भोटेकोशी बाढीका कारण १० दिनसम्म सुरुङभित्र फसेर जीवित उद्धार गरिएका सञ्जय साह र कबीर महर्जनको कथा आफैंमा असाधारण थियो। विपद्मा अँध्यारो सुरुङभित्र हराएको जीवन कसरी मृत्युको मुखबाट फर्कियो ? यो स्वाभाविक रुपमा आम चासोको विषय हो। तर, उद्धारपछि जब उनीहरू सैनिक अस्पतालको आइसीयुमा उपचाररत थिए, क्यामेरा उपचार कक्षभित्रै पुग्यो। क्यामेरा पुगेन मात्रै, आइसीयु 'स्टुडियो'मा परिणत भयो, बिरामी 'गेस्ट'।
उद्धारपछि सैनिक अस्पतालमा उपचाररत साह र महर्जनसँग सुरजसिंह ठकुरीको टिमले आइसीयुमै अन्तर्वार्ता गरेको विषयमा परिवार, अस्पताल प्रशासन, पत्रकारिता क्षेत्र र मेडिकल समुदायबाट प्रश्न उठे:
मिडिया आचारसंहिताको साँधसीमा कति मिचियो?
प्रभावितको कथा सार्वजनिक गर्ने अधिकार र बिरामीको गोपनीयताको संरक्षणबीचको 'ग्रेलाइन' कहाँनेर छ?
आइसीयुको संवेदनशिलता र उपचाररत बिरामीको स्वास्थ्य सुरक्षाको 'प्रोटोकल' किन निष्क्रिय पारियो ?
सार्वजनिक प्रश्न उठेर नेपाल प्रेस काउन्सिलले अग्रसरता लिइरहँदा नेपाल मेडिकल काउन्सिल किन मौन छ ?
ठकुरी पक्षले भने सम्बन्धित निकाय र चिकित्सकसँग समन्वय तथा अनुमति लिइएको दाबी गरेको छ। प्रेस काउन्सिल नेपालले घटनाबारे अस्पताल, सञ्चारकर्मी र सम्बन्धित मेडिकल निकायसँग जानकारी मागेर छानबिन अघि बढाएको बताएको छ।
बिपद्पछि अस्पतालको संवेदनशीलत क्षेत्रसम्म पहुँच पुर्याउने र त्यसले अन्तर्राष्ट्रिय तहको विवाद सृजना गरेको यो पहिलो घटना होइन। ११ वर्षअघि नेपालमै भएको अर्को अन्तर्राष्ट्रिय कन्ट्रोभर्सी पनि यहाँनेर स्मरणयोग्य छ।
२०१५ को भूकम्पपछि सीएनएनका मेडिकल संवाददाता तथा न्युरोसर्जन डा. सञ्जय गुप्ता काठमाडौंको वीर अस्पताल पुगे। विपद्को अत्यन्त कठिन अवस्थामा उनले नेपाली चिकित्सकसँग मिलेर घाइते किशोरीको मस्तिष्कको शल्यक्रियामा सहयोग गरेको दाबी गरे। त्यही कुरालाई भिडियो बनाएर उनले रिपोर्ट तयार गरे। तर सीएनएनको रिपोर्टमा शल्यक्रिया गरिएकी बिरामीको पहिचान समेत गलत रुपमा प्रस्तुत भयो। पछि सीएनएनले बिरामीको पहिचानसम्बन्धी गल्ती स्वीकार्दै करेक्सन गर्यो। तर, एक हातमा क्यामेरा र अर्को हातमा स्कालपेल बोकेको उनको दोहोरो भूमिकालाई लिएर पत्रकारिता र चिकित्सा जगत् दुवैले नैतिक तथा कानुनी प्रश्नहरु उठाए।
विपद्को समयमा घटेका यी दुवै घटनाले समान प्रश्न उठाउँछन्- 'विपद्को समयमा स्वास्थ्य पत्रकारिताको सीमा के हो ?'
