काठमाडौं । नेपाल स्वास्थ्य व्यवसायी परिषद्सम्बन्धी विभिन्न माग राख्दै आन्दोलनमा रहेको डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसन नेपाल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयबीच आठ बुँदे सहमति भएको छ। सहमतिसँगै एसोसिएसनले आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ।
नेपाल स्वास्थ्य व्यवसायी परिषद्को संरचनागत, कानुनी तथा प्रतिनिधित्वसम्बन्धी समस्या समाधान र विगतमा भएका सहमति कार्यान्वयनको माग गर्दै एसोसिएसनले आन्दोलन गर्दै आएको थियो।
आन्दोलनरत पक्षसँग वार्ता गर्न मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. कृष्णप्रसाद पौडेलको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो। समितिमा वरिष्ठ स्वास्थ्य प्रशासक डा. समीर अधिकारी र मन्त्रालयका कानुन उपसचिव राजेन्द्र लम्साल सदस्य थिए।
एसोसिएसनले आफ्ना १० बुँदे माग अघि सार्दै परिषद्का अध्यक्षको कार्यकक्ष र परीक्षा शाखामा तालाबन्दी गर्नुका साथै रिले अनशनसमेत सुरु गरेको थियो।
एसोसिएसनले परिषद्मा डेन्टल साइन्स हाइजेनिस्टलगायत सम्बन्धित पेसागत संघ–संस्थाको कानुनबमोजिम प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने, स्वार्थको द्वन्द्व हुने व्यक्तिलाई निर्णय प्रक्रियाबाट अलग राख्नुपर्ने र डेन्टल समुदायको छुट्टै निर्वाचन हुने गरी परिषद्को नियमावली संशोधन गर्नुपर्ने माग राखेको थियो।
त्यस्तै, परिषद् ऐन, २०५३ को दफा १० (४) कार्यान्वयन, सदस्यहरूको कार्यकाल स्पष्ट पार्ने, विगतका सहमति कार्यान्वयन गर्ने तथा परीक्षा प्रणालीलाई पारदर्शी र निष्पक्ष बनाउनेलगायत माग पनि एसोसिएसनले अघि सारेको थियो।