काठमाडौं- स्वास्थ्य प्रवर्द्धनलाई राष्ट्रिय स्वास्थ्य प्रणालीको महत्वपूर्ण प्राथमिकताका रूपमा स्थापित गर्नुपर्ने निष्कर्षसहित प्रथम राष्ट्रिय स्वास्थ्य प्रवर्द्धन सम्मेलन सम्पन्न भएको छ। सम्मेलनले स्वास्थ्य प्रवर्द्धनका लागि राष्ट्रिय आयोग गठनदेखि छुट्टै बजेट व्यवस्था गर्नेसम्मका १४ बुँदे घोषणापत्र जारी गरेको छ।
शुक्रबारदेखि ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सुरु भएको दुईदिने सम्मेलन शनिबार सम्पन्न भएको हो। सम्मेलनको अन्तिम दिन स्वास्थ्य शिक्षा तथा प्रवर्द्धनका विभिन्न विषयमा करिब एक दर्जन कार्यपत्र प्रस्तुत गरिएका थिए।
स्वास्थ्य प्रवर्द्धन तथा शिक्षा संघ नेपाल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्र र सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको संयुक्त आयोजनामा सम्मेलन भएको हो।
सम्मेलनको उद्घाटन गर्दै स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले स्वास्थ्यलाई अस्पताल, उपचार र औषधिमा मात्र सीमित राख्न नहुने बताएकी थिइन्। रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिने स्वस्थ र अनुकूल वातावरण निर्माण गर्नु प्रभावकारी र दिगो हुने उनको भनाइ थियो।
मन्त्री मेहताले मानिसको स्वास्थ्य सामाजिक, आर्थिक तथा वातावरणीय अवस्थासँग समेत जोडिने भएकाले ती पक्षलाई सम्बोधन गर्नु स्वास्थ्य प्रवर्द्धनको मुख्य उद्देश्य हुनुपर्ने बताइन्। उच्च रक्तचाप, मधुमेह, मुटु तथा श्वासप्रश्वाससम्बन्धी दीर्घरोग, मानसिक स्वास्थ्य समस्या, सडक दुर्घटना, वायु प्रदूषण र जलवायु परिवर्तनबाट सिर्जित स्वास्थ्य जोखिम न्यूनीकरणका लागि स्वास्थ्य क्षेत्रको एकल प्रयास पर्याप्त नहुने उनको भनाइ थियो।
यसका लागि शिक्षा, कृषि, खानेपानी, सहरी विकास, स्थानीय सरकार, सञ्चारमाध्यम र निजी क्षेत्रबीच समन्वय तथा सहकार्य आवश्यक रहेको उनले उल्लेख गरिन्। सबै नीतिमा स्वास्थ्यको अवधारणालाई व्यवहारमा कार्यान्वयन गर्दै स्वास्थ्यलाई सबै क्षेत्रका नीति, योजना तथा कार्यक्रमको अभिन्न हिस्सा बनाउनुपर्नेमा मन्त्री मेहताले जोड दिइन्।
संघीय संरचनामा स्वास्थ्य प्रवर्द्धनको जिम्मेवारी तीनै तहका सरकारमा रहेको उल्लेख गर्दै उनले स्थानीय आवश्यकता, भाषा, संस्कृति र परिवेशअनुसार कार्यक्रम सञ्चालन गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण हुने बताइन्। स्वास्थ्य प्रवर्द्धनलाई स्थापित पेसागत तथा शैक्षिक विधाका रूपमा विकास गर्न दक्ष जनशक्ति उत्पादन, अनुसन्धान विस्तार र प्रमाणमा आधारित अभ्यासलाई प्रोत्साहन गर्नुपर्ने उनको भनाइ थियो।
सम्मेलनले स्वास्थ्य प्रवर्द्धनलाई राष्ट्रिय विकासको महत्वपूर्ण एजेन्डाका रूपमा स्थापित गर्नुपर्ने निष्कर्ष निकालेको छ। जारी १४ बुँदे घोषणापत्रमा सबै नीतिमा स्वास्थ्यको अवधारणा कार्यान्वयन गर्ने, राष्ट्रिय स्वास्थ्य प्रवर्द्धन आयोग गठन गर्ने र स्वास्थ्य प्रवर्द्धनलाई राष्ट्रिय विकासको प्राथमिकतामा राख्ने विषय समेटिएका छन्।
