काठमाडौं- देशकै ठूलो र जेठो वीर अस्पतालमा क्यान्सरका बिरामीका लागि सञ्चालनमा रहेको अत्याधुनिक 'टोमोथेरापी' प्रणालीको सेवा जुनसुकै बेला अवरुद्ध हुनसक्ने जोखिम बढेको छ।
वीर अस्पतालले विगत तीन वर्षदेखि मेसिन आपूर्तिको रकम भुक्तानी नगरेपछि आपूर्तिकर्ता कम्पनीले आर्थिक संकटमा परेको भन्दै टोमोथेरापी मेसिनमा कुनै प्राविधिक खराबी वा ब्रेकडाउन भएमा त्यसबाट हुने सेवा अवरोध तथा खर्चको जिम्मेवारी कम्पनीले लिन नसक्ने स्पष्ट पारेको छ।
आपूर्तिकर्ता कम्पनी 'लाइफलाइन ट्रेड इन्टरनेसनल प्रा.लि.' ले टोमोथेरापीको ३० प्रतिशत रकम अस्पतालले तीन वर्षदेखि नदिएको भन्दै उक्त रकम तत्कालै उपलब्ध गराउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा असोज १ गते पत्र पठाएको छ। लाइफलाइनले स्वास्थ्य मन्त्री निशा मेहताको सचिवालयमा दर्ता गराएको पत्रको दर्ता नम्बर १५१ रहेको छ।
स्वास्थ्य मन्त्रालयका एक कर्मचारीले स्वास्थ्यखबरलाई उपलब्ध गराएको उक्त पत्रमा लाइफलाइनले मन्त्रालयलाई 'अत्यन्तै दुःख र गम्भीरताका साथ वीर अस्पतालबाट भएको अन्यायपूर्ण व्यवहार तथा त्यसबाट उत्पन्न परिस्थिति'का विषय भन्दै मन्त्रालयमा पत्र पठाउँदै रकम उपलब्ध गराउन भनेको छ।
स्विट्जरल्यान्डमा रहेको बहुराष्ट्रिय कम्पनी एक्युरे इन्टरनेशनलको आधिकारिक च्यानल पार्टनर रहेको लाइफलाइन ट्रेड इन्टरनेसनलले स्वास्थ्य मन्त्रीलाई सम्बोधन गर्दै बुझाएको पत्रमा वीर अस्पतालले सम्झौता अनुसार भुक्तानी नगर्दा आफूहरू गम्भीर आर्थिक संकटमा परेको जनाएको छ। लाइफलाइनको दाबी अनुसार वीर अस्पतालबाट कम्पनीले टोमोथेरापी मेसिनको ३० प्रतिशत अर्थात करिब २० करोड रुपैयाँ भुक्तानी हुन बाँकी छ।
स्वास्थ्य मन्त्रालयका उच्च तहका एक कर्मचारीले लाइफलाइनको पत्र प्राप्त भएको र उक्त विषयमा के गर्ने भन्ने विषयमा छलफल भइरहेको जानकारी दिए। 'उहाँहरुको पत्र प्राप्त भएको छ। पत्रसँगै उहाँहरुले उपलब्ध गराएको विवरण हेर्दा उहाँहरुलाई वीर अस्पतालबाट रकम उपलब्ध गराउनु पर्ने देखिन्छ,' ती कर्मचारीले भने, 'अब यो विषयमा मन्त्रालयले छलफल गरेर आवश्यक प्रक्रिया अगाडि बढाउँछ।'
वीर अस्पतालका एक कर्मचारीले यो विषय पहिला अदालत र अहिले मन्त्रालयसम्म पुगेकाले मन्त्रालयबाट के निर्णय भएर आउँछ वीरले त्यही अनुसार काम अगाडि बढाउने जानकारी दिए।
अदालतको आदेश र फैसला कार्यान्वयनको निर्देशन
उच्च अदालत र सर्वोच्च अदालतले समेत भुक्तानी उपलब्ध गराउन र फैसला कार्यान्वयन गर्न आदेश तथा अन्तिम चेतावनीसहितको पत्र जारी गर्दा पनि वीर अस्पतालले भुक्तानी नगरेको आपूर्तिकर्ता कम्पनीको आरोप छ।
उच्च अदालत पाटनले मिति २०८०/११/०२ मा नै वीर अस्पतालका नाममा भुक्तानी उपलब्ध गराउन निर्देशनात्मक आदेश जारी गरिसकेको भए पनि अस्पतालले कार्यान्वयन गरेको छैन। उच्च अदालत र सर्वोच्च अदालतले पटक-पटक पत्राचार गर्दा पनि वीर अस्पतालले 'अन्कोलोजी विभागीय प्रमुखको संयोजकत्वमा गठित अध्ययन समितिको प्रतिवेदन प्राप्त भई प्रक्रिया अगाडि बढिरहेको' बहाना बनाएर भुक्तानी रोकेको लाइफलाइनले मन्त्रालयमा बुझाएको पत्रमा उल्लेख छ।
अदालतको आदेश/फैसला पालना नगरी अटेर गरी बसेको भन्दै सर्वोच्च अदालत, फैसला कार्यान्वयन निर्देशनालयले मिति २०८३/०५/२५ मा अन्तिम ताकेता पत्र काटेको छ। निर्देशनालयले पत्र प्राप्त भएको १५ दिनभित्र भुक्तानी गरी जानकारी पठाउन निर्देशन दिँदै अन्यथा सातौँ पटक पत्राचार गर्दा पनि अटेर गरेको ठहर गरी सम्बन्धित जिम्मेवार पदाधिकारीमाथि 'अदालतको आदेश अवज्ञा' सम्बन्धी कानुनी कारबाही अघि बढाउने कडा चेतावनी दिएको छ।
कहिले भएको थियो खरिद?
