काठमाडौं- अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत बिरामीको अन्तर्वार्ता लिएको विषय संसदमा उठेको छ। बिरामीको स्वास्थ्य, गोपनीयता र उपचारको संवेदनशीलतालाई बेवास्ता गर्दै आईसीयूमा सञ्चारकर्मी तथा क्यामेरासहित लामो अन्तर्वार्ता लिनु कति नैतिक र उचित हो भन्ने प्रश्न सांसद समीक्षा बास्कोटाले उठाएकी हुन्।
सांसद बास्कोटाले आईसीयू अत्यन्त संवेदनशील अवस्थामा रहेका बिरामीको उपचारका लागि छुट्याइएको विशेष कक्ष भएकाले त्यहाँ स्वास्थ्य सुरक्षा, बिरामीको गोपनीयता र संक्रमण नियन्त्रणलाई सर्वोच्च प्राथमिकता दिनुपर्ने बताइन्।
उनले आईसीयूमा उपचाररत बिरामीसँग अन्तर्वार्ता लिनु वा त्यसका लागि अनुमति दिनु नैतिक अभ्यास हो कि होइन भन्ने प्रश्न गर्दै स्वास्थ्य पत्रकारिताको सीमाबारे समेत बहस आवश्यक रहेको बताइन्।
'बिरामीको जीवन टीआरपीसँग दाँज्न मिल्दैन,' भन्दै उनले सञ्चारमाध्यमले समाचारको नाममा बिरामीको स्वास्थ्य सुरक्षामा असर पर्ने गतिविधि गर्न नहुने धारणा राखिन्।
आईसीयूमा अन्तर्वार्ताका लागि क्यामेरा, क्यामेरापर्सनलगायतका व्यक्तिहरू प्रवेश गर्दा त्यहाँ उपचाररत अन्य बिरामीको स्वास्थ्यमा समेत जोखिम पर्न सक्ने उनको भनाइ छ। आईसीयूमा दुई जना बिरामी मात्र थिए वा अन्य बिरामी पनि उपचाररत थिए भन्ने विषयसमेत गम्भीर रूपमा हेर्नुपर्ने उनले बताइन्।
'अन्तर्वार्ता लिनका लागि क्यामेरा, क्यामेरापर्सनलगायतका व्यक्तिहरू यस्तो क्रिटिकल केयर युनिटमा प्रवेश गर्दा हामी कति संवेदनशील भयौँ?' उनले प्रश्न गरिन्।
उनले आईसीयूमा लामो समयसम्म अन्तर्वार्ता लिन अनुमति दिने सम्बन्धित निकाय र चिकित्सकको भूमिकामाथि पनि प्रश्न उठाइन्। उपचाररत बिरामीको स्वास्थ्य अवस्था, अस्पतालको प्रोटोकल र सञ्चारकर्मीको प्रवेशबीच आवश्यक सन्तुलन कायम गर्नुपर्ने उनको भनाइ छ।
सांसद बास्कोटाले अस्पतालमा उपचार, बिरामीको अधिकार र आईसीयूको प्रयोगसँग जोडिएका यस्ता घटनालाई बहुआयामिक रूपमा हेर्नुपर्ने बताउँदै मेडिकल नेग्लिजेन्ससम्बन्धी कानुन आवश्यक रहेको बताइन्।
उनले यस्ता विषयलाई सम्बोधन गर्न मेडिकल नेग्लिजेन्स ऐन छिट्टै लागू गर्नुपर्ने मागसमेत गरेकी छन्।
आईसीयूमा उपचाररत बिरामीको अन्तर्वार्तालाई लिएर उठेको यो विवादले स्वास्थ्य पत्रकारिताको मर्यादा, बिरामीको गोपनीयता, अस्पतालको प्रोटोकल र सार्वजनिक सरोकारका विषयमा सूचना प्राप्त गर्ने सञ्चारमाध्यमको अधिकारबीचको सीमाबारे बहस निम्त्याएको छ।