काठमाडौं- न्युरो तथा स्नायु प्रणालीसँग सम्बन्धित विभिन्न स्वास्थ्य समस्याको उपचारका लागि नेपालमा अत्याधुनिक ननइन्भेसिभ न्युरो मोडुलेसन प्रविधि भित्रिएको छ। चिरफार, सुई वा औषधिको प्रयोग नगरी शरीरको अटोनोमिक नर्भस सिस्टम (एएनएस) मा काम गर्ने यो प्रविधि ‘एक्स–सिग्नल’मार्फत नेपालमा औपचारिक रूपमा प्रवेश गरेको हो।
नेसा वर्ल्ड, स्पेनले विकास गरेको यो प्रविधि शनिबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा सार्वजनिक गरिएको हो। कार्यक्रममा नेपालका चिकित्सक, न्युरोसर्जन, स्वास्थ्यकर्मी तथा उपचारमा संलग्न प्राविधिकलाई प्रविधिबारे जानकारी दिइनुका साथै यसको प्रयोगसम्बन्धी आधारभूत ज्ञान र सीपसमेत प्रदान गरिएको थियो।
पछिल्लो समय विश्वभर ननइन्भेसिभ उपचार प्रविधिको प्रयोग र अनुसन्धान बढिरहेका बेला नेपालमा पनि यस्तो प्रविधि भित्रिनुलाई स्वास्थ्य क्षेत्रमा नयाँ सम्भावनाको सुरुवातका रूपमा हेरिएको छ। विशेषगरी लामो समयदेखि विभिन्न स्वास्थ्य समस्या झेलिरहेका बिरामीका लागि यसले उपचारको थप विकल्प उपलब्ध गराउने अपेक्षा नेसा वर्ल्ड नेपालको छ।
औषधि र शल्यक्रियाबिनै उपचारको प्रयास
एक्स–सिग्नल प्रविधि शरीरको अटोनोमिक नर्भस सिस्टमसँग सम्बन्धित उपचार तथा व्यवस्थापनका लागि प्रयोग गरिने बताइएको छ। मानव शरीरमा मुटुको धड्कन, श्वासप्रश्वास, पाचन प्रणाली, निद्रा तथा अन्य स्वचालित शारीरिक प्रक्रियामा अटोनोमिक नर्भस सिस्टमको महत्वपूर्ण भूमिका हुन्छ।
नेसा वर्ल्डका अनुसार एक्स–सिग्नलले यही प्रणालीमा न्युरो मोडुलेसनमार्फत काम गर्दै शरीरको प्राकृतिक सन्तुलन कायम गर्न सहयोग गर्छ।
यो ननइन्भेसिभ थेरापी भएकाले उपचारका क्रममा शरीरमा चिरफार गर्नुपर्दैन। सुई लगाउने वा औषधि सेवन गराउने आवश्यकता नपर्ने तथा शल्यक्रिया नगरी उपचार गर्न सकिने भएकाले यसलाई परम्परागत उपचार विधिको विकल्पका रूपमा प्रस्तुत गरिएको छ।
कम्पनीका अनुसार यसको प्रयोग क्रोनिक पेन, ओभरएक्टिभ ब्लाडर, युरिनरी इन्कन्टिनेन्स, स्लीप एन्ड एङ्जाइटी डिसअर्डर्स, थकान तथा सेक्सुअल डिसफङ्सन लगायतका समस्यामा हुँदै आएको छ।

२० वर्षभन्दा बढीको रिसर्च एन्ड डेभलपमेन्ट
नेसा वर्ल्डको यो प्रविधि एकाएक बजारमा आएको प्रविधि भने होइन। कम्पनीका अनुसार यसको विकास र रिसर्च एन्ड डेभलपमेन्टमा २० वर्षभन्दा बढी समय खर्च गरिएको नेसा वर्ल्ड इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत आइटारोले बताएका छन्।