कम्पनीका अनुसार सन् २०१७ मा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स/वीर अस्पताल) संग सम्झौता भई ल्याइएको उक्त अत्याधुनिक मेसिन प्राविधिक कारण, कोभिड महामारी तथा मेसिनमा पुगेको क्षतिपछि कम्पनीले आफ्नै खर्चमा प्रतिस्थापन गरी १८ अक्टोबर २०२३ देखि सञ्चालनमा ल्याएको थियो। ५ वर्षको वारेन्टीसहित जडान गरिएको भए पनि मुख्य उत्पादक कम्पनीले क्षतिग्रस्त मेसिनको ठाउँमा २ वर्षको मात्र वारेन्टी स्वीकृत गरेपछि बाँकी ३ वर्षको वारेन्टी लाइफलाइन स्वयंले थप खर्च व्यहोरेर किनेको थियो। तर वीर अस्पतालबाट भुक्तानी नभएपछि मुख्य उत्पादक कम्पनीलाई रकम तिर्न नसक्दा उत्पादकले प्रणालीको सपोर्ट सेवा रोकिसकेको पत्रमा उल्लेख छ।
आपूर्तिकर्ता कम्पनी लाइफलाइनका प्रबन्ध निर्देशक उदय कर्णद्वारा हस्ताक्षरित पत्रमा वीर अस्पतालको गैरजिम्मेवार व्यवहारका कारण अबका दिनमा टोमोथेरापी मेसिनमा कुनै प्राविधिक खराबी वा ब्रेकडाउन भएमा त्यसबाट हुने सेवा अवरोध तथा खर्चको जिम्मेवारी कम्पनीले लिन नसक्ने स्पष्ट पारिएको छ। यदि वीरको लापरवाहीले क्यान्सर उपचारको यो महत्वपूर्ण सेवा रोकिएमा त्यसको सम्पूर्ण कानुनी र दण्डात्मक जिम्मेवारी वीर अस्पताल र सम्बन्धित पदाधिकारीहरूकै हुने चेतावनी दिँदै बक्यौता रकम तत्काल भुक्तानीका लागि मन्त्रालयसँग सहजीकरणको माग गरिएको छ।
के हो टोमोथेरापी?
टोमोथेरापी क्यान्सर उपचारको परम्परागत रेडियोथेरापीभन्दा आधुनिक प्रविधि हो। टोमोथेरापीमा विकीरण (रेडिएसन) का माध्यमबाट त्रीआयामिक रुपमा क्यान्सरग्रस्त कोषको उपचार गरिन्छ। हरेकपटक रेडियोथेरापी गर्नुअघि ‘कम्प्युटेड टोमोग्राफी’ (सिटी) स्क्यानरले रौं बराबर पनि फरक नपर्ने गरी ठ्याक्कै क्यान्सरग्रस्त कोषमा रेडिएसन दिनुका साथै ट्युमरमा हुने परिवर्तन अनुगमन गरी त्यसै अनुरुप रेडिएसन सुनिश्चित गर्छ।
टोमोथेरापीले क्यान्सरग्रस्त कोषमा मात्रै रेडिएसन दिने भएकाले क्यान्सर भएको भागको वरिपरिका स्वस्थ कोषमा रेडिएसनको प्रभाव पर्दैन। त्यसैले रेडियोथेरापीको तुलनामा टोमोथेरापीबाट उपचार गर्दा रेडिएसनको साइड इफेक्ट न्यून हुने चिकित्कसहरु बताउँछन्। सिटी स्क्यान जस्तै टोमोथेरापी उपकरण चौडा, खुला र गोलाकार भएकाले बिरामीले सजिलोसँग सुतेर उपचार गर्न सक्छन्।
टोमोथेरापीमा ३६० डिग्रीबाट बिरामीको शरीरमा जहाँसुकै पनि सहज उपचार गर्न सकिन्छ। टोमोले हजारौं ससाना रेडिएसन प्रयोग गर्ने हुँदा जति मात्रा आवश्यक छ त्यति मात्र र जस्तोसुकै कोणबाट पनि रेडिएसन दिएर उपचार गर्न सम्भव बनाउँछ।
टोमोथेरापीबाट रेडिएसन अंकोलोजिस्टहरूले धेरै प्रकारका क्यान्सर (सामान्य क्यान्सरदेखि जटिल क्यान्सरसम्म) को सहज र सफल उपचार गर्न सक्छन्। टोमोथेरापी मस्तिष्क क्यान्सर र सामान्य ब्रेन ट्युमर, टाउको, घाँटी र मुखको क्यान्सर, ब्रेस्ट क्यान्सर (दुख्ने र सुन्निने ब्रेस्ट क्यान्सर समेत), फोक्सोको क्यान्सर, छालामा हुने क्यान्सरहरू, प्रोस्टेट क्यान्सर (सुरु अवस्थादेखि पूर्ण विकसित अवस्थासम्म), भोजन नली र पाचन प्रणालीका क्यान्सर, सर्भाइकल, ओभ्यारियन, भेजिनल तथा भल्भ र गर्भासय क्यान्सर, कोलोन, पेट, रेक्टल र एनल क्यान्सर, कलेजो र फियो क्यान्सर, शरीरका विभिन्न ठाउँमा भएका विस्तारित क्यान्सर, प्रत्यारोपणअघि गरिने रगतसम्बन्धी रोगको उपचार (जस्तैः ल्युकेमिया) लगायतको उपचारमा प्रयोग गर्न सकिन्छ।