धनगढी– शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय, गेटा कैलालीले ३०० बेडको अस्पताल सञ्चालनका लागि ठूलो संख्यामा स्वास्थ्य जनशक्ति माग गरेको छ। प्रादेशिक अस्पतालसँग समेत सम्झौता गरी अध्ययन/अध्यापन सुरु गर्ने तयारी गरिरहेको विश्वविद्यालयले मापदण्ड अनुसार आफ्नै अस्पताल निर्माणको काम समेत तीव्र पारेको रजिस्ट्रार भीम चन्दले जानकारी दिएका छन्।
विश्वविद्यालयले करार सेवामा विभिन्न स्वास्थ्य पदमा खुला प्रतियोगितात्मक अन्तर्वार्ताबाट पदपूर्ति गर्न सूचना प्रकाशित गरेको हो। विश्वविद्यालयले सूचना प्रकाशन भएको मितिले सात दिनभित्र इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको छ।
विश्वविद्यालयले मेडिकल अधिकृत १०, डेन्टल सर्जन ४, बायोमेडिकल इन्जिनियर १, नर्सिङ अधिकृत १०, रेडियोग्राफी अधिकृत १, फार्मेसी अधिकृत २, फिजियोथेरापी अधिकृत २, ल्याब टेक्नोलोजिस्ट ३, स्टाफ नर्स ९०, सहायक ल्याब टेक्निसियन १०, सहायक रेडियोग्राफर ६, फिजियोथेरापी सहायक १० र फार्मेसी सहायक २ जना माग गरेको छ।
यसअनुसार अस्पतालका लागि विभिन्न तहका १५१ जना जनशक्ति माग गरिएको छ। मेडिकल अधिकृतका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट एमबीबीएस वा सोसरह उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ। डेन्टल सर्जनका लागि बीडीएस तथा बायोमेडिकल इन्जिनियरका लागि बायोमेडिकल इन्जिनियरिङमा स्नातक उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता भएको हुनुपर्ने सूचनामा उल्लेख छ।
त्यस्तै, नर्सिङ अधिकृतका लागि नर्सिङमा स्नातक, रेडियोग्राफी अधिकृतका लागि रेडियोग्राफीमा स्नातक, फार्मेसी अधिकृतका लागि फार्मेसीमा स्नातक, फिजियोथेरापी अधिकृतका लागि फिजियोथेरापीमा स्नातक र ल्याब टेक्नोलोजिस्टका लागि बीएमएलटी वा सोसरह उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ।
स्टाफ नर्सका लागि नर्सिङ विषयमा प्रमाणपत्र तह वा सोसरह, सहायक ल्याब टेक्निसियनका लागि हेल्थ ल्याबमा प्रमाणपत्र तह, सहायक रेडियोग्राफरका लागि रेडियोग्राफीमा प्रमाणपत्र तह, फिजियोथेरापी सहायकका लागि फिजियोथेरापीमा प्रमाणपत्र तह र फार्मेसी सहायकका लागि फार्मेसीमा प्रमाणपत्र तह उत्तीर्ण गरी सम्बन्धित काउन्सिलमा दर्ता भएको हुनुपर्नेछ।
विश्वविद्यालयले २०८३ भदौ २६ गते करार सेवामा पदपूर्तिका लागि सूचना नम्बर ०१ प्रकाशित गर्दै दरखास्त आह्वान गरेको हो।
दरखास्तका साथ शैक्षिक योग्यताको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्र तथा सम्बन्धित क्षेत्रको अनुभव खुल्ने कागजात पेस गर्नुपर्नेछ। रीत नपुगेका तथा झुट्टा विवरण उल्लेख गरी पेस भएका दरखास्त रद्द गरिने विश्वविद्यालयले जनाएको छ।
गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालयअन्तर्गतको अस्पताललाई ३०० बेड क्षमतामा सञ्चालन गर्ने तयारी भइरहेको छ। सोहीअनुसार आवश्यक स्वास्थ्य जनशक्ति व्यवस्थापनका लागि पछिल्लो विज्ञापन गरिएको हो।