कलकल बग्ने तिला नदीको सुसेली, जुगाड खोलाको किनार, राराको स्वच्छ हावा, काञ्जिरोवा हिमालको काख तथा चन्दननाथ बाबाको आशीर्वादले पावन बनेको जुम्लाको ऐतिहासिक भूमिमा पहिलोपटक सेतो कोट पहिरिएका ती कलिला विद्यार्थीहरू कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान (KAHS), जुम्लामा मेडिकल इन्टर्नसिपको ऐतिहासिक यात्रामा अघि बढेका छन्। भोलिका दिनमा उनीहरू दक्ष चिकित्सकका रूपमा देश–विदेशका विभिन्न स्थानमा सेवा दिँदै समग्र कर्णाली र राष्ट्रकै लागि एउटा युगान्तकारी उपलब्धिको आधार बन्नेछन्।
कडा मेहनत, त्याग र समर्पणका साथ चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षा उत्तीर्ण गरी सहरका सुविधासम्पन्न शिक्षालयहरू छाडेर जुम्ला आएका हाम्रा प्रिय विद्यार्थीहरूले आज आफ्नो सपनाको एउटा महत्त्वपूर्ण खुड्किलो पार गरेका छन्। उनीहरू केवल डाक्टर मात्र बनेका छैनन्; उनीहरू देश–विदेशका अस्पताल, शैक्षिक संस्थान र समुदायमा पुगेर गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै प्रतिष्ठानको गौरव अझ उँचो बनाउनेछन्।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान केवल एउटा शिक्षण अस्पताल मात्र होइन, क्षेत्रीय असमानता अन्त्य गर्दै दुर्गम क्षेत्रमा स्वास्थ्य अधिकार सुनिश्चित गर्ने राष्ट्रिय अभियान हो। दुर्गम तथा पहुँचविहीन क्षेत्रमा उत्कृष्ट स्वास्थ्य सेवा, गुणस्तरीय चिकित्सा शिक्षा र नवप्रवर्तनकारी अनुसन्धानमार्फत ‘सेन्टर अफ एक्सिलेन्स’ (Center of Excellence) का रूपमा स्थापित हुने यसको स्पष्ट दृष्टिकोण (Vision) रहेको छ। स्थानीय तथा राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्ने उच्चस्तरीय जनशक्ति उत्पादन गर्दै समतामूलक स्वास्थ्य सेवा विस्तार गर्ने मिसनका साथ प्रतिष्ठान अघि बढिरहेको छ। समुदायमा आधारित सिकाइ (Community-Based Learning) लाई प्राथमिकता दिँदै स्थानीय रोगहरूको अध्ययन तथा अनुसन्धानलाई समेत संस्थागत रूपमा प्रवर्द्धन गरिरहेको छ।
काठमाडौँ वा अन्य सुगम स्थानबाट कठिन यात्रा पार गर्दै पहिलोपटक जुम्ला आइपुग्दा भीरपाखा र उराठलाग्दा डाँडाकाँडा देखेर धेरै विद्यार्थीको मन खिन्न हुन्थ्यो। “किन जुम्ला रोजियो होला?” भन्ने प्रारम्भिक संशय आज उनीहरूको सफलता र दक्षताले पूर्ण रूपमा गलत साबित गरिदिएको छ।
स्वागत समारोहमा मैले दिएको स्याउको बोटको उपमा आज यथार्थमा परिणत भएको छ। जाडोयाममा जुम्लाका स्याउका बोटहरू पातविहीन, कठ्याङ्ग्रिएका र सुकेका जस्ता देखिन्छन्। तर समयसँगै तिनै बोटमा रंगीचंगी फूल फुल्छन् र अन्ततः लटरम्म राताम्ये स्याउ फल्छन्। त्यसैगरी, हिजो ज्ञान आर्जन गर्न जुम्ला आएका ती विद्यार्थीहरू आज ज्ञान, सीप र व्यावसायिक दक्षताले सम्पन्न चिकित्सक बनेका छन्। आज KAHS बाट उत्पादित चिकित्सक, नर्स, फार्मेसिस्ट तथा जनस्वास्थ्यविद्हरू नेपालका प्रतिष्ठित अस्पतालदेखि अन्तर्राष्ट्रिय संस्थासम्म आफ्नो व्यावसायिक क्षमता प्रदर्शन गरिरहेका छन्।
स्थापनाकालदेखि हालसम्म प्रतिष्ठानले हासिल गरेका शैक्षिक उपलब्धिहरू प्रेरणादायी छन्। प्रतिष्ठानको पहिलो दीक्षान्त समारोह सफलतापूर्वक सम्पन्न भई ५८ जना विद्यार्थी दीक्षित भइसकेका छन्। एक सयभन्दा बढी दक्ष फ्याकल्टी सदस्य कार्यरत छन्। MBBS को सिट संख्या ३० बाट ५० पुर्याइएको छ। BSc Nursing (२० सिट), M.Pharm (२ सिट), BPH तथा MPH (५ सिट) लगायत नयाँ शैक्षिक कार्यक्रम सञ्चालनमा आएका छन्। यसका साथै एनाटोमी, नर्सिङ, फार्मेसी तथा विभिन्न क्लिनिकल विषयमा स्नातकोत्तर (MD/MS) कार्यक्रम सञ्चालन भइरहेका छन्।
