काठमाडौं– सघन उपचार कक्ष (आईसीयू) लगायतका संवेदनशील क्षेत्रमा अनधिकृत रूपमा प्रवेश गरी फोटो, भिडियो खिच्ने र बिरामीको अन्तर्वार्ता लिने कार्यप्रति देशका पाँचवटा प्रमुख परिषद्हरूले गम्भीर ध्यानाकर्षण गराएका छन्। नेपाल मेडिकल काउन्सिल, नेपाल नर्सिङ परिषद्, नेपाल आयुर्वेद चिकित्सा परिषद्, नेपाल स्वास्थ्य व्यवसायी परिषद् र नेपाल फार्मेोसी परिषद्ले संयुक्त विज्ञप्ति जारी गर्दै आईसीयू तथा अन्य संवेदनशील कक्षलाई प्रचार सामग्री निर्माणको थलो नबनाउन स्पष्ट निर्देशन दिएका हुन्।
परिषद्हरूका अनुसार आईसीयू, आकस्मिक, शल्यक्रिया, प्रसूति तथा मानसिक स्वास्थ्य सेवाजस्ता क्षेत्रमा बिरामीको जीवन रक्षा, गोपनीयता, मानवीय मर्यादा र संक्रमण नियन्त्रणलाई सर्वोच्च प्राथमिकता दिनु अनिवार्य हुन्छ। अस्पतालको पूर्वस्वीकृति बिना प्रवेश गरी अन्तर्वार्ता वा छायांकन नगर्न आग्रह गर्दै उनीहरूले बिरामीको पीडा र असहाय अवस्थालाई प्रचारको माध्यम नबनाउन सञ्चारकर्मी र सम्पूर्ण सरोकारवालाहरूलाई अपिल गरेका छन्।
संयुक्त प्रेस विज्ञप्तिको पूर्णपाठ:
सघन उपचार कक्ष (ICU) तथा अन्य संवेदनशील स्वास्थ्य सेवा क्षेत्रमा अनधिकृत प्रवेश, फोटो/भिडियो तथा अन्तर्वार्ता सम्बन्धमा पाँचवटा स्वास्थ्य व्यवसायी परिषद्को संयुक्त अपिल
ICU मा उपचाररत बिरामीको संवेदनशील स्वास्थ्य अवस्था तथा उपचारको वातावरणलाई पर्याप्त ध्यान नदिई बिरामीसँग अन्तर्वार्ता लिन तथा फोटो/भिडियो खिच्ने गरी सार्वजनिक गरिएको विषयप्रति नेपाल मेडिकल काउन्सिल, नेपाल नर्सिङ परिषद्, नेपाल आयुर्वेद चिकित्सा परिषद्, नेपाल स्वास्थ्य व्यवसायी परिषद् र नेपाल फार्मेसी परिषद्को गम्भीर ध्यानाकर्षण भएको छ।
ICU, आकस्मिक कक्ष, शल्यक्रिया कक्ष, प्रसूति कक्ष, मानसिक स्वास्थ्य सेवा लगायतका संवेदनशील उपचार क्षेत्रहरूमा बिरामीहरू शारीरिक तथा मानसिक रूपमा विशेष संवेदनशील अवस्थामा रहने भएकोले बिरामीको जीवन, स्वास्थ्य, गोपनीयता, स्वायत्तता, मानवीय मर्यादा, सुरक्षित उपचार तथा संक्रमण नियन्त्रणलाई सर्वोच्च प्राथमिकता दिनु अनिवार्य हुन्छ। विशेषतः गम्भीर दुर्घटना वा आकस्मिक अवस्थाबाट जीवन जोगाइएका ICU मा उपचाररत बिरामीसँग उपचार तथा स्वास्थ्यलाभको संवेदनशील चरणमै भिडियो सामग्री निर्माण वा व्यक्तिगत अनुभव/सम्बन्धी अन्तर्वार्ता लिनु बिरामीको मानसिक तथा शारीरिक हितमा प्रतिकूल हुने भएकोले यस्तो कार्यमा विशेष पेसागत मर्यादा तथा नैतिक सावधानी आवश्यक हुन्छ।
यस सन्दर्भमा पाँचै परिषद् / काउन्सिल देहायबमोजिम स्पष्ट रूपमा अपिल गर्दछौँ:
१) ICU तथा अन्य संवेदनशील उपचार क्षेत्रमा सम्बन्धित स्वास्थ्य संस्था/अस्पतालको पूर्वस्वीकृति बिना प्रवेश गरी बिरामीको फोटो, भिडियो, अडियो वा अन्तर्वार्ता रेकर्ड नगर्न/नगराउन।
२) स्वास्थ्य संस्थामा उपचाररत बिरामीसँग अन्तर्वार्ता वा सञ्चार आवश्यक भएमा बिरामीको अवस्था तथा निर्णय क्षमता विचार गरी, बिरामीको स्वायत्तता, सूचित तथा स्पष्ट सहमति, आवश्यकता अनुसार कानुनी संरक्षक वा अभिभावकको अनुमति र सम्बन्धित स्वास्थ्य संस्था/अस्पतालको संस्थागत स्वीकृति प्राप्त भएपछि मात्र उपयुक्त माध्यम र स्थानमा पहुँच सुनिश्चित गर्न।
३) बिरामीको पहिचान, स्वास्थ्य अवस्था, उपचारसम्बन्धी सूचना, फोटो, भिडियो, अडियो वा अन्य व्यक्तिगत सामग्री संकलन, प्रयोग वा प्रकाशन गर्दा गोपनीयता, मानवीय मर्यादा, स्वायत्तता, बिरामीको सर्वोत्तम हित तथा प्रचलित कानुनी र पेसागत दायित्वको पूर्ण पालना गर्न।
४) ICU तथा अन्य संवेदनशील उपचार कक्षलाई अन्तर्वार्ता, भिडियो उत्पादन वा प्रचार सामग्री निर्माणको स्थलका रूपमा प्रयोग नगरी आवश्यक संवादका लागि उपचार क्षेत्रबाहिर सुरक्षित र उपयुक्त वैकल्पिक व्यवस्था गर्न।
५) अस्पताल तथा स्वास्थ्य संस्थाले सञ्चारमाध्यम, सामग्री निर्माण तथा अन्य व्यक्तिको प्रवेश, रेकर्डिङ र बिरामीसँग अन्तर्वार्तासम्बन्धी स्पष्ट संस्थागत नीति/प्रोटोकल निर्माण गरी कडाइका साथ कार्यान्वयन गर्न तथा यसबाट उपचारको निरन्तरता, बिरामीको सुरक्षा र संक्रमण रोकथाममा प्रतिकूल असर नपर्ने अवस्था सुनिश्चित गर्न।
६) स्वास्थ्यकर्मीहरूले सम्बन्धित पेसागत आचारसंहिता, बिरामीको अधिकार, गोपनीयताको दायित्व तथा सुरक्षित उपचार सेवाका मार्गनिर्देशनहरूको पालना गर्दै मर्यादित, सुरक्षित उपचार अधिकारको सम्मान गर्न सबै प्रतिबद्ध हुनुपर्छ। बिरामीको पीडा, असहाय अवस्था वा उपचारको संवेदनशीलतालाई सामग्री निर्माण वा प्रचारको माध्यम नबनाउन विशेष अनुरोध गर्दछौँ।
यसै विज्ञप्ति मार्फत आम सञ्चारकर्मी, सम्पूर्ण नागरिक, सामाजिक संघ/संस्था, स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सरोकारवाला पक्ष तथा सबै सम्बन्धित निकायहरूमा उपचारको अवस्थाको मानवीय मर्यादा र संवेदनशीलता कायम राखी सहयोग र सहकार्यको अपेक्षा गर्दछौँ।
बिरामीको सम्मान, स्वास्थ्यकर्मीको सुरक्षा र गुणस्तरीय स्वास्थ्य सेवाको सुनिश्चितताका लागि सबैको सहयोग अनिवार्य छ।
नेपाल मेडिकल काउन्सिल
नेपाल नर्सिङ परिषद्
नेपाल आयुर्वेद चिकित्सा परिषद्
नेपाल स्वास्थ्य व्यवसायी परिषद्
नेपाल फार्मेसी परिषद्