मधेशमा बस्ने एक जना मित्रले भनेको सम्झिन्छु, 'केटाहरुलाई दाह्री र केटिहरुलाई महिनावारीले निकै दुख दिन्छ'। उनको भनाई आफ्नै ठाउँमा थियो। तर मलाई दाह्री काट्न नाई पसल जाँदा सधै एउटै डर हुन्छ, आज फेरी काटिने भयो कि? जति नै सिपालु नाई भए पनि मेरो दाह्री काट्दा अलिअलि रगत आईहाल्छ। प्राय: नाईको गुनासो हुन्छ, 'तपाईको दाह्री सार्है कडा छ, काट्न गाह्रो हुन्छ।'
दाह्री काटिसकेपछि फिटकिरी लगाईन्छ। काटिएको ठाउँमा चिरिक्क हुन्छ। त्यसपछि पानी जस्तो अर्को लोशन लगाईन्छ, झन् चिरिक्क हुन्छ। सम्झिँदा अहिले पनि आङ सिरिङ्ग हुन्छ। मेरो घर नजिकै करिब पाँच-सातवटा नाई पसल छन्। सबैको अनुभव लिएको छु। अलि कम दुखाएर दाह्री काट्ने एउटा पसल रोजेको छु। कहिलेकाहीँ त दाह्री काट्दा दुख्ने डरले 'अब दाह्री काटदिन, पाल्छु' भन्ने निष्कर्षमा पुग्छु। केहि समय दाह्री नकाटी बस्छु। घरपरिवा र आफन्तले गुनासो गर्न थालेपछि फेरी नाई पसल जान्छु। कतिपय नाईले सुर्ती वा गुटखा खान्छन। बाध्य भएर उनीहरुको हातको गन्ध पनि सहनुपर्छ। कहिलेकाहीँ हात धुन आग्रह गर्छु। तर सबैलाई भन्न सकिंदैन।
स्वास्थ्यकर्मी भएकोले होला, नाईले रेजरमा नयाँ ब्लेड हाले कि हालेन? ब्लेड हाल्नु अघि एन्टीसेप्टिक झोलले रेजर पुछे कि पुछेन? भनेर हेर्छु। कतिपयले सेतो देखिने झोल प्रयोग गरेको देखिन्छ तर, त्यो झोल के हो, पर्याप्त सफा वा नि:संक्रमण गर्छ कि गर्दैन, वा उल्टै संक्रमण पो गर्छ भन्ने थाह हुँदैन। अधिकांशले प्रयोग भएको ब्लेड निकालेर एउटा बाल्टीजस्तो भाँडोमा फालेको देख्छु। त्यहाँ थुप्रै ब्लेड देखिन्छन। ती धारिला वस्तुको अन्तिम व्यवस्थापन कसरि हुन्छ, त्यो पनि थाह छैन।
त्यसैले प्रश्न उठछ, नाई पसल पनि जनस्वास्थ्यको क्षेत्र हो कि होईन? त्यहाँ काम गर्ने व्यक्ति र सेवा लिने व्यक्तिको स्वास्थ्य सुरक्षाका लागि न्यूनतम मापदण्ड छन् कि छैनन्? अंग्रेजीमा बार्बर शप वा हेयर सैलून जस्ता शब्द प्रयोग हुन्छन। नेपालीमा नाई पसल, सैलून वा कपाल दाह्री काट्ने पसल भनिन्छ। नाम जे भएपनि प्रश्न एकै हो। कपाल काट्ने वा दाह्री बनाउने क्रममा रेजर, ब्लेड, कैची वा ट्रिमरले छालामा सानो चोट वा कट बनाउन सक्छ।