३०० शय्याको आधुनिक शिक्षण अस्पताल, आधुनिक स्किल ल्याब, विशाल पुस्तकालय, Institutional Review Committee (IRC), अनुसन्धान समिति तथा Journal of Karnali Academy of Health Sciences (JKAHS) को नियमित प्रकाशनले प्रतिष्ठानको शैक्षिक आधारलाई थप मजबुत बनाएको छ। नेपाल मेडिकल काउन्सिल (NMC), नेपाल हेल्थ प्रोफेसनल काउन्सिल (NHPC) र नेपाल नर्सिङ काउन्सिल (NNC) का लाइसेन्स परीक्षामा शतप्रतिशत सफलता, निरन्तर चिकित्सा शिक्षा (CME/CNE) तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय संस्थासँग भएका समझदारी (MoU) ले यसको शैक्षिक गुणस्तर प्रमाणित गरेका छन्।
कर्णालीमा डाक्टर उत्पादन गर्ने यस महान् अभियानमा साथ, सहयोग र समर्पण गर्ने सम्पूर्ण सहयात्रीहरूप्रति म, निवर्तमान शिक्षाध्यक्षका हैसियतले, हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछु। प्रतिष्ठानको जग बसाल्न र आजको उचाइसम्म पुर्याउन योगदान दिने पूर्व उपकुलपति प्रा. डा. पारश कुमार आचार्यको टोली, प्रा. डा. राजेन्द्रराज वाग्लेको टोली, डा. मंगल रावलको टोली, डा. पूजन कुमार रोकायाको टोली तथा वर्तमान उपकुलपति, निर्देशक, संयोजक, सम्पूर्ण प्राध्यापक, शिक्षक, चिकित्सक, कर्मचारी र प्रशासनिक परिवारप्रति हार्दिक सम्मान व्यक्त गर्दछु।
यसैगरी, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको परिकल्पना गर्ने पूर्वमन्त्री नरेश भण्डारीलगायत सम्पूर्ण पहलकर्ता, नेतृत्वपङ्क्ति, क्लिनिकल तथा बेसिक साइन्सका फ्याकल्टी, स्वास्थ्यकर्मी र सञ्चारकर्मीहरू सबै यस ऐतिहासिक उपलब्धिका समान भागीदार तथा बधाईका पात्र हुनुहुन्छ।
यस यात्रामा जुम्लाका स्थानीय जनसमुदायको योगदान स्वर्ण अक्षरमा लेखिनेछ। बाहिरबाट आएका विद्यार्थीलाई आफ्नै छोराछोरीसरह घरमा डेरा दिएर, अर्गानिक मार्सी चामलको भात, कोदो–फापरको रोटी, सिमी, स्याउ र ओखर खुवाएर दिएको माया, अपनत्व र अभिभावकत्व नै प्रतिष्ठानको वास्तविक शक्ति हो।
हाम्रा चिकित्सकहरूले कर्णालीको स्वास्थ्य क्षेत्रमा एउटा वास्तविक Paradigm Shift ल्याएका छन्। उनीहरूको प्रत्यक्ष योगदानले दुर्गम गाउँहरूमा मातृमृत्युदर र बालमृत्युदर घटाउन महत्त्वपूर्ण भूमिका खेलेको छ। अकालमा गुम्ने सयौँ जीवन जोगिएका छन् र सामान्य उपचारका लागि सहर धाउनुपर्ने बाध्यता उल्लेखनीय रूपमा कम भएको छ। “जहाँ पुग्न गाह्रो थियो, त्यहीँबाट स्वास्थ्यको ज्योति फैलियो” भन्ने भावनालाई उनीहरूले व्यवहारमै प्रमाणित गरेका छन्। हिजो जुम्लाको प्राङ्गणमा पहिलोपटक पहिरिएको सेतो कोट आज केवल पोसाक होइन; सेवा, करुणा, समर्पण र व्यावसायिक उत्कृष्टताको प्रतीक बनेको छ।
यद्यपि, यो उपलब्धिसँगै चुनौतीहरू पनि उत्तिकै ठूला छन्। आजको सफलता अन्तिम गन्तव्य होइन; यो अझ ठूलो जिम्मेवारीको सुरुवात हो। आगामी दिनमा गुणस्तरीय क्लिनिकल प्रशिक्षण, पर्याप्त बिरामी–एक्सपोजर, दक्ष जनशक्तिको दीगो व्यवस्थापन तथा स्रोत–साधनको सुदृढीकरण हाम्रो प्रमुख दायित्व हुनेछ। अनुसन्धान, बिरामी सुरक्षा र व्यावसायिक नैतिकतालाई सर्वोच्च प्राथमिकतामा राख्दै कर्णालीबाट उत्पादन हुने चिकित्सकहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउनु हाम्रो सामूहिक संकल्प हो।
अन्ततः, जुम्लाका डाँडाकाँडा, पाखापखेरा, खोलानाला र स्थानीय जनताको माया–ममताको काखमा हुर्किएर चिकित्सक बनेका सम्पूर्ण स्नातकहरूप्रति कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान परिवार गर्व गर्दछ। हिजो जाडोमा नाङ्गो र सुकेको जस्तो देखिने स्याउको बोटले आज रसिला, राताम्ये र मीठा स्याउ फलाएझैँ, कर्णालीको माटोमा अध्ययन गरेका हाम्रा चिकित्सकहरू आज देश र विश्वकै लागि जीवनदायी उपहार बनेका छन्।
प्रतिष्ठानले रोपेको ज्ञानको बीउ आज विशाल वृक्ष बनेर फल दिइरहेको छ। यही एकता, समर्पण र प्रतिबद्धताका साथ आगामी दिनमा पनि कर्णालीको स्वास्थ्य र चिकित्सा शिक्षाको यात्रा अझ नयाँ उचाइमा पुग्नेछ भन्ने दृढ विश्वासका साथ सम्पूर्ण चिकित्सक, विद्यार्थी, शिक्षक, कर्मचारी, स्थानीय समुदाय र शुभेच्छुकहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।
(धामी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निवर्तमान शिक्षाध्यक्ष हुन्)