काठमाडौं- नेपाल स्वास्थ्य व्यवसायी परिषद्सम्बन्धी विभिन्न माग राख्दै आन्दोलनमा रहेको डेन्टल साइन्स हाइजिनिस्ट एसोसिएसन नेपालसँग वार्ता गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले वार्ता समिति गठन गरेको छ।
मन्त्रालयले सोमबार मन्त्रीस्तरीय निर्णयअनुसार वार्ता समिति गठन गरेको हो। मन्त्रालयले एसोसिएसनलाई पत्र पठाउँदै वार्ता तथा संवादमार्फत समस्या समाधानका लागि छलफलमा सहभागी हुन अनुरोध गरेको छ।
नेपाल स्वास्थ्य व्यवसायी परिषद्को संरचनागत, कानुनी तथा प्रतिनिधित्वसम्बन्धी समस्या समाधान र विगतमा भएका सहमतिको पूर्ण कार्यान्वयनलगायत माग राख्दै एसोसिएसनले विभिन्न आन्दोलनका कार्यक्रम गर्दै आएको पत्रमा उल्लेख छ।
मन्त्रालयले आन्दोलनरत पक्षका मागलाई वार्ता तथा संवादका माध्यमबाट तत्काल सम्बोधन गर्ने उद्देश्यले समिति गठन गरेको जनाएको छ।
मन्त्रालयले गठन गरेको वार्ता समितिको संयोजकमा स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. कृष्णप्रसाद पौडेल रहेका छन्। समितिका सदस्यमा वरिष्ठ स्वास्थ्य प्रशासक डा. समीर अधिकारी र स्वास्थ्य मन्त्रालयका कानुन उपसचिव राजेन्द्र लम्साल रहेका छन्।
मन्त्रालयले वार्तामार्फत समस्या समाधानका लागि एसोसिएसनका प्रतिनिधिलाई छलफलमा सहभागी हुन आग्रह गरेको छ।
एसोसिएसनले विभिन्न १० बुँदे माग राख्दै परिषद्का अध्यक्षको कार्यकक्ष र परीक्षा शाखामा तालाबन्दी गर्दै सोमबारबाट रिले अनशन सुरु गरेको छ।
यस्ता छन् एसोसिएसनका १० बुँदे मागहरू:
१. नेपाल स्वास्थ्य व्यवसायी परिषद् विरुद्ध सम्मानित सर्वोच्च अदालतमा रिट दायर गर्ने तथा सम्बन्धित विषयमा प्रत्यक्ष संलग्न व्यक्तिलाई स्वार्थको द्वन्द्व उत्पन्न हुने गरी परिषद्को प्रतिनिधित्व गराउने निर्णय पुनरावलोकन गरी आवश्यक कानुनी प्रक्रिया अपनाउनुपर्ने।
२. स्वार्थको द्वन्द्व (Conflict of Interest) हुने व्यक्तिलाई सम्बन्धित विषयमा निर्णय प्रक्रियामा सहभागी नगराउने तथा निष्पक्षता कायम गर्न आवश्यक व्यवस्था गर्नुपर्ने।
३. नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा दर्ता भएका डेन्टल साइन्स हाइजेनिस्ट प्रोफेसनल लगायत सम्बन्धित पेसागत संघ–संस्थाहरूको कानुनबमोजिम उचित प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने।
४. डेन्टल साइन्सको नियमित प्रक्रियालाई व्यवस्थित, पारदर्शी र न्यायोचित बनाउन डेन्टल समुदायको मात्र छुट्टै निर्वाचन हुने गरी परिषद्को नियमावली संशोधन गर्नुपर्ने।
५. परिषद्का सदस्यहरूको पदावधि (कार्यकाल) स्पष्ट गरी कानुनबमोजिम कार्यकाल समाप्त भएका सदस्यहरूलाई जिम्मेवारीमा निरन्तरता नदिने व्यवस्था गर्नुपर्ने।
६. नेपाल स्वास्थ्य व्यवसायी परिषद् ऐन, २०५३ को दफा १० (४) को व्यवस्थालाई अक्षरशः पालना गर्दै परिषद् सञ्चालन तथा प्रतिनिधिहरूको व्यवस्था गर्नुपर्ने।
७. नेपाल सरकार, स्वास्थ्य मन्त्रालय, नेपाल स्वास्थ्य व्यवसायी परिषद् तथा विभिन्न पेसागत संघ–संगठनहरूबीच विगतमा भएका सहमति तथा सम्झौताहरूको तत्काल कार्यान्वयन गर्नुपर्ने।
८. परिषद्बाट सञ्चालन हुने परीक्षा प्रणालीलाई व्यवस्थित, पारदर्शी, निष्पक्ष र विश्वसनीय बनाउन आवश्यक सुधार तथा अनुगमनको व्यवस्था गर्नुपर्ने।
९. परिषद्मा दर्ता भएका डेन्टल साइन्स हाइजेनिस्ट तथा अन्य सम्बन्धित जनशक्तिहरूको पेसागत हकहित, सम्मान, सुरक्षा र कार्यक्षेत्रको संरक्षण सुनिश्चित गर्नुपर्ने।
१०. डेन्टल जनशक्तिको कार्यक्षेत्र, अधिकार तथा अवसरसम्बन्धी विषयमा कुनै पनि निर्णय गर्दा सम्बन्धित पेसागत संघ–संस्थासँग आवश्यक परामर्श र समन्वय गर्नुपर्ने।