सञ्जय गुप्ता प्रकरण : जब पत्रकार आफैं चिकित्सक बने
२०७२ वैशाख ११ को भूकम्पपछि नेपालका अस्पतालहरू घाइतेले भरिएका थिए। त्यही अवस्थामा सीएनएनका मेडिकल संवाददाता सञ्जय गुप्ता वीर अस्पताल पुगे। उनी पत्रकार मात्र थिएनन्- न्युरोसर्जन पनि थिए।
सीएनएनको प्रारम्भिक रिपोर्टअनुसार उनले नेपाली चिकित्सकलाई शल्यक्रियामा सहयोग गरेका थिए। अस्पतालको अत्यन्त कठिन अवस्थाबीच तत्काल उपचार आवश्यक भएको भन्दै गुप्ताले आफूले चिकित्सकीय सीप प्रयोग गरेको बताएका थिए। उनको दाबी अनुसार उनले १४ वर्षीया सन्ध्या चालिसेको क्रेनियोटोमीमा सहयोग गरेका थिए। तर, रिपोर्टमा उनले ८ वर्षीया सलिना दाहाल बताएका थिए। विवाद त्यहीँबाट सुरु भयो- ‘डाक्टर गुप्ता र पत्रकार गुप्ता’ एकसाथ सक्रिय हुन पाइन्छ ?'

तस्वीर : सीएनएन
उनले उपचार गरेको दाबी गर्दै त्यस उपचारको कथा पनि उनी आफैंले रिपोर्ट गरे। क्यामेरा अपरेसन थिएटरसम्म पुग्यो। यस प्रकरणमा त्योबेला अन्तराष्ट्रिय जगतमा दुईटा प्रश्न उठेका थिए।
पहिलो, चिकित्सकीय: इमर्जेन्सीमा उपलब्ध दक्ष चिकित्सकले जीवन बचाउन सहयोग गर्नु गलत हो?
त्यसको उत्तरमा सधैं ‘हो’ भन्न नसकिने निष्कर्ष निकालियो। विपद्मा जनशक्तिको चरम अभाव हुन्छ र चिकित्सकले आफ्नो सीप प्रयोग गर्नु जीवनरक्षाको आवश्यकता हुन सक्छ।
दोस्रो, पत्रकारितासम्बन्धी: त्यही चिकित्सकले उपचारलाई समाचार सामग्री बनाउँदा भूमिकाको द्वन्द्व कसरी व्यवस्थापन गर्ने?
यही प्रश्नले गुप्ता प्रकरणलाई विश्वभर पत्रकारिता र मेडिकल इथिक्सको बहसमा पुर्यायो। मिडिया विश्लेषणहरूले उनको दोहोरो भूमिका (चिकित्सक र संवाददाता) लाई 'नैतिक संकट'को केन्द्रका रुपमा लिए। त्यसैमागि अर्को गम्भीर प्रश्न थियो, एक्युरेसी। विपद्को अवस्थामा तथ्यगत त्रुटि हुने सक्ने तर माफी दिन नसकिने निष्कर्ष निकालिएपछि सीएनएनले गल्ती स्वीकार गर्यो।
सुरजसिंह ठकुरी प्रकरण : आइसीयुको ढोका कसले केका लागि खोल्यो?
आइसीयुमै क्यामेरासहितको जम्बो टोली प्रवेश गराएर अन्तर्वार्ता गराइएको विषय अहिले पत्रकारिता र मेडिकल इथिक्सको बहस बनेको छ। त्यसैमाथि अन्तर्वार्ताकार ठकुरीले बिरामीको आफन्तका लागि बनाइएको आइसीयु प्रोटोकल समेत पालना गरेको देखिदैन । आइसीयुभित्र सामान्यतया मास्क, गाउन, ग्लोभ्स आदि प्रयोग गर्नपर्ने हुन्छ। तर, उनले मास्क नलगाइ अन्तर्वार्ता गरिरहेका छन्।
-1789449410.png)
तस्विर : सीएनएन
यसबाहेक यहाँ प्रश्न ‘पत्रकारले अनुमति लिएका थिए कि थिएनन्? वा उनले त्यहाँभित्र पुगेपछि के गरे?' भन्ने मात्रै रहेन।
अनुमति कसले दिएको थियो?
अस्पताल प्रशासनले? डाक्टरले? बिरामीले? परिवारले?
