काठमाडौं । कीर्तिपुर अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल) बीच स्वास्थ्य सेवा प्रवाह, चिकित्सा शिक्षा तथा स्वास्थ्यकर्मीको तालिममा सहकार्य गर्ने सम्झौता भएको छ ।
जनस्वास्थ्य सरोकार ट्रष्ट, नेपाल (फेक्ट–नेपाल) अन्तर्गत सञ्चालित कीर्तिपुर अस्पताल र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच सोमबार (मंसिर ७ गते) समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको हो।
कीर्तिपुर अस्पतालमा आयोजित कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक गौरी प्रधान र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिस्ट्रार डा. अरुण शाहीले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्। सम्झौतामा कीर्तिपुर अस्पतालका निर्देशक डा. किरण नकर्मी र प्रतिष्ठानका डिन डा. आशिष श्रेष्ठ साक्षी बसेका छन्।
सम्झौताअनुसार दुवै संस्थाले बिरामीको आवश्यकताका आधारमा एकअर्काको अस्पतालमा उपलब्ध विशेषज्ञ सेवा र क्षमताअनुसार बिरामी प्रेषण (रिफरल) गर्नेछन्। यसबाट बिरामीले आवश्यकताअनुसार सहज रूपमा विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ।
समझदारीमा चिकित्सा शिक्षा तथा क्लिनिकल तालिमलाई पनि प्राथमिकता दिइएको छ। आवासीय चिकित्सक (रेजिडेन्ट), स्नातकोत्तर प्रशिक्षार्थी, मेडिकल विद्यार्थी, नर्स तथा अन्य स्वास्थ्यकर्मीलाई दुवै संस्थामा क्लिनिकल रोटेशन तथा शैक्षिक आदानप्रदानको अवसर उपलब्ध गराइनेछ।
यसअन्तर्गत कीर्तिपुर अस्पतालमा बर्न (जलन) तथा प्लास्टिक सर्जरी र पाटन अस्पतालमा एनेस्थेसियालगायतका विधामा तालिम तथा क्लिनिकल रोटेशन सञ्चालन गरिनेछ।
त्यस्तै, दुवै संस्थाले संयुक्त रूपमा निरन्तर चिकित्सा शिक्षा (सीएमई), सेमिनार, कार्यशाला तथा अनुसन्धानमूलक कार्यक्रम सञ्चालन गर्ने समझदारी गरेका छन्।
समुदायमा आधारित अस्पताल र शैक्षिक स्वास्थ्य संस्थाबीचको सहकार्यलाई विस्तार गर्दै उपचार सेवा प्रभावकारी बनाउने र दक्ष स्वास्थ्य जनशक्ति उत्पादनमा योगदान पुर्याउने उद्देश्यले सम्झौता गरिएको जनाइएको छ।
यस सहकार्यबाट दुवै अस्पतालका विशेषज्ञ सेवा तथा अनुभव आदानप्रदान हुनुका साथै चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थी र स्वास्थ्यकर्मीको व्यावहारिक ज्ञान तथा सीप विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।