यदि धारिलो उपकरण संक्रमित रगतबाट दूषित भएको छ र त्यसलाई उचित रुपमा सफा तथा निसंक्रमण नगरी अर्को व्यक्तिमा प्रयोग गरियो भने रगतबाट सर्ने संक्रमणको सम्भावित बाटो बन्न सक्छ। यसको अर्थ नाई पसलबाट एचआईभी वा हेपाटाइटिस सर्छ भन्ने होईन। सम्भावित जोखिम हुनु र संक्रमण प्रमाणित हुनु फरक कुरा हो। तर रोक्न सकिने जोखिम छ भने त्यसलाई कम गर्नु जनस्वास्थ्यको आधारभूत सिद्धान्त हो। हेपाटाइटिस 'बि' का हकमा यो विषय अझ संवेदनशील छ। सेन्टर फर डिजिज कन्ट्रोलका अनुसार हेप बि भाईरस संक्रमित रगत वा शरीरका केहि तरल पदार्थबाट सर्न सक्छ र वातावरणीय सतहमा कम्तिमा सात दिनसम्म संक्रामक रहन सक्छ। देखिने गरि रगत नभएपनि उपकरण पूर्ण रुपमा सुरक्षित छ भन्न मिल्दैन।
पाकिस्तानको एबटाबादमा सन् २०२४ मा ६५ जना बार्बरमा गरिएको क्रश सेक्शनल अध्ययनले करिब ७५.४ प्रतिशतलाई आफ्नो कामबाट रोग सर्न सक्ने जानकारी थियो तर करिब ४० प्रतिशतले मात्रै एचआईभी, हेपाटाइटिस 'बि' र 'सि' जस्ता संक्रमण पहिचान गर्न सके। ५८.५ प्रतिशत पसलमा स्टेरिलाईजर थियो तर ती मध्ये करिब ६३ प्रतिशतले मात्रै त्यसको प्रयोग गरिरहेका थिए। स्थगलत रुपमा हेर्दा ४७ प्रतिशत पसलमा मात्रै सफा वातावरण देखिन्थियो। ९४ प्रतिशत पसलमा एन्टीसेप्टिक थियो तर ५८.५ प्रतिशतले मात्रै प्रयोग गरेको पाईएको थियो। सन् २०२४ मा प्रकाशित 'ईन्फेक्सन एक्वाईरड इन बार्बरशप' नामक वैज्ञानिक रिभ्युमा पनि नाई पसलका औजारहरुमा स्टेफाईलोकोकस औरियस, फंगस र जुम्रा समेत भेटिएको थियो। यी प्रमाणलाई बढाईचढाई गरेर बुझ्नु हुँदैन। यसले नाई पसल संक्रमणको निश्चित स्रोत हो भन्ने प्रमाणित गर्दैन। यसले भने संक्रमणको सम्भावित बाटो र त्यसलाई रोक्न सकिने ठाउँहरुको बारेमा संकेत गर्छ।
यो विषयलाई सेवाग्राहीको सुरक्षासँग मात्रै जोडेर हेर्नुपनि अधुरो हुन्छ। नाईले दिनहुँ धारिला उपकरणहरु चलाउँछन। ग्राहकको छाला काट्दा उनीहरु पनि रगतको सम्पर्कमा आउन सक्छन। त्यसैले नाई पसलको स्वास्थ्य सुरक्षा कार्यस्थलजन्य स्वास्थ्य सुरक्षाको विषय हो। नेपालमा हेयर तथा ब्युटी सैलूनमा काम गर्ने श्रमिकको कार्यस्थल स्वास्थ्य तथा सुरक्षा सम्बन्धि अध्ययनहरु पनि भएका छन्। त्यसैले यस विषयलाई ग्राहकको मात्र नभई कामदारको स्वास्थ्य सुरक्षासँग जोडेर हेर्न आवश्यक छ।