जापानमा सुरु भएको यो प्रविधि अहिले विश्वका ५३ भन्दा बढी देशमा उपलब्ध रहेको र १ हजार ५ सयभन्दा बढी क्लिनिकले यसको प्रयोग गरिरहेको नेसा वर्ल्डले जनाएको छ।
कम्पनीका अनुसार यसको प्रविधि विश्वका १५ विश्वविद्यालय तथा २० भन्दा बढी वैज्ञानिक प्रकाशनबाट प्रमाणित भएको छ। वैज्ञानिक अनुसन्धान तथा क्लिनिकल एक्सपेरियन्सका आधारमा यसको प्रयोग अघि बढाइएको कम्पनीको भनाइ छ।
नेपालमा यसको प्रयोग सुरु भएसँगै नेपाली स्वास्थ्यकर्मीले पनि यस प्रविधिबारे थप अध्ययन, क्लिनिकल प्राक्टिस तथा अनुभव विकास गर्ने अवसर पाउने अपेक्षा गरिएको छ।
‘नेपालीको सेवामा अत्याधुनिक प्रविधि पुर्याउने उद्देश्य’
नेपालमा प्रविधि सार्वजनिक गर्ने क्रममा नेसा वर्ल्ड इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत आइटारो सेइकाइले नेपाल प्रवेशको उद्देश्य अत्याधुनिक चिकित्सा प्रविधिको पहुँच नेपाली बिरामीसम्म पुर्याउनु रहेको बताए।
‘हामी नेपाललाई अतिसम्मान गर्दै स्पष्ट उद्देश्यका साथ आएका छौं। त्यो हो– नेपालीको सेवामा अत्याधुनिक चिकित्सा प्रविधि पुर्याउन सकियोस्, ताकि हजारौं बिरामीले आफ्नो स्वास्थ्य र सहज जीवनयापन पुनः प्राप्त गर्न सकून्,’ सेइकाइले भने।

नेपालका स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थासँग सहकार्य गर्दै अघि बढ्ने महत्वपूर्ण यात्राको सुरुवात भएको उनको भनाइ थियो।
आफ्ना पिताले सुरु गरेको प्रविधिलाई विश्वका विभिन्न मुलुकमा विस्तार गर्न पाउँदा आफूलाई खुशी लागेको उनले बताए। प्रविधिको विकासदेखि विश्वका विभिन्न स्वास्थ्य संस्थासम्म यसको पहुँच विस्तार गर्ने यात्रालाई उनले पारिवारिक विरासतसँग पनि जोडे।
‘नेपालका स्वास्थ्यकर्मी र संस्थाहरूसँग मिलेर अघि बढ्ने एउटा महत्वपूर्ण यात्राको सुरुवात हुनेछ भन्ने हाम्रो विश्वास छ,’ उनले भने।
नेपालमा नयाँ उपचार विकल्प थपिएको विश्वास
नेसा वर्ल्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सम्भवराज ढकालले नेपालमा नयाँ चिकित्सा प्रविधि भित्र्याउन पाउनु स्वास्थ्य क्षेत्रका लागि महत्वपूर्ण उपलब्धि भएको बताए।

उनले विश्वस्तरीय नयाँ प्रविधिबाट नेपाली बिरामीलाई उपचारका थप विकल्प उपलब्ध गराउन सकिने विश्वास व्यक्त गरे। प्रविधि नेपाल भित्र्याउनु मात्र पर्याप्त नभई यसको सुरक्षित, वैज्ञानिक र प्रभावकारी प्रयोगका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीलाई आवश्यक ट्रेनिङ र क्लिनिकल नलेज उपलब्ध गराउनुपर्नेमा पनि उनले जोड दिए।