र, यदि बिरामीले ‘हुन्छ’ भनेको भएपनि प्रश्न उठ्छ- आइसीयुमा उपचाररत बिरामी शारीरिक र मानसिक अवस्थामा स्वतन्त्र रूपमा निर्णय लिन सक्षम हुन्छ?
यही प्रकरणमा क्रिटिकल केयर विशेषज्ञसँग गरिएको कुराकानी अनुसार मेडिकल इथिक्समा कन्सेन्टलाई ‘हुन्छ’ भन्नु मात्रैका रुपमा बुझ्न हुँदैन। उनीहरुको भनाइ छ, 'बिरामी र उसका आफन्तले के रेकर्ड हुँदैछ ? कहाँ प्रसारण हुन्छ ? कसरी प्रयोग हुन्छ र त्यसको सम्भावित प्रभाव के हुन सक्छ ? भन्ने बुझिसकेपछि दिएको अनुमति हो।'
नेपाल मेडिकल काउन्सिलको 'कोड अफ इथिक्स'ले बिरामीको स्वास्थ्य अवस्था, निदान, बिरामीको अनुमानित परिणाम, उपचार तथा अन्य व्यक्तिगत सूचनालाई गोप्य राख्नुपर्ने र बिरामीको स्पष्ट अनुमति वा कानूनले अनुमति दिएको अवस्थाबाहेक सार्वजनिक गर्न नहुने बताउँछ। त्यही संहितामा बिरामीको मर्यादा र गोपनियतालाई उपचारका सबै चरणमा सम्मान गर्नुपर्ने उल्लेख छ। यस अर्थमा आइसीयु अन्तर्वार्ता स्थल होइन, क्लिनिकल स्पेश हो।
आइसीयु किन विशेष संवेदनशील ठाउँ हो?
आइसीयुमा सामान्यतया गम्भीर अवस्थाका बिरामी हुन्छन्। कोही औषधिबाट बेहोश अवस्थामा हुन्छन्, कोही शारीरिक रूपमा अत्यन्त कमजोर हुन्छन्, कोही मानसिक आघातमा हुन्छन्। उपचारको वातावरण पनि निजी हुन्छ।
विश्व स्वास्थ्य संगठनको प्यासेन्ट सेफ्टी राइट्स चार्टरले बिरामीको डिग्निटी, आदर, गोपनियता र निजत्वलाईलाई आधारभूत प्यासेन्ट-सेफ्टी राइट्समा राखेको छ। बिरामीको स्वास्थ्यसम्बन्धी सूचना सुरक्षित राखिनुपर्ने र स्पष्ट सहमति बिना त्यसलाई सार्वजनिक गर्न नहुने सिद्धान्त पनि चार्टरमा छ।
त्यसैले ‘बिरामीले हुन्छ भन्यो वा बोल्यो’ मात्र पर्याप्त प्रमाण होइन। पत्रकारले सोध्नुपर्ने अर्को प्रश्न हो- 'यो मानिस अहिले निर्णय गर्न सक्ने अवस्थामा छ?'
यही कारण बालबालिका, गम्भीर बिरामी, दुर्घटनाबाट प्रभावित, शोकमा रहेका परिवार तथा अन्य जोखिममा रहेका स्रोतहरुसँग उच्च संवेदनशिलता आवश्यक मानिन्छ। इन्टरनेशनल फेडेरेसन अफ जर्नालिस्टको ग्लोबल चार्टरले पत्रकारलाई गोपनियता र मर्यादाको सम्मान गर्न तथा जोखिममा रहेका अन्तर्वार्ता दिने व्यक्तिप्रति विशेष सावधानी अपनाउन भनेको छ।
सोसाइटी अफ प्रोफेसनल जर्नालिस्टको कोड अफ इथिक्समा अझ स्पष्ट छ- कानुनी रूपमा सूचना प्राप्त गर्न सकिने अवस्था र त्यसलाई नैतिक रूपमा प्रकाशित गर्ने औचित्य एउटै कुरा होइन। पत्रकारले सार्वजनिक चासो र सम्भावित हानीबीच सन्तुलन गर्नुपर्छ।
अस्पताल र चिकित्सकमाथि पनि प्रश्न