म सैलून व्यवसायलाई महँगो र बोझिलो नियमले बाध्नुपर्छ भन्ने पक्षमा छैन तर कम लागतमा लागू गर्न सकिने न्यूनतम स्वास्थ्य मापदण्ड भने आवश्यक छ। प्रत्येक ग्राहकका लागि नयाँ डिस्पोजेबल ब्लेड प्रयोग गर्न सकिन्छ। पुन: प्रयोग हुने कैची, ट्रीमर लगायतका उपकरणलाई कसरी सफा र नि:संक्रमण गर्ने भन्नेबारे सरल राष्ट्रिय मार्गदर्शन बनाउन सकिन्छ। प्रयोग भएका ब्लेड खुला फोहोरमा फाल्नु हुँदैन। धारिला वस्तुले फोहोर व्यवस्थापनमा संलग्न कामदारलाई चोट पुर्याउन सक्छ। त्यसैले प्रयोग भएका ब्लेडका लागि सुरक्षित र पंचर प्रतिरोधी कन्टेनरको व्यवस्था गर्न सकिन्छ। त्यसैगरी, प्रत्येक सेवाअघि र आवश्यकता अनुसार हात सफा गर्ने व्यवस्था, सफा पानी र साबुनको उपलब्धता, सफा टावेलको प्रयोग, उपकरण राख्ने स्थान र कार्यस्थलको नियमित सरसफाईलाई न्यूनतम मापदण्डको बनाउन सकिन्छ।
दाह्री काट्दा ग्राहकको छाला काटियो भने के गर्ने? रगत कसरि व्यवस्थापन गर्ने? दूषित उपकरण कसरि सफा गर्ने ? कार्यस्थलमा रगत पोखिएमा सतहलाई कसरि नि:संक्रमण गर्ने? जस्ता आधारभूत विषयमा सैलूनमा काम गर्ने व्यक्ति र संचालकलाई छोटो, व्यवहारिक र बुझ्ने भाषामा सिकाउन सकिन्छ। सैलूनका कामदारलाई हेपाटाइटिस बि रोग बिरुद्धको खोपमा पहुँच बढाउने कुरालाई पनि सोच्नु पर्छ।
जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४४ मा जोखिमयुक्त क्षेत्रमा काम गर्ने कामदारको स्वास्थ्य सुरक्षाका लागि सम्बन्धित रोजगारदाताले प्रचलित कानून बमोजिमका सुरक्षाका उपायहरु अवलम्बन गर्नुपर्ने व्यवस्था गरेको छ। नाई पसलमा कपाल वा दाह्री काट्ने सेवा लिने व्यक्ति उपभोक्ता हो। उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३ ले प्रत्येक उपभोक्तालाई गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने तथा मानव जीउ, ज्यान, स्वास्थ्य तथा सम्पत्तिमा हानि पुर्याउने वस्तु तथा सेवाबाट सुरक्षित हुने अधिकार दिएको छ। यसको कार्यान्वयनका लागि संघीय तहले न्यूनतम राष्ट्रिय मापदण्ड बनाउन सक्छ।
प्रदेशले प्राविधिक सहयोग र क्षमता विकासमा भूमिका खेल्न सक्छ। स्थानीय तहले आफ्नो क्षेत्राधिकार भित्र अनुगमन र मापदण्ड पालना गराउन सक्छ। जनस्वास्थ्य सेवा नियमावली २०७७ को अनुसूची ९(३) मा संशोधन गरेर सम्बन्धित स्थानीय तहबाट ईजाजत पत्र लिने व्यवस्था तर्फ पनि सोच्न सकिन्छ। यी सबै प्रक्रियामा नाई तथा सैलून व्यवसायीलाई पनि सहभागी गराउनु पर्छ। र, अन्त्यमा यी आधारभूत स्वास्थ्य सुरक्षाका कुरा व्यक्तिगत बानीमा मात्र छोड्ने कि न्यूनतम जनस्वास्थ्यको मापदण्ड बनाउने? अब यो विषयमा ठोस कदम चाल्ने बेला आएको छ।
-(लेखक रमेश कुँवर जनस्वास्थ्य प्रशासक नवौं तहमा कार्यरत छन्)