मैले 'हो र? मलाई याद छैन' भनेँ रे।
त्यतिन्जेलसम्म मैले व्यक्तिलाई चिनेर नै बोलिरहेको थिएँ रे। सबै कुरा सामान्य थियो, तर बितेका कुरा याद थिएनन्।
मेरो रिपोर्ट आएपछि डा. निरजले हेर्नुभयो। अवस्था तत्काल अत्यन्तै गम्भीर नदेखिएको बताउनुभयो।
टाउकोमा चोट थियो, तर केही दिनमा अवस्था सुधार हुने अपेक्षा थियो। आवश्यक चिकित्सकीय मूल्याङ्कनपछि मलाई अस्पतालमै भर्ना गरियो।
त्यतिबेला राति करिब ११–१२ बजिसकेको थियो।
सुविधासम्पन्न केबिनमा भर्ना भएपछि केही साथीहरू घर गए। त्यो रात मैले कुरुवाहरूलाई धेरै सताएछु। म बारम्बार एउटै कुरा सोध्ने रहेछु। फेरि केही समयपछि त्यही कुरा दोहोर्याउँथेँ।
फोन गर्न खोज्थेँ। श्रीमतीलाई फोन गरेर 'म अस्पतालमा छु' भन्थेँ। केही समयपछि फेरि त्यही कुरा दोहोर्याउने गर्थेँ।
मेसेन्जरमा च्याट पनि गरेछु। अस्पतालको बेडमा बसेर फोटो खिचेर पठाएछु।
मेरी श्रीमतीले अरुणजीलाई फोन गरेर सबै कुरा बुझिसकेकी थिइन्। अहिले त्यतिबेला उनले पठाएको मेसेज हेर्दा हाँसो उठिरहेको छ। उनले लेखेकी छिन्:
'आजदेखि नो फुटसल, अब कसैले फुटसल खेल्न बोलायो भने आई स्वियर, आई विल किल देम।'
मैले उनलाई राम्ररी नै मेसेज गरेको रहेछु- 'चिन्ता नगर, सामान्य चोट हो, एक–दुई दिनमा ठीक भइहाल्छ, तिमीलाई धेरै सम्झिरहेको छु' जस्ता मेसेज छन्।
त्यो फोटो र शब्द हेर्दा अहिले पनि मलाई अचम्म लागिरहेको छ। सुरुमा त मलाई यी मेसेजहरू कसले गरेको हो भन्ने लागेको थियो। पछि प्याटर्न हेर्दा मैले नै गरेको भन्ने कुरा विश्वास गर्न गाह्रो भइरहेको छ।
एकपटक दाइले मेरो अवस्थाबारे चिन्ता गर्दै भन्नुभएछ, '“यो धेरै व्यस्त हुन्छ। पढ्ने, लेख्ने, खेल्ने, काम गर्ने कुरामा आफूलाई धेरै व्यस्त राख्छ। यसले आफूलाई धेरै दुःख दिएको छ। अब ठीक भएपछि यसको लाइब्रेरीमा ताला लगाइदिन्छु।'
अरुणजी भने अझै चिन्तित हुनुहुन्थ्यो। उहाँले दाइलाई आफूले पैसाको जोहो गरिदिने, भारतको बरेली जाने वा भोलि काठमाडौँको अस्पताल लैजाने कुरा गर्नुभएको रहेछ।
त्यो रात उनीहरूका लागि पनि सजिलो थिएन।
करिब २–३ बजेसम्म म प्रश्न सोधिरहेको थिएँ रे। दाइले दिक्क मानी कोठाबाहिर निस्कनुभएछ। बत्ती खुल्ला भएपछि यो निदाउँदैन, प्रश्न सोधेर हैरान गर्छ भनेर बत्ती निभाउनुभएछ। अरुण जी म तिर ढाड फर्काएर सुत्नुभयो। मैले सोधेका प्रश्नको प्रतिक्रिया दिन बन्द गर्नुभयो।
केही समयपछि म निदाएँ।
अरुण जीले पछि भन्नुभयो, म निदाएर घुर्न थालेपछि बल्ल उहाँले राहतको सास फेर्नुभयो रे।
बिहान फेरि आँखा खुल्यो। करिब ८ बजेको थियो।
सम्झिँदै गर्दा केही दृश्यहरू दिमागमा घुमिरहेका थिए। सपना थियो कि विपना भनेर कन्फ्युज थिएँ।
अघिल्लो दिन दिउँसो करिब पौने ३ बजे मन्त्रालयबाट कल आएको थियो। भूतपूर्व मुख्यमन्त्रीज्यूको कल थियो। मन्त्रालयमा भेट्न बोलाउनुभएको थियो। उहाँसँगै अन्य विशिष्ट व्यक्तित्वसँग भेटेको थिएँ।
सवा ३ बजे मेरो प्रोफेसरसँग भर्चुअल मिटिङ थियो। अलिकति ढिला हुने भएकाले मैले क्षमायाचनासहित मिटिङलाई २० मिनेट पोस्टपोन्ड गर्न मेसेज गरेको झैँ लागेको थियो।