त्यस्तै, संघ, प्रदेश र स्थानीय तहसम्म अन्तरक्षेत्रीय समन्वय तथा एकीकृत कार्यक्रम विस्तार गर्ने, स्वास्थ्य प्रवर्द्धनमुखी विद्यालय तथा संस्थाको विकास गर्ने, सुरक्षित खानेपानी र सरसफाइको सुनिश्चितता गर्ने तथा ज्येष्ठ नागरिक र जोखिममा रहेका समुदायलाई लक्षित कार्यक्रम सञ्चालन गर्नुपर्ने उल्लेख छ।
घोषणापत्रले रोग लागेपछि उपचार गर्नेभन्दा रोग लाग्नै नदिन आवश्यक वातावरण निर्माण, रोकथाम र स्वस्थ जीवनशैली प्रवर्द्धनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएको छ।
यसैगरी, स्वास्थ्य प्रवर्द्धनमा सञ्चारमाध्यमको प्रभावकारी परिचालन, दक्ष जनशक्ति विकास, स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने व्यावसायिक गतिविधि तथा स्वास्थ्यका व्यावसायिक निर्धारकलाई सम्बोधन गर्ने विषय पनि घोषणापत्रमा समेटिएका छन्।
स्वास्थ्य प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्न छुट्टै बजेट व्यवस्था गर्नुपर्ने, अनुसन्धान तथा प्रमाणमा आधारित नीति निर्माणलाई प्रोत्साहन गर्नुपर्ने र राष्ट्रियस्तरमा सम्मेलन, छलफल तथा अन्तरक्रियामार्फत ज्ञान र अनुभव आदानप्रदानलाई निरन्तरता दिनुपर्ने प्रस्तावसमेत अघि सारिएको छ।
सम्मेलनले सन् २०३० सम्मका लागि नेपालको स्वास्थ्य प्रवर्द्धनका प्राथमिकता निर्धारण, स्वास्थ्य प्रवर्द्धन प्रणालीको सुदृढीकरण, दिगो लगानी, स्वास्थ्य सेवामा समान पहुँच र जवाफदेहितालगायत विषयमा समेत छलफल गरेको थियो।
स्वास्थ्य प्रवर्द्धन तथा शिक्षा संघ नेपालका अध्यक्ष हेमराज खड्काले सम्मेलन सफल भएको बताउँदै आगामी दिनमा पनि यसलाई निरन्तरता दिइने जानकारी दिए। संघका उपाध्यक्ष विनोद अर्यालले नेपालमा पहिलोपटक यस किसिमको राष्ट्रिय सम्मेलन आयोजना हुनु ऐतिहासिक उपलब्धि भएको बताए।
राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रकी निर्देशक डा. राधिका थपलियाले स्वस्थ समाज निर्माणका लागि सरकारले स्वास्थ्य प्रवर्द्धनलाई प्राथमिकतामा राखेर कार्यक्रम अघि बढाइरहेको बताइन्। स्वास्थ्य शिक्षा तथा प्रवर्द्धनको अभियानलाई प्रभावकारी बनाउन सरकार, स्वास्थ्यकर्मी, संघसंस्था र समुदाय सबैको साझा प्रयास आवश्यक रहेको उनको भनाइ थियो।
सम्मेलनका अवसरमा स्वास्थ्य प्रवर्द्धनको क्षेत्रमा योगदान पुर्याएका राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रका पूर्वनिर्देशकहरू लक्ष्मीरमण बन र लक्ष्मीनारायण देवलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो।
‘स्वास्थ्य प्रवर्द्धनलाई एउटा गतिविधिका रूपमा मात्र होइन, एक स्वतन्त्र विधाका रूपमा बुझौँ’ भन्ने मूल नाराका साथ आयोजित सम्मेलनको समापन भएको दिनलाई ‘राष्ट्रिय स्वास्थ्य प्रवर्द्धन दिवस’ (नेशनल हेल्थ प्रमोसन डे) का रूपमा समेत घोषणा गरिएको छ।
सम्मेलनले अघि सारेका १४ बुँदे एजेन्डाको प्रभावकारी कार्यान्वयन हुन सके उपचारमुखी स्वास्थ्य सेवासँगै रोग रोकथाम, स्वस्थ जीवनशैली र स्वास्थ्यका सामाजिक तथा वातावरणीय निर्धारकलाई सम्बोधन गर्ने दिशामा नेपालको स्वास्थ्य प्रणालीलाई अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।