काठमाडौं- गुल्मी अस्पतालको नवनिर्मित भवनमा सामान सार्ने काम सुरु गरिएको छ। मन्त्रालयको निरन्तर अनुगमनपछि भवन सञ्चालनको अवस्थामा पुगेकाले सामान सार्न थालिएको हो।
पूर्वाधार विकास मन्त्री सुनिल लम्सालका अनुसार यही महिनाभित्रै अस्पतालका प्रशासनिक, ओपीडी र इमर्जेन्सीलगायत सबै सेवा नवनिर्मित भवनबाट चरणबद्ध रूपमा सञ्चालन गर्ने तयारी गरिएको छ।
साउन अन्तिम साता गरिएको निरीक्षणका क्रममा गुल्मी अस्पतालको भवन निर्माणमा ढिलाइ देखिएपछि ठेक्का रद्द गरी नयाँ टेन्डर प्रक्रिया अघि बढाउन निर्देशन दिइएको मन्त्री लम्सालले समाजिक सञ्जाल मार्फत जानकारी दिएका छन्। त्यसयता मन्त्रालयले निरन्तर अनुगमन गरेपछि निर्माण कार्य अघि बढेर अस्पताल सञ्चालनको अवस्थामा पुगेको उनले फेसबुकमा लेखेका छन्।
नयाँ भवनबाट सेवा सुरु भएसँगै गुल्मी अस्पतालको सेवा प्रवाह थप व्यवस्थित र प्रभावकारी हुने अपेक्षा गरिएको छ।
यस्तो छ मन्त्री लम्सालले लेखेको विवरण
साउन अन्तिम साता निरीक्षणका क्रममा गुल्मी अस्पतालको भवन निर्माणमा ढिलाइ देखिएपछि ठेक्का रद्द गरी नयाँ टेन्डर प्रक्रिया अघि बढाउन निर्देशन दिएका थियौँ।
मन्त्रालयको निरन्तर अनुगमनपछि अस्पताल सञ्चालनको अवस्थामा पुगेको छ। आइतबार नवनिर्मित भवनमा सामान सार्न सुरु गरिएको छ।
यो महिनाभित्रै प्रशासनिक, ओपीडी र इमर्जेन्सीलगायत सबै सेवा नयाँ भवनबाट चरणबद्ध रूपमा सञ्चालन गर्ने तयारी छ।
DUDBC टिमलाई बधाई