मैले तुरुन्तै ह्वाट्सएप खोलेँ। त्यो कुरा सप्रमाण थियो।
त्यसपछि मैले अघिल्लो दिनलाई मोबाइल, कल विवरण र साथीहरूको बयानबाट जोड्न थालेँ।
बिहानैदेखि मेरा सहकर्मी र शुभचिन्तकहरू भेट्न आउन थाले। 'छोरालाई के भयो होला?' भनेर मेरा बुवाको चिन्तासहितको उत्सुक अनुहार अझै याद आइरहेको छ। आत्तिएर आमाले कल गरेको आवाज अझै कानमा गुन्जिरहेको छ।
जागिरको सिलसिलामा मेरी श्रीमती मभन्दा करिब ६० किलोमिटर टाढा छिन्। उनी नेपाल सरकारको सिभिल इन्जिनियरका रूपमा महेन्द्रनगरमा कार्यरत छिन्। सातौँ महिनाको गर्भवती भएकाले उनलाई चिकित्सकले सकेसम्म लामो यात्रा नगर्न सुझाउनुभएको थियो। मेरो अवस्था देखेर कष्टपूर्ण यात्रा गरेर आइपुगिन्।
उहाँहरू सबैको माया, प्रेम र सद्भावले भावुक भएँ। मलाई केही भएको भए मेरो घरपरिवारको के हालत हुन्थ्यो होला जस्तो लाग्यो।
म प्रायः गल्तीबाट सिक्ने मानिस हुँ।
अस्पताल बसाइका दौरानमा मैले एउटा कुरा गहिरो बोध गरेँ- कोही मानिस बिरामी भएर अस्पतालमा भर्ना भएको छ भने एकचोटि भेट्न जानुपर्ने रहेछ। बिरामी र उसको अभिभावकलाई निकै हौसला मिल्ने रहेछ।
मैले यो कुरालाई अज्ञानतावश बिर्सिरहेको रहेछु।
कसैलाई दुःख पर्दा हाम्रो समाजमा आफन्तजनहरू भेट्न जाने परम्परा निकै आत्मीय रहेछ। हाम्रा गाउँघरका कोही बिरामी अस्पतालमा छन् भनेपछि मेरा आमाबुवा सकेसम्म भेट्ने प्रयास गर्नुहुन्थ्यो। यस्तो गर्नुपर्छ भन्ने बोध धेरै जनामा रहेछ।
मलाई आफ्नो व्यवहार सम्झिँदा ग्लानि भयो। म सकेसम्म अरूको कुभलो चिताउँदिनँ। कोही बिरामी भएको थाहा पाएपछि फोनमार्फत सहयोग गर्ने प्रयास गर्थेँ, तर भौतिक रूपमा भेट्न विरलै जान्थेँ।
यो कुरामा म चुकिरहेको रहेछु।
यस विषयमा मैले आत्मसमीक्षा गरेँ।
मैले फुटसलमा विशेष सावधानी अपनाउनुपर्ने देखेँ। फुटसलमा अनिवार्य रूपमा एक जना प्यारामेडिक्सको व्यवस्था गर्नुपर्ने महसुस गरेँ। नियमित खेल्नेहरूको त अनिवार्य स्वास्थ्य बिमा गराउनुपर्ने रहेछ। फुटसलले अनिवार्य रूपमा कुनै अस्पतालसँग सम्झौता गरेको भए सहज हुने देखेँ।
टाउकोमा चोट लागेपछि पनि मानिस बाहिरबाट सामान्य देखिन सक्ने रहेछ।
१२ घण्टाका लागि त म ‘गजनी’ चलचित्रको नायकजस्तै भएछु।
चिकित्सकीय भाषामा यसलाई पोस्ट-ट्रमेटिक एम्नेसिया भनिँदो रहेछ।
ऊ हिँड्न सक्छ।
बोल्न सक्छ।
हाँस्न सक्छ।
फोन गर्न सक्छ।
सामान्य प्रश्नको जवाफ दिन सक्छ।
तर, चोट लागेपछि ऊ डिसओरियन्ट हुन्छ। घटनाहरू सम्झन सक्दैन। केही व्यक्तिले केही घटनाहरू मात्रै सम्झिन सक्छन्। त्यसलाई ‘आइजल्याण्ड अफ मेमोरी’ भन्ने रहेछ।
उसको मस्तिष्कभित्र के भइरहेको छ, बाहिरबाट हेरेर मात्र थाहा नहुने रहेछ।
त्यो रात मेरा साथीहरूले जति गरे, त्यसका लागि म सधैँ ऋणी रहनेछु। कथमकदाचित् मलाई एक्लै छोडिदिएको भए के हुन्थ्यो, म कल्पना पनि गर्न सक्दिनँ।
म भाग्यमानी थिएँ।
मेरा वरिपरि त्यतिबेला मेरा साथीहरू थिए।
विशेष उपचारका लागि नवजीवन अस्पताल परिवारलाई धेरै–धेरै धन्यवाद दिन चाहन्छु।