यस्तो घटनामा सम्पूर्ण दोष मिडियामाथि थोपर्नु सजिलो हुन्छ। तर आइसीयुमा पहुँच आफैंमा अस्पताल प्रशासनको दायित्वको प्रश्न पनि हो। क्यामेरा लिएर सुटिङ युनिट आइसीयुमा प्रवेश गराउने विषय चिकित्सकीय दृष्टिकोणबाट कति उपयुक्त हो ? त्यसपछि मात्रै सुटिङ गर्नेले आचारसंहिता, ऐनकानुन पालना गर्यो कि गरेन भन्ने प्रश्न आउँछ।
नेपालको जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा १४ ले स्वास्थ्य सेवा दिँदा सेवाग्राहीको स्वास्थ्य अवस्था, निदान र उपचारसम्बन्धी सूचना गोप्य राख्नुपर्ने व्यवस्था गरेको छ। ऐनले सेवाग्राहीलाई आफ्नो स्वास्थ्य तथा उपचारको अवस्थाबारे जानकारी पाउने अधिकारसँगै व्यावसियक आचारणको दायित्व पनि स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीमाथि राखेको छ।
त्यसैले अस्पतालको अनुमति मात्र पर्याप्त छ भन्ने तर्क कमजोर हुन्छ। अस्पतालको प्रशासनिक अनुमति र बिरामीको सुझबुझपूर्ण सहमति फरक कुरा हुन्।
मिडियामाथि प्रश्न : ‘एक्सक्ल्युसिभ’ कि ‘इथिकल’?
विपद्मा एक्सक्ल्युसिभको दबाब ठूलो हुन्छ। दश दिनपछि सुरुङबाट जीवित उद्धार भएको व्यक्ति आफैंमा असाधारण समाचार सामाग्री हो। त्यसमा आइसीयु, अक्सिजन, मोनिटर, घाइते शरीर र थकित आवाज थपिँदा दृष्य अझ भावनात्मक हुन्छ।
तर दृष्यको प्रभाव सार्वजनिक हितको प्रमाण होइन। नेपालको पत्रकार आचारसंहिताले वैयक्तिक तथा व्यावसायिक गोपनीयताको सम्मान गर्नुपर्ने र पीडितलाई थप पीडा पुग्ने गरी भाषा, ध्वनि, तस्वीर वा दृश्य प्रयोग गर्न नहुने स्पष्ट व्यवस्था गरेको छ।
झन् पछिल्लो विपद्का बेला सकारात्मक, मानवीय तथा जिम्मेवार सञ्चारसम्बन्धी सम्पादकीय निर्देशिका, २०८३ ले घाइतेको पीडा, मृत्यु, शोक वा असहाय अवस्थालाई भिउज, लाइक, स्यर वा रिच बढाउने उद्देश्यले प्रस्तुत नगर्न जोड दिएको छ। निर्देशिकाले वेबसाइट र सामाजिक सञ्जालसहित डिजिटल प्लेटफर्ममा पनि समान मापदण्ड लागू हुने स्पष्ट गरेको छ।
यसले युट्युब, फेसबुक वा टिकटकलाई ‘पत्रकारिता होइन’ भनेर उम्किने नैतिक जिम्मेवारीबाट उम्किन नमिल्ने बनाएको छ।
कन्ट्रोभर्सी र अन्तर्राष्ट्रिय अदालतका नजिर र नेपाली कानुन
नेपाली कानुनका साथै अन्तर्राष्ट्रिय नजिरहरूले पनि स्वास्थ्य सम्बन्धी गोपनियता र प्रेस स्वतन्त्रता बीचको सीमा निर्धारण गरेका छन्।
१. सुलमान भर्सेस ग्रुप डब्लु प्रोडक्सन
अमेरिकाको क्यालिफोर्निया सुप्रिम कोर्टको यो मुद्दा महत्वपूर्ण छ। दुर्घटनास्थलमा घाइते महिलाको उद्धार र हेलिकोप्टर एम्बुलेन्स भित्रको कुराकानी टेलिभिजनको टिमले रेकर्ड गरेको थियो।