उनका अनुसार नेपालका विभिन्न स्वास्थ्य संस्थासँग सहकार्य गर्दै प्रविधिको पहुँच देशभर विस्तार गर्ने लक्ष्य राखिएको छ।
‘नयाँ प्रविधि ल्याउनु मात्र होइन, बिरामीको उपचार सुधार्नु मुख्य कुरा’
कार्यक्रमका प्रमुख अतिथि विराटनगर न्युरो तथा मल्टिस्पेसियालिटी अस्पतालका सञ्चालक समेत रहेका वरिष्ठ न्युरोसर्जन डा. वीरेन्द्र कुमार बिस्टले नेपालमा नयाँ प्रविधिको प्रवेशलाई स्वागत गर्दै यसको वास्तविक महत्व बिरामीको उपचारमा देखिनुपर्ने बताए।
उनले एक्स–सिग्नल जस्तो ननइन्भेसिभ न्युरो मोडुलेसन प्रविधि नेपालमा भित्रिनु केवल एउटा नयाँ मेडिकल प्रविधि वा उपकरण देशमा ल्याउने विषय मात्र नभएको उल्लेख गरे। उनका अनुसार नयाँ प्रविधिसँगै त्यसप्रति विश्वास निर्माण, चिकित्सक तथा स्वास्थ्यकर्मीको एक्सपर्टिज विकास र अन्ततः बिरामीको उपचार सेवामा सुधार ल्याउनु महत्वपूर्ण हुन्छ।

‘नयाँ प्रविधि भित्र्याउनु भनेको देशमा एउटा उत्पादन ल्याउनु मात्र होइन। यससँगै विश्वास निर्माण गर्नु, विशेषज्ञता विकास गर्नु र अन्ततः बिरामीको उपचार सेवामा सुधार ल्याउनु मुख्य कुरा हो,’ डा. बिस्टले कार्यक्रममा भने।
उनले न्युरो कार्डियो एन्ड मल्टिस्पेसियालिटी अस्पतालले दुई दशकभन्दा बढी समयदेखि पूर्वी नेपालमा स्वास्थ्य सेवा दिँदै आएको र हालसम्म एक लाखभन्दा बढी बिरामीलाई सेवा प्रदान गरेको जानकारी दिए।
वेब ट्रेडिङ कन्सर्नसँग आफ्नो संस्थाको २५ वर्षदेखिको सहकार्य रहेको उल्लेख गर्दै उनले उक्त सम्बन्ध विश्वास, प्रतिबद्धता र स्वास्थ्य सेवाप्रतिको साझा समर्पणमा आधारित रहेको बताए।
डा. बिस्टले वेब ट्रेडिङ कन्सर्नका अध्यक्ष रामइन्द्र न्यौपानेको व्यवसायिक यात्रा र स्वास्थ्य क्षेत्रमा नयाँ प्रविधि भित्र्याउने प्रयासको पनि प्रशंसा गरे। लामो समयदेखिको सहकार्यबाट विकसित सम्बन्धकै परिणामस्वरूप एक्स–सिग्नल नेपालमा ल्याउन सम्भव भएको उनले बताए।
नेपालभर प्रविधि पुर्याउने लक्ष्य
कार्यक्रममा वेब ट्रेडिङ कन्सर्नका अध्यक्ष रामइन्द्र न्यौपानेले नेसा वर्ल्डले नेपालका लागि अफिसियल पार्टनरका रूपमा विश्वास गरेकोमा आभार व्यक्त गरे।
नेपालभर उक्त प्रविधि विस्तार गर्ने जिम्मेवारी दिएकोमा नेसा वर्ल्ड नेपाललाई धन्यवाद दिँदै उनले नेपाली स्वास्थ्य क्षेत्रमा नयाँ प्रविधि भित्र्याउने काममा आफूहरू निरन्तर अग्रसर रहने बताए।
नेपालमा प्रविधि ल्याएर काठमाडौंमा मात्र सीमित नराखी आवश्यकता भएका स्वास्थ्य संस्था र बिरामीसम्म यसको पहुँच पुर्याउनुपर्ने उनको भनाइ थियो।
