काठमाडौं- प्रा. डा. गोविन्द केसीले सरकारसँग भएको सहमति शीघ्र कार्यान्वयन नभए स्थगित सत्याग्रहसहितको आन्दोलन पुनः सुरु गर्ने चेतावनी दिएका छन्।
चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सुधार, समतामूलक पहुँच, जवाफदेहिता, सुशासन र सामाजिक न्यायका माग राख्दै गरिएको २५औँ सत्याग्रहका क्रममा सरकारसँग भएको सहमति कार्यान्वयन नभएको भन्दै डा. केसीले सरकारको ध्यानाकर्षण गराएका हुन्।
आइतबार प्रेस विज्ञप्ति जारी गर्दै डा. केसीले कात्तिक २१ गते शिक्षा मन्त्रीसहितको सरकारी टोलीसँग भएको सहमतिका बुँदाहरू दुई हप्ताभित्र कार्यान्वयन गर्ने प्रतिबद्धता जनाइए पनि अहिलेसम्म कार्यान्वयन नभएको बताएका छन्।
सहमति भएपछि तत्कालै तिहार र छठको सार्वजनिक बिदा परेकाले सरकारलाई कार्यान्वयनका लागि केही दिन थप समय दिएको उनले उल्लेख गरेका छन्।
डा. केसीले यसअघि २४औँ सत्याग्रहसहितको आन्दोलनपछि २०८३ साउन ११ गते बालेन सरकारसँग निश्चित समयभित्र माग पूरा गर्ने सहमति भएको स्मरण गराएका छन्। तर सरकारले उक्त सहमति कार्यान्वयन गर्नुको सट्टा चिकित्सा शिक्षा ऐन र सुशासनका मान्यताविपरीत आम नागरिकको स्वास्थ्यमा प्रतिकूल असर पार्ने थप निर्णय गरेको उनको आरोप छ।
त्यस्ता निर्णयको विरोध तथा यसअघिका सहमति कार्यान्वयन र जनहितविपरीतका निर्णय खारेजीको माग गर्दै आफूले २५औँ सत्याग्रहसहित नौदिने आन्दोलन गरेको उनले बताएका छन्।
'अब पनि सहमतिहरू शीघ्र कार्यान्वयन नगरिएमा वा सहमतिविपरीतका गतिविधि गरिएमा स्थगित सत्याग्रहसहितको आन्दोलन पुनः सुरु गर्न बाध्य हुनेछौँ,' विज्ञप्तिमा भनिएको छ।
सहमति कार्यान्वयन गर्नु सरकारको नैतिक तथा राजनीतिक दायित्व भएको उल्लेख गर्दै डा. केसीले जनताको स्वास्थ्य र शिक्षासँग सम्बन्धित सवालमा सरकार आफ्नो प्रतिबद्धताबाट पछि हट्न नमिल्ने बताएका छन्। आन्दोलन पुनः सुरु गर्नुपर्ने अवस्था आए त्यसबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने उनको चेतावनी छ।