काठमाडौं । नेपाली युरोलोजिस्ट (मूत्ररोग विशेषज्ञ) डा. सञ्जय खड्गीले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘डिस्टिङ्ग्विस्ड करियर अवार्ड’ प्राप्त गर्नुभएको छ। उहाँ यो सम्मान प्राप्त गर्ने पहिलो नेपाली युरोलोजिस्ट बन्नुभएको छ।
इटालीको फ्लोरेन्समा नोभेम्बर ११ मा आयोजित सोसाइटी इन्टरनेसनल डी युरोलोजी (SIU) को ४६औँ अन्तर्राष्ट्रिय सम्मेलनका क्रममा डा. खड्गीलाई उक्त सम्मान प्रदान गरिएको हो।
युरोलोजी चिकित्सा क्षेत्रमा जीवनभर पुर्याएको योगदान, समर्पण तथा यस विधाको विकास र उन्नयनमा खेलेको महत्त्वपूर्ण भूमिकाको कदरस्वरूप प्रदान गरिने यो पुरस्कार सोसाइटीका प्रतिष्ठित सम्मानमध्ये एक मानिन्छ।
डा. खड्गीले प्राप्त गर्नुभएको यस सम्मानलाई नेपाली चिकित्सा क्षेत्रका लागि महत्त्वपूर्ण अन्तर्राष्ट्रिय उपलब्धिका रूपमा हेरिएको छ। यसले विश्व चिकित्सा जगतमा नेपाली चिकित्सकहरूको दक्षता, क्षमता र योगदानलाई थप उजागर गरेको छ।
उहाँको यस उपलब्धिले समग्र नेपाली चिकित्सा समुदायलाई गौरवान्वित बनाएको छ।