‘नेपालको चिकित्सा सेवामा नयाँ प्रविधि भित्र्याउने र त्यसलाई देशभर पुर्याउने काममा हामी सधैं अग्रसर छौं,’ न्यौपानेले बताए।
उनका अनुसार नेपालमा आधुनिक चिकित्सा प्रविधिको माग बढिरहेको अवस्थामा विश्वमा प्रयोग भइरहेका प्रमाणमा आधारित प्रविधिलाई नेपाली स्वास्थ्य सेवासँग जोड्नु आवश्यक छ।

क्रोनिक पेनदेखि स्लीप डिसअर्डरसम्म
नेपालमा एक्स–सिग्नलको आवश्यकता किन छ भन्ने प्रश्नसँग जोडेर हेर्दा क्रोनिक पेन, स्लीप डिसअर्डर, युरिनरी इन्कन्टिनेन्स लगायतका समस्या ठूलो जनसंख्याको दैनिक जीवनसँग जोडिएका छन्।
कार्यक्रममा प्रस्तुत तथ्यांकअनुसार क्रोनिक पेनबाट पीडितमध्ये ५३ प्रतिशत मानिस लामो समयदेखि समस्यामा रहेका छन्। त्यसैगरी चार महिलामध्ये एकजनामा पिसाब चुहिने समस्या देखिने तथा करिब ३७ देखि ४७ प्रतिशत मानिसमा स्लीपसम्बन्धी समस्या रहेको तथ्यांक प्रस्तुत गरिएको थियो।
यस्ता समस्याले बिरामीको शारीरिक अवस्थासँगै दैनिक जीवन, काम गर्ने क्षमता, मानसिक अवस्था तथा पारिवारिक र सामाजिक जीवनमा समेत असर पार्ने गर्छन्।
यही पृष्ठभूमिमा ननइन्भेसिभ न्युरो मोडुलेसनले उपचारमा थप विकल्प दिन सक्ने अपेक्षा गरिएको छ।
तर नयाँ प्रविधिको प्रयोगसँगै यसको प्रभावकारिता र उपयुक्तता प्रत्येक बिरामीको अवस्था हेरेर चिकित्सकीय मूल्यांकनका आधारमा निर्धारण गर्नुपर्ने हुन्छ। प्रविधि सबै प्रकारका बिरामीका लागि एउटै उपचार हो भन्नेभन्दा पनि उपयुक्त बिरामी छनोट र विशेषज्ञको निगरानीमा यसको प्रयोग महत्वपूर्ण हुने चिकित्सकीय दृष्टिकोण छ।
नेपाल र भारतका चिकित्सकलाई क्लिनिकल ट्रेनिङ
प्रविधिको प्रवेशसँगै नेपाली र भारतीय चिकित्सक तथा स्वास्थ्यकर्मीलाई यसको प्रयोगबारे जानकारी दिन क्लिनिकल वर्कसप र ट्रेनिङ प्रोग्राम समेत आयोजना गरिएको छ।
शनिबार काठमाडौंमा भएको कार्यक्रममा ११ जना भारतीय र ५० भन्दा बढी नेपाली विशेषज्ञहरूसँग प्रविधिको प्रयोग, क्लिनिकल एप्लिकेसन तथा उपचारसम्बन्धी अनुभव आदानप्रदान गरिएको थियो।
कार्यक्रमको नेतृत्व स्पेनको बार्सिलोना तथा मल्लोर्काका अस्पतालमा कार्यरत ख्यातिप्राप्त न्युरोसर्जन डा. सान्तियागो गार्फियाले गरेका थिए।
डा. गार्फियाले नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीलाई एक्स–सिग्नलको क्लिनिकल एप्लिकेसन, प्रयोगको अनुभव तथा विभिन्न स्वास्थ्य समस्यामा यसको सम्भावित प्रयोगबारे जानकारी दिएका थिए।
कार्यक्रममा नेसा वर्ल्डका सीईओ आइटारो सेइकाइ पनि सहभागी थिए। उनी प्रविधिका आविष्कारक तथा कम्पनीका संस्थापकका छोरा हुन्।
-1789195385.jpeg)