काठमाडौं– पिपल्स डेन्टल कलेज एन्ड हस्पिटलमा कार्यरत चिकित्सक तथा कर्मचारी चार दिनदेखि आन्दोलनरत रहेको विषयमा नेपाल डेन्टल एसोसिएसन (एनडीए)ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
एनडीएले भदौ २९ गते जारी गरेको प्रेस विज्ञप्तिमा कलेज प्रशासनले भदौ २३ गते सूचना जारी गरी भदौ २४ गतेदेखि लागू हुने गरी कार्यालय समय परिवर्तन गरेको उल्लेख गरेको छ। प्रशासनले नयाँ कार्यसमयअनुसार काम गर्न निर्देशन दिए पनि चिकित्सक तथा कर्मचारीको सेवा–सुविधा, श्रम अधिकार र पारस्परिक सहमतिलाई पर्याप्त रूपमा सम्बोधन नगरी कार्यसमय मात्रै बढाइएको भन्दै विवाद उत्पन्न भएको एनडीएले जनाएको छ।
सम्बन्धित चिकित्सक तथा कर्मचारीले प्रशासनको नयाँ निर्देशनअनुसार काम नगरी साविकको बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्मकै कार्यसमयमा सेवा प्रदान गरेको र त्यसपछि भदौ २६ गते सबै चिकित्सकलाई स्पष्टीकरण सोधिएको घटनाप्रति पनि एनडीएले चासो व्यक्त गरेको छ।
एनडीएले स्वास्थ्य संस्था सञ्चालन गर्दा चिकित्सक तथा कर्मचारीको श्रम अधिकार, पेशागत मर्यादा, सेवा–सुविधा तथा कानुनले सुनिश्चित गरेका अधिकारको सम्मान गर्नुपर्नेमा जोड दिएको छ।
‘श्रम ऐन, प्रचलित कानुन तथा आपसी सहमतिविपरीत कुनै पनि निर्णय एकतर्फी रूपमा लागू गरिनु उपयुक्त हुँदैन,’ विज्ञप्तिमा भनिएको छ।
एसोसिएसनले आन्दोलनरत चिकित्सक तथा कर्मचारीका जायज माग यथाशीघ्र सम्बोधन गर्न कलेज व्यवस्थापनलाई आग्रह गरेको छ। समस्या समाधानका लागि आपसी संवाद र सहमतिको माध्यम अपनाउनसमेत एनडीएले आग्रह गरेको छ।
आवश्यक परे दुवै पक्षबीच समन्वय, सहजीकरण तथा रचनात्मक संवादका लागि एसोसिएसन तयार रहेको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा एनडीएका अध्यक्ष डा. अजय कुमार शाह र महासचिव डा. प्रदीप भण्डारीले हस्ताक्षर गरेका छन्।