अदालतले सार्वजनिक दुर्घटनास्थल र स्वास्थ्य उपचार स्पेशबीचको दायरा छुट्यायो। सार्वजनिक ठाउँमा घटना घट्नु मात्रले एम्बुलेन्स भित्रको कुराकानी वा उपचारमा गोपनियताको हक समाप्त नहुने निष्कर्षमा अदालत पुग्यो।
सडकमा भएको दुर्घटना सार्वजनिक घटना हुन सक्छ तर एम्बुलेन्स वा आईसीयु भित्रको उपचार स्वतः सार्वजनिक घटना नहुने फैसला गरियो।
भनियो, 'उद्धारको लागि प्रयोग गरिने हेलिकप्टर वा एम्बुलेन्सभित्र बिरामी र स्वास्थ्यकर्मीबीच हुने कुराकानी पूर्ण रूपमा गोप्य र निजी हुन्छ। त्यहाँ बिरामीको अनुमतिविना क्यामेरा वा गोप्य माइक प्रयोग गरेर रेकर्डिङ गर्नु व्यक्तिगत गोपनीयताको गम्भीर उल्लंघन हो। समाचार संकलन गर्ने स्वतन्त्रता भएपनि, कसैको निजी स्पेशमा जबर्जस्ती पसेर वा झुक्याएर जानकारी लिन पाउने असीमित अधिकार हुँदैन।'
२. क्याम्पबेल भर्सेस एमजीएन
बेलायतको हाउस अफ लर्ड्सले मोडल नाओमी क्याम्पबेलको दुर्व्यसनको उपचार सम्बन्धी निजी सूचना र पुनर्स्थापना क्लिनिक बाट निस्कँदाको तस्वीर प्रकाशित भएको मुद्दामा प्राइभेसी र वाक स्वतन्त्रताबीच सन्तुलन खोज्यो। अदालतले उपचारसम्बन्धी संवेदनशील निजी विवरणमा व्यक्तिको गोपनियतता बलियो हुन सक्ने ठहर गर्यो। अर्थात् सेलिब्रिटी हुनु भनेको स्वास्थ्यको गोपनियता त्याग्नु नभएको निष्कर्षसहित फैसला गर्यो।
मिडियालाई नाओमी कम्पबेलले लागुऔषध प्रयोग नगरेको भनी पहिले बोलेको झुटको पर्दाफास गर्ने अधिकार भए तापनि, उनको उपचार प्रक्रियाका अति गोप्य विवरणहरू र लुकेर खिचिएका तस्बिरहरू छाप्ने अधिकार नभएको ठहर गरियो।
नेपालका कानूनमा के छ व्यवस्था?
नेपालको संविधान: गोपनीयता र व्यक्तिगत मर्यादा मौलिक अधिकारको संरचनाभित्र समेटिएको छ।
वैयक्तिक गोपनीयता सम्बन्धी ऐन, २०७५: व्यक्तिको शारीरिक तथा मानसिक अवस्था, स्वास्थ्यसम्बन्धी जानकारी र व्यक्तिगत सूचनाको गोपनीयता संरक्षण गर्छ।
जनस्वास्थ्य सेवा ऐन, २०७५: स्वास्थ्य सेवा प्रदान गर्दा सेवाग्राहीको स्वास्थ्य अवस्था, निदान र उपचार सम्बन्धी सूचना गोप्य राख्नुपर्ने व्यवस्था गर्छ।
नेपाल मेडिकल काउन्सिल कोड अफ इथिक्स: कुनै खास व्यक्ति को हो भनेर सजिलै चिन्न वा पत्ता लगाउन सकिने सूचना गोप्य राख्नुपर्ने, सुझबुझपूर्ण अनुमति वा कानूनबमोजिम मात्र सार्वजनिक गर्न सकिने र बिरामीको मर्यादा र गोपनियताको सम्मान गर्नुपर्ने व्यवस्था गरेको छ।
पत्रकार आचारसंहिता: निजत्वको सम्मान, पीडितलाई थप पीडा नदिने, बीभत्स दृश्यबाट बच्ने र तथ्य नबङ्ग्याउने दायित्व सृजना गरेको छ।
विपद् सञ्चार निर्देशिका, २०८३: पीडितको गोपनीयता र मानवीय मर्यादालाई प्राथमिकता दिँदै डिजिटल प्ल्याटफर्ममा समेत जिम्मेवार रिपोर्टिङको मापदण्ड लागू गरिएको छ।